सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ३ मा पर्छ हैबुङ।
भूकम्पका कारण हैबुङमा रहेका सबै घर भत्किए। सिन्धुपाल्चोक जिल्ला आफैमा भूकम्पबाट सबैभन्दा धेरै प्रभावित जिल्ला थियो।
भूकम्पपछि चुनौती थियो घर पुनर्निर्माणको। तर, घर बनाउने कसले?
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको मापदण्ड अनुरुप घर बनाउन पुरानो दक्षताले नभ्याउने अवस्था थियो। त्यसमाथि 'कर्मी' हरुको गाउँका रुपमा रहेको हैबुङमा घर बनाउने जनशक्ति कोही विदेश थिए त कोही काठमाडौंतिर।
गाउँमै सिकर्मी, डकर्मीको पुस्तैनी काम गर्दै आएका केहीलेमात्रै सबै घर बन्ने अवस्था रहेन। युवाहरु केही समय गाउँ त फर्के तर लामो समय टिकेनन्।
सरकारले पहिलो किस्ताको अनुरुप ५० हजार त दियो तर पुर्ननिर्माणको क्रममा जनशक्ति अभावको ठूलो मारमा परे कर्मीकाम गर्दै आएका हैबुङ गैरुङथोकका बासिन्दाहरु।
अझ ठूलो पीडामा रहे कर्मीकाम गर्दै आएकाहरु। ती मध्ये एक हुन् गैरुङथोकका ४४ वर्षे डुकु तामाङ।
भूकम्पले उनको पुस्तैनी घर ढल्यो। त्यसपछि दुई वर्षसम्म टहरामा बस्न बाध्य भए।
घर बनाउने सीप थियो तर स्रोत थिएन। साधन थियो तर एक्लै आँट्ने साहस थिएन।
सरकारले अनुदान दिने घोषणा गर्यो। गाउँमा घरहरु बन्ने क्रम सुरु भएका थिए। उनले काम पाए।
अरुको घर बनाउन हिँडेका उनमा आफ्नै घर बनाउने हुटहुटी चल्यो। तर, सिंगो गाउँमा घर बन्दा काम गर्ने मानिस थोरै थिए।
अरुको घर बन्ला र आफ्नो बनाउँला भनेर बस्दा आफ्नो घर बन्दै नबन्ने अवस्था बुझेका उनले पछि आफ्नै परिवारसँगै मिलेर घर बनाउने सोचे। काठमाडौंमा काम गर्दै आएका छोरा वेदबहादुर तामाङलाई गाउँ डाके।
छोरासँगै श्रीमती सोम लक्ष्मी तामाङ र बुहारी कुमारी तामाङबीच कामको बाँडफाँट गरे। भारी बोक्ने र गरुङ्गो काम आफू र छोरालाई दिए। चार जना मिलेर दुई महिनामा दुई तल्ले घर बनाए।
उनी भन्छन्, 'अरुको घर बनाएर आफ्नो बनाउँछु भनेर कुरेको भए अहिलेसम्म टहरामै हुन्थ्यौं। गाउँको मूल सडकबाट गोरेटो बाटो हुँदै घर बनाउने सामाग्री लैजानु पर्ने कठिनाइ थियो। त्यसैले अलि बढी समय लाग्यो।'
आफ्नो घर बनाउन होमिएका उनले बिहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म अरुको घरमा काम गरे। बिहान र बेलुकीको बाँकी समयमा आफ्नै घर बनाउन लागे। उनी नभएको बेला घरका अरु सदस्यले घरको काम गर्थे।
सडक राम्रो भएको भए ढुवानी खर्च र समय कम लाग्ने उनी बताउँछन्। तर, मूल सडक नै नबनाउने प्रबृत्ति देखेका उनले गोरेटो बाटोसम्म बन्ने सम्भावना रहेको सुनाए।
अहिले हैबुङमा पक्की घरहरु बनिरहेका छन्। घरहरु ठडिँदै गेर्दा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तय गरेको मापदण्ड पालना गर्नुपर्ने बाध्यता छ। पहिला ढुंगा र माटोको घर हुन्थ्यो। पक्की घर बनाउन तामाङलाई कर्मी सीपले पुगेन। त्यसैले उनले नगरमा जाइकाले दिइएको घर बनाउने तालिम लिए। पुरानो र नयाँ प्रविधिको बारे बुझेर काम गर्न सुरु गरेको बताउँछन् उनी।
सरकारले दिएको ३ लाख अनुदानमाथि ऋण थपेको बताउने उनी त्यही अनुदानकै आडमा देशभर घर बनेको स्वीकार्छन्।
भन्छन्, 'सरकारले दिएको ३ लाखले घर बन्ने आधार बन्यो। सरकारले पैसा नदिएको भए पनि दु:ख सुख गरेर घर बनाउनै पर्थ्यो। गाउँघर त्यही अनुदानले पुनर्निर्माण भयो। बाँकी त आफूले नै गर्ने हो।'
तर, गाउँघरमा अरुबेला काम पाउन सजिलो छैन। जसोतसो गुजारा गर्नैपर्छ। सरकारले घर बनाउन अनुदान दियो। तर त्यसपछि के?
घर बनेपछि उनको छोरो फेरि काठमाडौं फर्किएको छ कामको खोजीमा। छोरोले पनि यही काम गरे सहायता हुने उनको विश्वास छ। तर, के काम गर्ने? कामको सुनिश्चितता छैन।
यस्तै साविकको हैबुङ गाविस अहिले मेलम्ची नगरपालिका बनेको हो। तर, नगरमा हुनुपर्ने सुविधा भने छैन।
भन्छन्, 'घरमात्रै बन्ने र मान्छेहरु कामको खोजीमा बाहिर जाने हो भने यस्तो पुनर्निर्माण सफल हुँदैन। यहाँका मानिसलाई यही बस्ने वातावरण बने पो बस्ती बस्ती जस्तै हुन्छ।'