PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

फास्ट ट्र्याकमा करोडौंका काठ अलपत्र, खेर जाने डर



रासस

फास्ट ट्र्याकमा करोडौंका काठ अलपत्र, खेर जाने डर
सेनाले बनाइरहेको फास्ट ट्र्याक

हेटौँडा : मकवानपुरमा निजगड–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणका लागि काटिएका रु २५ करोड मूल्य बराबरको काठ लिलाम हुन नसक्दा नष्ट हुन थालेको छ। 

जिल्ला वन कार्यालयका अनुसार जिल्लामा १८ सामुदायिक वनमा ट्रयाक निर्माणका लागि करीब एक लाख २५ हजार क्युफिट काठ दुई वर्षदेखि जङ्गलमा अलपत्र छ। सरकार र वन उपाभोक्ताबीच उक्त काठको लिलामी प्रक्रिया नमिलेकाले कटान गरिएका काठ जङ्गलमा रहेको वनका पदाधिकारीले बताए। 

विभिन्न सरकारी आयोजनाबाट उत्पादित काठमध्ये ५० प्रतिशत भूकम्प पीडितलाई बाँकी ५० प्रतिशतको ७५ प्रतिशत उपभोक्तालाई वितरण गरेपछि बाँकी रहेको २५ प्रतिशत सम्बन्धित वन समूहले आफ्नो क्षेत्र बाहिर बिक्री गर्ने प्रावधानले लिलामी प्रक्रियामा समस्या आएको बताइएको छ। 

द्रुतमार्गको केही क्षेत्रमा २६/२६ मिटर ट्रयाक खोल्न रुख कटान गरिएको र पछि ५०/५० मिटर सडक विस्तार गर्न थप रुख काटिएको वन कार्यालयले जनाएको छ। द्रुतमार्गमा पर्ने मकवानपुर गढी गाउँपालिका, बकैया गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाको सामुदायिक वनका रुख कटान गरिएको हो। कटान गरिएका रुखहरुमा साल, चिलाउने तथा विभिन्न कुकाठ रहेको वन अधिकृत राधिका शर्माले बताइन्। 

सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष साधुराम चौलागाईंका अनुसार लामो समयसम्म सामुदायिक वनबाट कटान गरिएको काठ बिक्री गर्न नदिनु न्यायोचित नभएको बताउँदै यसबाट सरकार र वन समूहलाई समेत घाटा पर्ने भएको छ। उक्त ७६ किलोमिटर लामो मार्गभित्र २३ किलोमिटर भाग पहाड र बाँकी तराईमा पर्दछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell