PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

विप्लवप्रति प्रधानमन्त्री ओली आक्रामकः चन्दाका नाउँमा डकैती र लुटपाट? अब त अति भयो



अनन्तराज न्यौपाने

विप्लवप्रति प्रधानमन्त्री ओली आक्रामकः चन्दाका नाउँमा डकैती र लुटपाट? अब त अति भयो

विराटनगरः प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले असामाजिक, लुटपाट, हिँसात्मक, विध्वंशात्मक गतिविधि गर्न नपाइने र त्यो छुट सरकारले नदिने बताएका छन्। विराटनगरमा आइतबार तरकारी तथा फलफूल बजारको उद्घाटन समारोहमा उनी विप्लव समूहप्रति आक्रामक देखिए। प्रस्तुत छ, उनको सम्बोधनको सम्पादित अंश–


नेकपा विप्लव भन्ने एउटा समूह छ। 


त्यसले जोसँग पनि पैसाका लागि लुटपाट र आतङ्क मच्चाइरहेको छ। दिएन भने मार्ने, बम पड्काउने, घर र गाडी उडाउने, जन्तीका बसमा आगो लगाउने काम गर्दै हिँड्छ। उनीहरू लुटेरा हुन्, पैसा चाहियो रे। 


विकास निर्माणका पैसा स्थानीय तहमा पठायो, त्यहाँबाट यति प्रतिशत चाहियो भनेको छ, मागेको छ, नदिए लुटेको छ। 
सरकारले भन्यो– यो लुटेरा काममाथि प्रतिबन्ध छ, हामी कानुनी कारबाही गर्छौं। 


सरकारले यसो भन्दा पनि साथीहरू धुरुधुरु रोए। भन्छन्, बम पड्काउने कुरालाई पनि प्रतिबन्ध लगाउन पाइन्छ?
हामीले प्रतिबन्ध त मान्छे मार्ने र लुट्ने कामलाई लगाएको हो। तर यस्तो पनि पाइन्छ ? ओली नेतृत्वको सरकार तानाशाही भयो भनेर आलोचना सुरु भएको छ।


मान्छे मारेको, गाडी र घर उडाएको–जलाएको यस्तो कुरालाई पनि प्रतिबन्ध लगाउने हो भनेर विरोध हुन्छ। लोकतन्त्रका नाउँमा यस्ता कुरा बोलेर हिँडेका छन्।


लुटेरा समूहलाई हतियार बुझाउने समय दिइएको छ, समयमा बुझाएनन् भने सरकार हतियार लिन आफैँ घरघरमा जानेछ। 
बाटो सच्याएनन् भने कसरी बाटो सच्याउनुपर्छ हामी बताउँछौँ।


मैले भन्देको छु, लुटपाट र आतङ्क मच्चाउन पाइँदैन।

 
के यो देशमा जलस्रोतको विकास गर्न नपाइने? पहाडपहाडका हाइड्रोका कार्यालयमा गएर बम पड्काइएको छ। टेलिफोनका टावरमा पड्काइएको छ। विकास निर्माणका काममा अवरोध गर्ने, त्यहाँ लुटपाट मच्चाउने। यस्ता कुराप्रति अहिलेको सरकार सजग हुन्छ। 
संविधानअन्तर्गत शान्तिपूर्ण गतिविधि सबैले गरौँ। असामाजिक, लुटपाट, हिँसात्मक, विध्वंशात्मक गतिविधि गर्न पाइँदैन। त्यो छुट सरकारले दिँदैन। 


सरकार अब टेर्नेवाला छैन। सरकारले रोक्छ रोक्छ। त्यो समूहलाई म भन्न चाहन्छु, अब अति भयो। यो मान्य हुन सक्तैन। 
म तपाईंहरूलाई आग्रह गर्न चाहन्छु, अब त्यस समूहले चन्दाका नाउँमा धम्काउने लूटपाट गर्ने कुरा गर्न थाल्यो भने कसैले नमान्नूस्। सरकारले त्यस्ता गतिविधि रोक्छ, त्यस्तो समूहलाई  ठेगान लाउँछ। 


हो, कोही–कोही लुटेराको गतिविधि किन रोक्ने भनेर कराएका पनि छन्। कठैबरा बुद्धिजीवीको बुद्धिमाथि दया लागेर आउँछ। चन्दा उठाउने त अधिकार हो नि पो भन्नुहुन्छ। चन्दा पनि कहाँ उठाएको हो र ? चन्दाका नाउँमा डकैती र लुटपाट गरेको छ। लोकतन्त्रका नाउँमा यस्तो चल्दैन। 


लोकतन्त्रको खोल ओढेर बोल्नेहरू तानाशाहीकरण भयो भन्नुहुन्छ। कोही अपरिपक्व कदम हो भन्छन्। परिपक्व चाहिँ कस्तो हुन्छ? के डकैती र लुटपाट गर्न छाडिदिनु चाहिँ परिपक्व हुन्छ?  
 

सीके राउतबारे 


राजनीतिका नाउँमा आफ्नै आँखामा स्वार्थको पट्टी बाँधेर कोही गान्धारी पल्टिन्छ भने उसले केही पनि देख्तैन।


पृथक्तावाद मुलुकबाट भर्खर खत्तम भयो, यो सानोतिनो समस्या होइन। अति गम्भीर समस्या हो। हामीले पृथक्तावाद समाप्त पार्यौँ। 
जनताले भनेअनुसार चल्छु, जनतामा सार्वभौमसत्ता छ भनेको के हो ? सीके राउतले त्यही भनेका हुन्।


एकथरी यो त राष्ट्रघात भयो, देश बर्बाद हुने भयो भनेर छाती पिटेर, कपाल लुछेर, रोइकराई गरेर खुट्टा बजारेर हिँडिरहेका छन्। मलाई अचम्म लाग्छ।


उसले जनताले भनेअनुसार चल्छु भनेको छ, यता बर्बाद भयो भनेर कराइरहेका छन्। उसले जनताले भनेअनुसार चल्छु भन्यो, यसलाई प्रधानमन्त्रीले स्पष्ट पारिदिनु पर्यो भनिएको छ। 


जनताले भनेअनुसार चल्छु नभनेर कसले भनेअनुसार चल्नुपर्ने ? के विदेशीले भनेअनुसार चल्छु भनिदिनु पर्ने ?


विखण्डनवाद समाप्त भएकोमा त दीपावली गर्नुपर्ने, खुसियाली मनाउनुपर्ने तर राष्ट्रघात भयो भनिन्छ। यस्ता महानुभावले इतिहासलाई जबाफ दिनुपर्नेछ। 


लोकतन्त्रको आवरणले यस्ता अभिव्यक्तिलाई ढाक्न सक्तैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell