PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

कुवेत विरुद्ध जितका लागि खेल्छौँ : योहान कलिन



पहिलोपोस्ट

कुवेत विरुद्ध जितका लागि खेल्छौँ : योहान कलिन

काठमाडौँ : नेपालको राष्ट्रिय टिमले कुवेत विरुद्ध दुइ वटा मैत्रीपूर्ण खेल खेल्दैछ। स्विडिस योहान कलिन प्रशिक्षक नियुक्त भएपछि नेपालको सिनियर टिमले खेल्न लागेको यो पहिलो अन्तर्राष्ट्रिय खेल हुनेछ।

मैत्रीपूर्ण खेलमा लागि विराट महर्जनको कप्तानीमा रहेको २४ सदस्यीय नेपाली टोली बुधवार कुवेत पुगिसकेको छ।

नेपाली टोलीमा यस पटक नयाँ र पुराना खेलाडीको मिश्रण रहेको छ। सिनियर टिममा रहेको यू-२३ का खेलाडीहरु एएफसी यू-२३ क्वालिफायरमा सहभागि हुन कतार गएकाले यसपटक केही नयाँ खेलाडीले सिनियर टिममा स्थान बनाएका छन् भने केही खेलाडीले पुनरागमन गरेका छन्।

नेपाल र कुवेतबीचको पहिलो मैत्रीपूर्ण खेल कुवेतको अलअहमद फुटबल रंगशालामा बिहीवार स्थानीय समयअनुसार साढे ६ बजेबाट सुरु हुनेछ।

कुवेत विरुद्धको खेलअघि बुधबार भएको प्रिम्याच कन्फ्रेन्समा नेपालका प्रशिक्षक योहान कालिनले कुवेत विरुद्ध जित्नका लागि खेल्ने बताएका छन्।

'हाम्रा लागि यो खेल निकै महत्वपुर्ण छ। नेपाली फुटबलले लामो यात्रा तय गर्न बाँकी छ। त्यसका लागि कुवेत विरुद्धको खेल सुरुवात हो। जित्नकै लागि हामी मैदानमा उत्रन्छौं।' कलिनले तयारी छोटो भएपनि राम्रो खेल्ने विश्वास व्यक्त गरे। 'छोटो तयारीका बाबजुत राम्रो गर्नेमा विश्वस्त छौं। कुवेत हाम्रा लागि नौलो टिम हो।'

यसैगरी कुवेतका प्रशिक्षक रोमियो जोजाकले पनि नेपाल विरुद्ध खेल जित्नेमा विश्वस्त भएको बताएका छन्। 'हामीले धेरै तयारी गर्न पाएका छैनौ तर हामी नेपाललाई जित्ने विश्वासमा छौं। छोटो तयारीका बाबजुत हामीले आफ्नो प्रदर्शन गर्न सकेमा नतिजा अनुकुल आउने छ। कुवेत फुटबल अब पुरानै लयमा आउने क्रममा छ। त्यसैले नेपाल विरुद्धको दुबै खेल कुवेतका लागि महत्वपुर्ण छ।'

नेपाल र कुवेतबीचको दोस्रो मैत्रीपूर्ण खेल आगामी सोमवार हुनेछ। नेपालले यसअघि मार्च २६ मा मलेसियासँग पनि मैत्रीपूर्ण खेल खेल्ने तय भएको थियो। तर प्राविधिक कारणले उक्त खेल स्थगित भएपछि नेपाल र कुवेतबीच दुई खेल हुने भएको हो।

नेपाल र कुवेतबीच १९ वर्षपछि सिनियर लेभलमा खेल हुन लागेको हो। सन् २००० को फेब्रुअरीमा एएफसी एसियन कपअन्तर्गत भएको खेलमा नेपाल ५-० ले पराजित भएको थियो। अहिलेसम्म नेपाल र कुवेतबीच ४ खेल हुँदा नेपालले चारवटै खेलमा हार बेहोरेको छ। सन् १९८२ मा पहिलो पटक भएको खेलमा नेपाल ३-१ ले पराजित भएको थियो।

उक्त खेलमा नेपालका लागि वाइबी घलेले गोल गरेका थिए। त्यसयता नेपालले कुवेत विरुद्ध गोल गर्न सकेको छैन। त्यसैले नेपालका लागि कुवेतविरुद्ध ३७ वर्षपछि गोल गर्ने अवसर पनि छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell