PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

फेक न्युज : डट कमको दोषमा डट नेटका सहसम्पादक पक्राउ



पहिलोपोस्ट

फेक न्युज : डट कमको दोषमा डट नेटका सहसम्पादक पक्राउ

काठमाडौँ : काठमाडौँमा बम विस्फोट हुँदा ३३ जनाको मृत्यु शीर्षकमा विदेशको फोटो राखी भ्रमपूर्ण समाचार प्रकाशित गरेको आरोपमा प्रहरीले चैत ७ गते कपिलवस्तु वाणगंगा नगरपालिका ६ का अनलाइनआवाज डटकम सह-सम्पादक गौरव खनाललाई पक्राउ गरी काठमाडौँ पठाएको छ।

तर त्यो भ्रमपूर्ण समाचार अनलाइनआवाज डट कममा नभई अनलाइनआवाज डट नेटमा प्रकाशित भएको थियो। डट कम र डट नेट दुई फरक टप लेभल डोमेनहरु हुन्। 

प्रहरीले किन गलत अनलाइनका सहसम्पादकलाई पक्राउ गर्‍यो त?

महानगरीय प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले भने, ‘समाचार अनलाइनआवाज डट नेटबाट नै प्रकाशित भएको छ। तर फेसबुकमा भने अनलाइनआवाज डटकम नामको पेजबाट भएको देखियो। फेसबुकको आधारलाई टेकेर गौरवलाई पक्राउ गरिएको हो। उक्त फेसबुक पेजसित उनको सम्बन्ध छ कि छैन अनुसन्धानमा छौँ।‘

गौरवलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले नियन्त्रणमा लिएको हो। विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दा देशका जुनसुकै भागमा भए पनि काठमाडौँ जिल्ला अदालतले मात्र हेर्न पाउने गरी क्षेत्राधिकार तोकिएको छ। 

सो अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

पक्राउ परेका गौरवले आफू गलत समाचार सम्प्रेषण गर्ने अनलाइनआवाज डटनेटको सम्पादक नभएको भन्दै गलत मानिसलाई नियन्त्रणमा लिएको बताउँदै आएका छन्।

‘हामीलाई पनि त्यस्तै भन्ने जानकारी आएको छ। यदि गलत व्यक्तिलाई नियन्त्रणमा लिएको खुले हामी बाइज्जत  रिहा गर्छौं,‘ डिएसपी बोगटीले भने।

समाचार छापिएको भोलिपल्ट चैत १ गते प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले भ्रमपूर्ण समाचार राख्ने वेबसाइटलाई गैर जिम्मेवारीको निम्ति २४ घण्टे स्पष्टिकरण,कानूनी प्रावधान मिचेवापत वेबसाइट बन्ददेखि अफवाह फैलाएकोमा प्रशासनिक कार्वाहीको निम्ति सम्बन्धित निकायलाई लेखी पठाउनेसमेतको एकमुष्ट निर्णय आजै कार्यान्वयनमा गएको जानकारी दिएका थिए। 

त्यसलगत्तै नेपालका आइएसपीहरुमा डट कम र डट नेट दुवै वेबसाइट ब्लक गरिएको थियो। 

अनलाइनआवाज डट कमले वेबसाइटमा सम्पर्कका रुपमा अध्यक्ष, सहसम्पादक र संवाददाताको नाम र फोन नम्बर पनि राखेको थियो भने डट नेटमा त्यस्तो केही जानकारी थिएन। यद्यपि डट नेटको एक ठाउँमा विज्ञापनका लागि सम्पर्कको नाममा राज निरौलाको नाम राखिएको थियो। 

प्रहरीले पनि प्रारम्भिक अनुसन्धानमा डट नेटका सञ्चालक विदेशमा भएको देखिएको बताएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell