बिहीवार राति १० बजे केएल टावरमा फिल्म केशरी हेरेर फर्किँदा हलको परिसरमा रहेको ग्लोबल आइएमइ बैंकसामु बन्दोबस्तीका सामान सहित युवाहरुको लर्को देखिन्थ्यो। कोरियामा जान चाहनेका लागि परीक्षा दस्तुर बुझाउन बैंक खुल्नु १२ घन्टा अगाडि नै लागेको यो भिडले नेपालीको विदेशिने मोहलाई उजागर गरिरहेको थियो।
रहर, वाध्यता वा देखासिखी नै किन नहोस् विदेशिनु नेपालीको नियती बनिसकेको छ। अवसर नपाएर वा पाएकै अवसरबाट सन्तुष्ट हुन नसकेकाहरु जापान, कोरियादेखि अस्ट्रेलिया र अमेरिकासम्मैको सपना बुनिरहेका हुन्छन्। त्यसको प्रतिविम्व हो चोकचोकमा खडा भएका कन्सल्टेन्सी। नाममा एजुकेसनल कन्सल्टेन्सी भए पनि 'म्यानपावर सप्लाई' गर्ने यस्ता संस्था च्याउसरी फैलिएका छन्।
नर्सिङ पढेकी एक युवतीलाई पनि नेपाली समाजमा अहिले देखिएको प्रवृत्तिले पूरै छोपेको छ। उनी चाहन्छिन् अस्ट्रेलियाको भिसा। बिहीबार केएल टावरमा देखिएको भिडको मनोभावसँग जोडिएको कथा बोक्ने युवतीमाथि केन्द्रित फिल्म हो कागजपत्र। शुक्रबार रिलिज भएको यस फिल्मले अस्ट्रेलिया मोहको कथा भन्छ।
नर्सिङ पढेकी बुनु (शिल्पा मास्के)लाई अस्ट्रेलिया पुग्नु छ, जसरी पनि। परिवारको आर्थिक अवस्था कमजोर छ। धेरैका अभिभावक झै उनका बुबा पनि चाहन्छन् छोरी सरकारी जागिरमा जावस् विदेश नजावस्।
बुनुकी दिदी देवी (सरिता गिरी) घरको आर्थिक अवस्था उकास्न र छोराछोरीको भविष्य बनाउन आफ्ना पति राजकुमार (भोला सापकोटा) लाई विदेश जान कर गरिरहन्छिन्। हुलाक अफिसमा सरकारी जागिरे राजकुमार पनि बाध्य छन्, विदेश जान। कोही दवावमा, कोही अभावमा त कोही प्रभावमा - विदेशको मोहबाट टाढा कोही छैन।
आर्थिक अभावका कारण अस्ट्रेलिया पुग्न बुनुलाई कठिन छ। पैसा छ तर आफ्ना पति स्टुडेन्ट भिसामा अस्ट्रेलिया पुग्न नसक्ने चिन्ता छ देवीलाई। त्यहीबीच निस्किन्छ विकल्प। देवी आफ्नी बहिनी बुनुका लाग पैसा दिन तयार हुन्छिन् तर शर्त राख्छिन् - उनका पतिलाई डिपेन्डेन्ट बनाएर लैजानुपर्ने।
यहीबाट कथाले अनेक मोड लिन्छ। खासमा फिल्मको थिममा आधारित कागजपत्र बनाउनेक्रमसँगै फिल्म अगाडि बढ्छ। नक्कली बिहे, नक्कली कागजात जति सहज छ त्योसँगै साली र भेनाको बिहेले फिल्मलाई नयाँ मोड दिइरहन्छ। आफ्नै पतिसँग बहिनीको फेक बिबाह गराउन देवी जग्गा बेच्नसमेत तयार हुन्छिन्। विदेश मोहका लागि जे पनि गर्नसक्ने नेपाली चरित्रलाई फिल्मले उजागर गरिरहन्छ।
फिल्ममा जग्गा दलाल हुन् केशव (नाजिर हुसेन)। केशव जग्गा बेच्नेमात्र होइन, नक्कली कागजपत्र बनाउने काममा पनि सहभागी छन्।
पत्नीको दवावमा परेका पतिले वाध्यात्मक रुपमा सालीसँग बिहे गर्नुपर्दाको क्षणलाई फिल्मले परिपक्व ढंगले प्रस्तुत गरेको छ। कागजपत्र बनाउन गरेको संघर्ष अनि यसबीच आउने आरोह अवरोहमा नै बगेको छ फिल्म।
यो फिल्म कथा सुनाउँदै टुङ्गिन्छ। फिल्ममा दृश्यले बोलेका कुरालाई शब्दले व्याख्या गरिरहँदा जार्गन थपिन्छ। पटक पटक फिल्ममा बिझाउने पक्ष यही हो। यसले फिल्मको बलियो हुनुपर्ने दृश्यको पाटो कमजोर बनेको छ।
फिल्मको सिनिमेटोग्राफी औसतभन्दा राम्रो छ। हनिमुनको फोटोसुटका दृश्यमा सिनेमेटोग्राफी कलात्मक लाग्छ। 'पेस्तोल', 'जग्गा', 'मादल', 'रसाएको मूल' जस्ता शब्द पूरै द्विअर्थी रुपमा जबर्जस्ती प्रयोग गरिएको छ। कतिपय ठाउँमा हास्यसँगै घीनलाग्दो पनि सुनिन्छ यस्ता संवाद।
पार्श्वध्वनि फिल्मको दृश्यमा श्रवणीय छ। फिल्ममा प्रयोग गरिएको 'माया संसार'बोलको गीत फिल्मको कथालाई सघाउँदो छ।
सीता (लक्ष्मी बर्देवा)को कथातर्फ मोडिँदा निर्देशक अपिल विष्टले फिल्मको केन्द्रीय द्वन्द्वलाई भुले झै लाग्छ। सुरुदेखि एउटा पेशमा गइरहेको फिल्मको क्लाइमेक्स भने साह्रो फितलो छ। फिल्मको फस्ट हाफ पनि धिमा लाग्छ।
केशवले गुनगुनाइरहने 'जसले दिन्छ खिरै खिरै यो ज्यान उतै तिर...' निकै विम्वात्मक छ। आखिर सानैदेखि माया गरेका बुनु पनि त अर्काको पैसामा विदेश जाने सपना बुनिरहेकी हुन्छिन्।
सरीता, भोला, लक्ष्मी अनि नाजिरको अभिनयले फिल्ममा दर्शकलाई होल्ड गराउन सक्छ। शिल्पाले पनि बुनुको भूमिकालाई न्याय दिएकी छिन्। डेब्यू फिल्म 'द ब्रेकअप' भन्दा उनमा निखार आएको छ।
फिल्मले नेपालको वास्तविक अनुहार देखाउन त खोजेको छ। तर, अझै पटकथामा कमजोरीहरु प्रस्टरुपमा देखिन्छ।
अस्ट्रेलियाको विषयमा अपिलले फ्रेस कथा पस्किन सकेका छैनन्। छक्का पन्जा सिरिजको पछिल्लो भर्सनमा अस्ट्रेलिया जानेमाथि यस्तै कथाले ठाउँ पाइसकेको छ। त्यसैले यसलाई भर्जिन स्टोरी मान्न सकिन्न। तर, पुरानै कथालाई पनि निर्देशकले नयाँ शैलीमा प्रस्तुत गर्ने प्रयास गरेका छन्। तर प्रयास पर्याप्त देखिएको छैन। फिल्म औसत छ।
फेक बिहे र फेक कागजपत्रकै भरमा बुनु र उनका नक्कली पति अर्थात् भिनाजुको अस्ट्रेलिया संघर्षले के परिणाम दिन्छ त?
त्यो थाहा पाउन भने फिल्म नै हेर्नुहोस्।