!['क ब्लक' मा चालिसे र भण्डारी, 'ख र ग ब्लक' मा धिताल र सापकोटा र 'घ ब्लक' मा पाण्डेहरुको घर : जरायोटारमा फेरिँदो बस्ती](https://pahilopost.com/assets/upload/contentthumb/landpull.png)
२०७२ साल वैसाख १२ गते गएको भूकम्पले घरसँगै बस्दै आएका तर एकअर्कालाई नचिनेका मानिसहरुबीच आत्मियता बढायो। विपत्तिमा सहयोग र सहकार्य गर्दै भूकम्पसँग लड्नु जो थियो।
व्यस्त शहरमा छरिएर रहेका मानिसहरु एकीकृत भए भूकम्पले। गाउँघरमा पनि छरिएर बसेका घरहरुलाई एकै स्थानमा ल्याएर एकीकृत बस्ती बसाल्ने कार्यको थालनी भयो।
सरकारले पनि एकीकृत बस्ती बनाउने क्रमलाई प्राथमिकता दियो।
भूकम्पले सबैभन्दा प्रभावित जिल्ला मध्ये सिन्धुपाल्चोकमा पनि एकिकृत बस्ती बनाउन सकिन्छ भन्ने बहस चुलियो।
यसैबीच मेलम्ची नगरपालिका वडा नम्बर ११ मा रहेको जरायोटारका स्थानीयहरुले पनि एकीकृत बस्ती बनाउने भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा निवेदन दिए।
२०७४ भदौमा प्राधिकरणले जरायोटारमा एकीकृत बस्ती बसाल्न प्रारम्भीक अनुमति दियो। स्थानीय मिलेर जरायोटार एकीकृत बस्ती विकास योजनाका लागि स्थायी पुनर्निर्माण तथा पुनर्वास समिति गठन गरे।
बस्ती निर्माणमा आइसेट नेपालले विस्तृत डिजाइन बनाउन सहयोग गर्यो भने ललितपुरमा रहेको पुल्चोक क्याम्पसका प्राध्यापक र विद्यार्थीहरुले गाउँमै पुगरे एकीकृत बस्ती विकासको सम्भावनाबारे अध्ययन गरेका थिए।
सबै ठाउँबाट सम्भावना बोकेर पनि ओझेलमा परेको जरायोटारमा एकीकृत बस्ती बन्न सक्ने प्रतिक्रिया आयो।
फाल्गुनमा एकीकृत बस्ती निर्माणको शिलान्यास भयो।
स्थानीय पुस्कर धिताल भन्छन, 'भूकम्पले यहाँका सबै घर भत्किए। एक्लै बनाउ भन्दा नसक्ने भैयो। समुदाय नै मिलेर बस्ती उठाउने यो हाम्रो नौलो प्रयास हो।'
पुनर्निर्माणको चरणमा रहेको यो बस्ती नौलो बनाउछ यसको बनावटबाट। अरु एकीकृत बस्ती जस्तै एकै स्थान र एकै किसिमका घरहरु छैनन् यहाँ। प्राधिकरणले दिने अनुदनबाट आफ्नो आर्थिक अवस्थाले भ्याएसम्म स्थानीयहरुले आफूलाई उपयक्त लाग्ने घरहरु बनाउँनेछन्। तर, घरको डिजाइन प्राधिकरणले स्वीकृती दिएको डिजाइन बमोजिम भने हुनुपर्छ।
एकीकृत बस्ती निर्माणका क्रममा चारवटा ब्लकमा ६४ घरहरु बन्नेछन्। एउटै गाउँमा छुट्टाछुट्टै स्थानमा घरहरु निर्माण हुनेछ र सबै स्थानमा बाटो पुर्याउने योजना छ। 'क ब्लक' मा चालिसे र भण्डारी, 'ख र ग ब्लक' मा धिताल र सापकोटा र 'घ ब्लक' मा पाण्डेहरुको घर बन्ने छन्। निजी घरका साथै एउटा सामुदायिक घर बनाउने योजना छ। सो घर भने सामाजिक कार्यका लागि प्रयोग हुनेछ। यस्तै सामूहिक खेती गर्ने योजनामा छलफल हुँदैछ। एकीकृत बस्तीमा नै होमस्टे संचालन गर्ने रणनीति गाउँलेहरुको छ।
पहिलो चरण अन्तर्गत प्राधिकरणको अनुदानमा चालिसे गाउँमा पुनर्निर्माण भइरहेका घरहरुको निर्माण सकिने क्रममा छन्। अन्य दुई स्थानमा घर निर्माणका लागि डिपीसी भएका छन्। माथिल्लो भेगमा भने जग्गा खरिद प्रक्रिया नटुंगिएकोले केही कामहरु बाँकी नै छ।
आफ्नो घर ल्यान्ड पुलिङमा परेको र अहिले सम्म जग्गाको छिनोफानो नभएको मा भने स्थानीयहरुको गुनासो छ। धिताल भन्छन्, 'सरकारले गर्ने भनेको सबै गरेको भए यति ढिला नै हुँदैन थियो। केन्द्रले निर्णय गर्छ तर स्थानीय तहमा गयो भने त्यस्तो निर्णयको बारे थाहा छैन भन्ने उत्तर आउँछ। त्यसले प्राधिकरणले यस विषयमा सहजकर्ताको भूमिका निभाउनु पर्छ।'
यता चालिसेहरु रहँदै आएको क्षेत्रमा पक्की र काठका गरी करिब १७ घर वैसाख सम्म सकाउने तयारी छ। पहिला गाउँका धेरै मानिसहरुले कामका लागि शहर पस्ने कुरा गर्ने गरेको तर अहिले भने एकीकृत वस्तीको निर्माणसँगै गाउँमै केही गर्नुपर्छ भन्ने भावनाको विकास भएको बताउँछन् चित्र प्रसाद चालिसे।
४८ वर्षे चालिसेको दुई तल्ले घर यही महिनामा निर्माण सम्पन्न हुनेछ। आफू गाउँले परिवेशमा हुर्केकाले घर पनि गाउँले शैलीमै बनाएको उनको तर्क छ। उनको घरमा ८० प्रतिशत त काठ प्रयोग भएको छ। होमस्टेका लागि गाउँकै शैलीमा घर बनाउनु पर्नेमा उनको जोड छ।
करीब चार वर्षदेखि टहरोमा दिन काट्दै आएका उनी अब छिट्टै नयाँ घरमा सर्ने योजना बनाउँदैछन्।
एकीकृत वस्ती निर्माण गर्ने भएपछि प्राधिकरणले प्रत्येक घरधुरीलाई थप ३ लाख दिएको छ। त्यो रकम भने पूर्वाधार निर्माणमा खर्च गर्नुपर्नेछ।
चालिसे सो रकम घरसम्म बाटो लगायतका पूर्वाधार निर्माण ल्याउन प्रयोग गर्ने बताउँछन्।
'होमस्टे बनाउने भएपछि बाटो पनि चाहियो। अब जरोयोटारका हरेक घरमा बाटो पुग्छ,' उनी भन्छन्।
एकीकृत बस्ती निर्माणसँगै गाउँमै रोजगारीको सिर्जना हुने स्थानीयहरुको विश्वास छ।
घर त बन्यो। तर गाउँलेहरुले आर्जन कसरी गर्ने भनेर प्रश्न उठेपछि प्राय घरहरुमा 'होमस्टे कल्चर' विकास गर्ने योजना बनाएको बताउँछन् डोर प्रसाद चालिसे।
'छोरा शहरमा पसल गरी बसेको छ। यहाँ होमस्टे संचालन गरेपछि यसलाई नै राम्रो बनाउँछु भन्छ। ऋण पनि त तिर्नै पर्यो,' सरकारले दिएको तीन लाख अतिरिक्त त्यति नै रकम गाउँलेहरुले ऋण लिएकाले होमस्टे संचालन आवश्यकता रहेको बताउँछन् चालिसे।
जुगल हिमाल लगायत अन्य हिम श्रृंखला देखिने जरायोटार आफैमा एउटा नमूना गाउँ हो। गाउँबाट देखिने इन्द्रावती नदी र आसपासका मनोरम दृश्यले पर्यटकलाई आकर्षित गर्ने नै छ। घरसँगै पूर्वाधारको विकास जति छिटो हुनेछ जरायोटारमा त्यतिनै नयाँ सम्भावनाहरु विकास हुनेछन्। सबै घरहरु निर्माण भएपछि जरायोटार पहिला झै उठ्नेछ नै। होमस्टेले त्यहाँ पुग्ने मानिसलाई 'अर्गानिक' स्वाद पस्कनेछ।