PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

मण्डलामा जोखना देखाइँदै, मुन्दुमी संस्कृतिदेखि सामाजिक विसंगतिको खोतलखातल



रीना मोक्तान

मण्डलामा जोखना देखाइँदै, मुन्दुमी संस्कृतिदेखि सामाजिक विसंगतिको खोतलखातल

काठमाडौं: साकेला नाच्न जाँदा जसे(रुपेश लामा) एकाएक हराउँछन्। वर्षौसम्म घर नफर्कँदा सबैले आश मारिसकेको हुन्छ। कतिले त जसे मरिसकेको ठान्छन्।

भाई गौधन(दिवस रसाईंली) दाजू नफर्किदिए हुन्थ्यो भन्ने पक्षमा छन्। भाउजूलाई गिद्दे नजर लगाउने दाउ छ गौधनको।

उता जसेकी श्रीमती धनसुवा(संगीता थापा) छोरो निच्छा हुर्काउँदै पति आउने पर्खाइमा छिन्। केराको रुख, तान बुन्ने सेतो डोरी, अनि मिलाएर राखिएका बाँसको पहाड(किराँती समुदायमा प्रचलित तीन चुलोको प्रतिबिम्व) 'प्रप्स'मा उभिएकी धनसुवालाई आश छ, कुनै दिन पति घर फर्कन्छ।

मुर्चुङ्गा बजाउँदै पर्खाइका पीडालाई लय मिलाएर गाउँछिन् '…कसरी काटुँला…'। उनको मुर्चुङ्गा धुनमा पीडा अनि पर्खाइ सुन्न सकिन्छ।

उनी सपनामा पति फर्केर आएको देख्छिन्।

गाउँको प्रख्यात सेलेमी(अनिल सुब्बा)लाई जोखना हेर्न लगाउँछिन्। सेलेमीले जोखनाले भन्यो: जसे मरिसकेको रहेछ। किरिया नगरदिए हंसले अब परिवार र समाजलाई पिरोल्ने चेतावनी सेलेमीले दिए।

जसे मरेको जोखनाबारेको खबर गाउँमा बिस्तारै फैलन्छ। हंसले पिरोल्ने डरले गाउँलेहरु हंसलाई स्वर्गको बाटो देखाउन किरिया गर्नुपर्ने निर्णयमा पुग्छन्।

के जसे मरेकै हुन्छन्? सलेमीको जोखनामा कतिको सत्यता छ?

किराँती मिथक रहेको 'जोखना' नाटको प्लट यसरी अगाडि बढ्छ।

बियस राईले लेखेको ‘हिउँमाँझी’ कथासंग्रहमा समावेश कथा हो जोखना। यसलाई नाट्य रुपान्तरण राजन मुकारुङले गरेका हुन्। किरण चाम्लिङ निर्देशित नाटक मण्डला नाटकघरमा मञ्चन भइरहेको छ।

भ्रमयुक्त आदर्शमा टेकेर खोजिएको समाधानले कति प्रिय नतिजा ल्याउँछ, यसैको मनोदशा हो जोखना।

नाटकले 'किराँती' संस्कृति र जीवनशैली देखाएको छ। किराँतीहरुमा बाँस र सेतो धागोलाई शुभ र अशुभका रुपमा लिइन्छ। नाटकमा यी प्रप्सहरुको सेटिङ निकै कलात्मक र विम्बात्मक रुपले प्रयोग गरिएका छन्। जोखना हेर्ने समयमा पनि धनसुवाले हातमा बेरिरहेको सेतो धागो सेलेमीतर्फ तानिन्छ। अनि सेलेमीले डोरी तानिरहँदा भन्छन् 'जसे मरिसकेको देख्छु म।'

यसले अशुभ संकेत देखाउन खोजेको छ।

धनसुवाले छोरा निच्छा(संजिव राई)लाई बाहिर जाँदा पैतालाको धुलोको टीका लगाएको दृश्यले विद्यमान समाजमा रहेको अन्धविश्वासलाई देखाउँछ। अहिले पनि धामीझाँक्रीमा विश्वास गर्नेहरुको घटेको छैन। नाटकमा धनसुवाले छोरा निच्छालाई बिदाई गरेको दृश्य अनि बाटो खन्ने दृश्य निकै कलात्मक देखिन्छ।

नाटकमा प्रयोग गरिएका संवाद दृश्यसँगै बगेका छन्। संवादमा किराँती ट्युन सान्दर्भिक लाग्छ।

जनयुद्धको समय देखाउन खोजिए पनि नाटकले अहिले पनि नेपाली समाजमा धनसुवाहरु, राई जेठाहरु, जन्तरीहरु, पुर्णेहरु जस्ता पात्रहरु छन् भन्ने भान गराउँछ। जो बिरालोले बाटो काट्यो भने थुक्नुपर्ने, खोला तर्दा ढुङ्गा फाल्नुपर्ने भ्रमबाट बाहिर आउन सकेका छैनन्। नाटकले समाजमा रहेको अन्धविश्वासलाई व्यङ्ग्य पनि गरेको छ।

 

सेलेमीको भूमिकामा अनिल सुब्बा जीवन्त लाग्छ।

हंस फर्काउने दृश्यमा सेलेमीमा जसेको आत्मा आउँछ अनि बरबराउँन थाल्छन् 'मलाई सप्पै सप्पै गरिदेउ। मेरो लेखान्त नै यस्तै रहेछ। मैले खोलाको बाटो पच्छ्याउन सकिनँ। बतासको बाटो पहिल्याउन सकिनँ। तब त आफै फर्किने बाटो बिर्सेछु।'

यो दृश्य हाम्रै समाजमा कताकता अहिले पनि भेटिन्छन्।

जन्तरीको भूमिकामा निशा पाख्रिनको अभिनय जीवन्त लाग्छ। थुप्रिले पनि आफ्नो भूमिकालाई न्याय दिने प्रयास गरेकी छिन्। धनसुवाको अभिनय र आवाजले नाटकमा दर्शकलाई बाँधिराख्छ।

उसले समाजकी एक महिलाको प्रधिनिधित्व गरेकी छे। एक असाहय महिलालाई पुरुषहरुले समाजमा हेर्ने दृष्टिकोण, नाटकमा प्रस्तुत छ। उनले ती आमाहरुको प्रतिनिधित्व गर्छिन् जो छोरोको लागि सबै पीडा बिर्सेर बसेकी हुन्छे। त्यही छोरोले छोडेर जाँदाको पीडामा भने सेन्टिमेन्ट छ।

साकेला नृत्य समेटिएको छ।

पात्रहरुले गाइरहने गीतहरु मन छुने छन्। यसले कति दृश्यलाई न्यारेटसमेत गरेको छ। नाटकमा प्रयोग गरिएका संगीत निकै मिठो सुनिन्छ।

यसमा किराँती बाजागाजा नै प्रयोग पाइन्छ। प्रकाशको काममा भने अझै ध्यान पुर्‍याउनुपर्ने देखिन्छ। कथा भन्दै गर्दा सँस्कृतिका विषयवस्तु पस्किने दृश्यलाई धेरै स्थान दिएको देखिन्छ।

तसर्थ नाटकले जोखनाको विषयमार्फत 'मुन्दुमी – सँस्कृति'का लय, बिम्ब र जीविनदर्शन प्रस्तुत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell