PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

प्रहरीको ‘एक्सन’ले कर्णालीमा विप्लव कार्यकर्ता भूमिगत हुने क्रम तीब्र



पी बी खड्का

प्रहरीको ‘एक्सन’ले कर्णालीमा विप्लव कार्यकर्ता भूमिगत हुने क्रम तीब्र
सुर्खेत। फाइल फोटो

सुर्खेत : गत फागुन २८ गते प्रतिबन्ध लगाएसँगै नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता पक्राउ पर्ने क्रम तीब्र भएको छ। 

प्रतिबन्धपछि सुरक्षा निकायले तत्काल एक्सन थालेपछि विप्लवका अधिकांश नेता कार्यकर्ता भूमिगत भएका छन्। 

यता, कर्णालीमा सक्रिय कार्यकर्ताहरु पनि पछिल्लो समय भूमिगत नै छन्। विप्लवको गढ कर्णालीमा उच्च पदमा रहेका केही नेता पक्राउ पर्न थालेपछि अन्य नेता तथा कार्यकर्ता भूमिगत भएका हुन्। जिल्लाको सदरमुकाममा भेटिने विप्लवका नेता कार्यकर्ता हिजोआज देखिएका छैनन्।

गढ जमाएर बसेको कालिकोट र सल्यानबाट सहकर्मीहरु प्रक्राउ पर्न थालेपछि प्रदेश राजधानीमा विप्लव समूहको कुनै सुइँको नभएको प्रहरी स्रोतको दाबी छ। 

‘हामीले सुरक्षाकर्मी परिचालन गरिराखेका छौँ। हामीसँग उच्चस्तरीय अध्ययन र अनुसन्धान गर्ने टोली पनि छ,’ प्रदेश प्रहरी कार्यालय स्रोतले भन्यो, ‘सरकारको प्रतिबन्धपछि हामीले एक्सन लिएर नियन्त्रण र कारवाही थालेका छौँ। जसले गर्दा पनि विप्लव समूहका नेता तथा कार्यकर्ताको भागाभाग भएको छ। अहिले त उनीहरु सामाजिक सञ्जालसहित मोबाइल नै अफ गरेर भूमिगतको अवस्थामा छन्।’ 

विप्लवका यस्ता गतिविधिलाई निगरानी बढाएरै सुरक्षा निकाय त्यहाँको अवस्था बुझ्न जिल्ला दौडाहा अभियान थालेको थियो। जिल्लाको सुरक्षा अवस्था बुझ्न र अध्ययन गर्न गएको टोलीले विप्लव समूहको सरक्षा चुनौती नरहेको दाबी गरेको छ।

‘कर्णालीको शान्ति सुरक्षामा विप्लवको चुनौती केही छैन,’ सुरक्षा अवस्था अध्ययन र जाँचबझ गरी जुम्लाबाट फर्किएका डिआइजी महेशविक्रम शाहले भने, ‘सुरक्षाकर्मीले भेटाए जति प्रक्राउ गर्ने काम जारी छ। विप्लव प्रभावित जिल्लाहरुमा पनि खासै त्यस्तो केही छैन। शान्ति सुरक्षा कायम नै छ।’ 

डिआइजी महेश विक्रम शाह, सशस्त्र प्रहरी बलका डीआईजी राजुराज सुवाल र राष्ट्रिय अनुसन्धान विभाग प्रदेश निर्देशक मधु कार्कीले कालिकोट, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख र जुम्लामा पुगेर विप्वलका गतिविधि अध्ययन गर्दै उच्च निगरानी बढाउन जिल्लास्थित सुरक्षा नियकालाई निर्देशन दिएका छन्।

यसरी समातिए कर्णालीमा विप्लवका कार्यकर्ता
विप्लव समूहमा आधा दर्जन बढी प्रभावशाली नेता कर्णाली प्रदेशकै छन्। विप्लवका प्रवक्त्ता खड्गबहादुर विश्वकर्मा (कालिकोट), हेमन्त प्रकाश ओली (रुकुम पश्चिम) र धमेन्द्र वास्तोला (सुर्खेत) निवासी हुन्। यता अधिकांश जिल्लाको नेतृत्व पनि कर्णालीकै नेताहरुले सम्हालेको प्रहरीको भनाई छ। दश वर्षे सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित कर्णाली भौगोलिक रुपले कठिन भएका कारण प्रहरीका लागि समेत चुनौतीपूर्ण देखिन्छ। तर, प्रहरीले शान्ति सुरक्षामा विप्लव समूहबाट कुनै चुनौती नरहेको दाबी गरेको छ।

सल्यानमा अहिलेसम्म पक्राउ पर्नेहरु धेरै छन्। सल्यानमा मात्रै चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीका अनुसार पक्राउ पर्नेमा नेकपा निकट अखिल क्रान्तिकारी सल्यानका उपाअध्यक्ष भीम ओली, युवा संगठन नेपाल सल्यानका सचिव खुम केसी, अखिल क्रान्तिकारी सल्यानका सचिव गणेश आरसी र जिल्ला सदस्य मदन केसी पक्राउ परेका छन्।

उपाध्यक्ष ओली गएको शनिबार आफ्नै मेडिकलबाट प्रक्राउ परेका हुन्। विप्लवले फागुन २३ गते गरेको राप्ती बन्दको सल्लेखोलामा ट्रक तोडफोड गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

यस्तै विप्लवको आधारक्षेत्र मानिने कालिकोटमा पनि दिनदिनै विप्लवका कार्यकर्ताहरु प्रक्राउ पर्न थालेका छन्। जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार अहिलेसम्म कालिकोटबाट तीन जना विप्लवका नेताहरु प्रक्राउ परेका छन्। प्रक्राउ पर्नेमा विप्लवका भेरी कर्णाली बुद्धिजीवी परिषद्का इन्चार्ज धनराज शाही रहेका छन्। जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरि बस्नेतका अनुसार प्रक्राउ पर्ने शाही विप्लव समूहको कालिकोट जिल्ला जनसरकार प्रमुखसमेत हुन्। उनलाई बम बिस्फोट, राज्यविरुद्धको अपराध तथा संगठित अपराध ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ। शाही भेरी–कर्णालीका १० जिल्लामा संगठन विस्तार गर्ने, बम विस्फोट गराउने, चन्दा–आतंक मच्चाउने लगाएतकक गतिविधिमा सक्रिय रहेको प्रहरीको भनाई छ।

त्यस्तै, कालिकोटबाटै प्रहरीले जिल्ला मजदुर संगठन कालिकोट इञ्चार्ज भरत शाहीलाई पनि पक्राउ गरेको छ। यसअघि चैत ७ गते प्रहरीले विप्लव निकट जनपत्रकार संगठनका इञ्चार्ज कर्णबहादुर विश्वकर्मालाई समेत पक्राउ गरिसकेको छ। विश्वकर्मा रेडियो कर्णालीको कार्यकक्षबाटै प्रक्राउ परेका हुन्। 

प्रहरीले कारवाही तीव्र पारेपछि जिल्ला सैन्य सह–इञ्चार्ज रमेश चँदारा सुनारले आत्मसमर्पण गरेका छन्। उनलाई साताको शनिबार प्रहरीमा हाजिर हुने गरी जमानीमा छोडिएको छ। शान्ति सुरक्षा कायम राख्न सुरक्षा निकाय चनाखो बनेको छ। यद्यपि, कर्णालीका दश जिल्लामध्ये कालिकोट र सल्यानबाहेक अन्य जिल्लाबाट विप्लवका कार्यकर्ता पक्राउ पर्न सकेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell