काठमाडौं: क्रोएसियामा हुने आइएसएफ वर्ल्ड स्कुल भलिबल च्याम्पियनसिप यू-१५ मा नेपालको यू-१५ गर्ल्स टोलीले प्रतिस्पर्धा गर्ने भएको छ।
क्रोएसियाको पारेसमा यही मार्च ३० देखि अप्रिल ४ सम्म हुने च्याम्पियनसिपमा सहभागि हुने नेपाली यू-१५ गर्ल्स टोलीलाई मंगलबार बिदाई गरिएको छ।
नेपाल स्कुल स्पोर्टस् फेडेरेसनले मंगलबार कार्यक्रम आयोजना गरी ९ खेलाडीसहित १४ सदस्यीय टोलीलाई बिदाई गरेको हो। नेकपा का प्रवक्ता नारायण काजी श्रेष्ठ, नेपाल स्कुल स्पोर्टस् फेडेरेसनका अध्यक्ष विनोद श्रेष्ठ लगायतले टोलीलाई बिदाई गरे।
नेपालबाट यस किसिमको च्याम्पियनसिपमा सहभागिता हुन लागेको यो पहिलो पटक हो।
नेपाली टोलीमा घरेलु महिला भलिबलको चर्चित टोली न्यू डायमण्डका खेलाडीहरु समावेश छन्।
गर्ल्स च्याम्पियनसिपमा निश्चित उमेर समूहका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने भएका कारण सबै नयाँ खेलाडीहरु रहेका प्रशिक्षक कुमार राईले बताए। राई न्यू डायमण्डका प्रिन्सिपल समेत हुन्। क्रोएसियामा हुने च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनु ठूलो उपलब्धी रहेको र यसले खेलाडीहरुमा एक्सपोजर बढाउने राईले बताए।
इन्टरनेशनल स्कुल अफ स्पोर्टस् फेडेरेसन (आइएसएफ) ले नेपाल स्कुल स्पोर्टस् फेडेरेसन (एनएसएफ) सँग सहकार्य गरेर च्याम्पियनसिपमा नेपाली टोलीको सहभागिता पक्का गरेको हो।
च्याम्पियनसिपमा नेपालसहित १४ देशको सहभागिता रहनेछ। जसमा बुल्गेरिया, चिली, चीन, चाइनिज ताइपेइ, क्रोएसिया, इस्टोनिया, फ्रान्स, हंगेरी, म्यासेडोनिया, नेपाल, नेदरल्यान्ड्सको दुई टोली, स्पेन र युक्रेन रहेका छन्।
नेपाली टोलीका कप्तान सजिना श्रेष्ठले विदेशमा खेल्न जान पाउँदा एकदमै खुशी लागेको र उत्साहित भएको बताइन्। 'हामी देशको प्रतिनिधित्व गरेर जाँदैछौँ। पहिलो पटक भएकोले नयाँ ठाउँमा कस्तो हुन्छ थाहा छैन। तर हाम्रो एउटै लक्ष्य भनेको त्यहाँ गएर राम्रो खेल्ने हो र सकेसम्म जितेर आउने हो।' श्रेष्ठले भनिन्। 'नेपालको इज्जत पनि राख्नुपर्छ र नेपालले पनि राम्रो भलिबल खेल्दो रहेछ भने देखाउन चाहन्छौँ।'
नेपाल भलिबल संघका सचिव मनविर छन्त्यालले नेपाली भलिबल इतिहासमा यो एकदमै खुशीको क्षण रहेको बताए।
क्रोएसिया जाने १४ सदस्यीय नेपाली टोली
खेलाडी : सोनी थपलिया, करिना सुनुवार, सविना तामाङ, दिया परियार, जोया गुरुङ, सजिना श्रेष्ठ, रिया कुवँर, प्रेक्षा राई, सुनिता खड्का
हेड अफ डेलिगेसन : राज कुमार कार्की
प्रशिक्षक : कुमार राई
स्कुल शिक्षक : सुनकेशरी माली
रेफ्री : चन्द्रा बदना राई
स्कुल डाइरेक्टर : मोहन कुमार कार्की