
काठमाडौं : चीन स्वशासित तिब्बतमा पछिल्लो समय आर्थिक वृद्धि भइरहेको चीनले दाबी गरेको छ। दलाई लामाले तिब्बत छाडेसँगै यहाँको अर्थ व्यवस्थामा १ सय ९१ प्रतिशतले वृद्धि भएको चीनको दाबी छ। चीनले सार्वजनिक गरेको 'तिब्बतको प्रजातान्त्रिक परिवर्तनको ६० वर्ष' प्रतिवेदनमा चीनले ६० वर्ष अगाडिको तुलनामा यहाँको अर्थव्यवस्थामा सुधार आएको भन्दै तिब्बतीको कुल ग्राह्यस्थ उत्पादन १४७.८ मिलियन आरएमबी पुगेको दाबी गरिएको छ। सन् १९५९ मार्च २८ मा तिब्बत चीनको अधिनमा आएको थियो।
के सुधार आयो तिब्बतमा ?
प्रजातान्त्रिक सुधारको ६० वर्षमा तिब्बतले आर्थिक उपलब्धिको शिखर चुमेको चिनियाँ दाबी छ। चीनले सार्वजनिक गरेको श्वेतपत्रमा निम्न उपलब्धिहरु उल्लेख गरिएको सिन्ह्वाले जनाएको छ।
१९५९ मा यहाँको कूल ग्राहस्थ उत्पादन १७४ मिलियन आरएमबी (२५.९ मिलियन डलर) थियो जुन गत वर्ष १४७.८ बिलियन आरएमबी पुगेको छ।
चीनको केन्द्रीय तथा क्षेत्रीय सरकारले यहाँ १ ट्रिलियन आरएमबी भन्दा बढी पूर्वाधार विकासमा खर्चिएका छन्। रेल, जलविद्युत, हाइ भोल्टेज ट्रान्समिसन लाइन लगायतका ८०० बढी परियोजनाहरु कार्यान्वयनमा आएका छन्।
६० वर्ष अगाडि यहाँ कुनै राजमार्ग थिएनन्। हाल यहाँ ९७ हजार ४०० किलोमिटर राजमार्ग तयार भएको छ। छिन्काइ-तिब्बत रेलमार्गले तिब्बतलाई अन्य क्षेत्रसँग जोडेको छ।
यहाँको प्रतिव्यक्ति आय १७ हजार २८६ आरएमबी पुगेको छ। १९६५ भन्दा यो शहर र गाउँमा क्रमश ७३ र १०५ गुणाले वृद्धि भएको छ।
तिब्बतले चिनियाँ शासनकालमा गरिबी निवारणमा निर्णायक परिवर्तन हासिल गरेको छ। सन् २०१८ मा एक लाख ८० हजार जनसंख्यालाई गरिबीबाट बाहिर निकालिएको छ। पछिल्लो ६ वर्षमा यहाँको गरिबी जनसंख्या ८ लाख ६० हजार देखि १ लाख ५० हजारमा झारिएको छ। गरिबी ८ प्रतिशतमा सीमित भएको छ।
प्रजातान्त्रिक परिवर्तनपछि यहाँको साक्षरता ९५ प्रतिशतले वृद्धि भएको छ। हाल यहाँको निरक्षरता ०.५२ प्रतिशतमा झरेको छ। यहाँको औशत आयु ३५.५ वर्ष देखि बढेर ६८.२ वर्ष पुगेको छ। १९५९ मा एक करोड २३ लाख जनसंख्या रहेको तिब्बतमा हाल ३ करोड ४४ लाख जनसंख्या पुगेको छ।
पछिल्लो ४० वर्ष यता यहाँ पर्यटकको संख्यामा वृद्धि गुणात्मक रुपमा भएको छ। सन् १९८० मा १ हजार ५९ पर्यटकले भ्रमण गरेकोमा गत वर्ष मात्र ३३ करोड ७० लाख पर्यटकले तिब्बतको भ्रमण गरेका थिए। यस हिउँदमा मात्र तिब्बतमा २ करोड ४६ लाख पर्यटकले भ्रमण गरेका थिए। जसले यहाँको अर्थतन्त्रमा २ करोड ६२ लाख आरएमबी योगदान पुर्याएको जनाइएको छ।