
काठमाडौँ : प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले चैत १६ गते शनिबारका लागि आह्वान गरेको नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको छ।
प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले बुधबार जारी गरेको विज्ञप्तिमा शनिबार भए पनि '४ लाख ७५ हजार ३ जना विद्यार्थीको माध्यमिक शिक्षा परीक्षा परेको र परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले परीक्षामा अवरोध नगरिदिनका लागि अपील गर्नुका साथै, त्यसै दिन नेपालका कानुन व्यवसायीहरुको नयाँ नेतृत्व छनौटका लागि निर्वाचन पर्न जानुका साथै नेपाल बार एसोसिएशनले पनि एक वक्तव्य मार्फत सहयोग गर्ने गरेको आग्रहलाई ध्यानमा राख्दै' बन्द फिर्ता लिएको जनाएको छ।
'प्रतिबन्ध लगाउने निहुँमा देशभरी गरिराखेको प्रहरी अप्रेशन, हिंसा र गोलीसम्म हान्ने जुन कुकार्य गरेको छ, त्यसको हामी उचित जवाफ दिने छौं', विज्ञप्तिमा चेतावनी दिइएको छ।
उनले उपयुक्त समयमा नयाँ संघर्षको कार्यक्रम घोषणा गर्ने पनि बताएका छन्।