PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

धमाधम डेरा छाड्दै प्रतिबन्धित नेकपाका कार्यकर्ता, लगत संकलन गर्दै प्रहरी



पहिलोपोस्ट

धमाधम डेरा छाड्दै प्रतिबन्धित नेकपाका कार्यकर्ता, लगत संकलन गर्दै प्रहरी

काठमाडौँः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि सरकारले प्रतिबन्ध लगाएको १५ दिन पुगेको छ। प्रतिबन्धित नेकपाका कार्यकर्ताको खोजीलाई तीव्र बनाएको प्रहरीले काठमाडौँका घरघरमा पुगेर डेरावालाको लगत संकलन अभियान नै चलाएको छ।

प्रहरीले घर-घरमा पुगेर डेरामा बस्नेहरूको लगत संकलन गर्न थालेपछि प्रतिबन्धित नेकपाका कार्यकर्ताहरू तनावमा परेका छन्।

‘अब डेरामा पनि बस्न नदेला जस्तो छ,’ विप्लव निकट एक विद्यार्थी नेताले भने, ‘बाहिर निस्किने वातावरण त थिएन डेरामा पनि बस्न नपाइएला जस्तो भयो।’

कोठा खाली गर्ने सुरमा छन् यी विद्यार्थी नेता।

‘डेरामा साता दिन भयो नगएको। अब लगत संकलनका पनि गर्दैछ रे। कोठा खाली गर्दैछु,’ उनले पहिलोपोस्टसँग भने, ‘जबर्जस्ती भूमिगत बनाएरै छाड्ने भए।’

समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत महानगरीय प्रहरी परिसर काठमाडौँले घरदैलो कार्यक्रम सुरु गरी घरधनी र डेरावालाको लगत संकलन गर्न थालेको हो।

बुधबार वसन्तपुरबाट यो अभियानको सुरु भएको थियो। अपराध नियन्त्रण गर्न सहयोग होस भनेर अभियान सुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामाले जानकारी दिए।

‘अपराध नियन्त्रणमा सहयोग पुगोस् भनेर यो अभियान चलाइएको हो। विप्लव समूहलाई लक्षित गरेर होइन,’ उनले भने, ‘एक वर्ष अगाडिकै योजना हो। अपराध गर्नेहरू नलुकुन नभागुन भनेर लगत संकलन गरिएको हो।’

यस अभियानका क्रममा लगत संकलन गरिएको घरमा प्रहरीले स्टिकर टाँस्ने छ। जसमा प्रहरीको सम्पर्क नम्बरसमेत हुनेछ। घरदैलो कार्यक्रम काठमाडौँ जिल्लाका विभिन्न २३ स्थानबाट सुरु भएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता होविन्द्र बोगटीका अनुसार घरदैलोमा पुग्ने प्रहरीका साथमा जनप्रतिनिधिसमेत सहभागी हुनेछन्।

यो टोलीले घरधनी घरमा बस्ने डेरावालाको लगत तथा विवरण संकलन गर्नेछ। प्रहरीले सुरक्षाका लागि भनिएको यो अभियान नेकपामाथि पनि लक्षित हुने देखिन्छ। ‘अभियान अपराध नियन्त्रण गर्ने हो। स्वाभाविक रूपमा विप्लवका गतिविधिहरू आपराधिक छन्। सरकारले पनि प्रतिबन्ध लगाएको छ। उनीहरू पनि लक्षित हुन,’ एक प्रहरी अधिकारीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell