
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा) प्रदेश नम्बर ३ कमिटीको पहिलो बैठकले १३ वटा एजेन्डा पास गरेको छ। बैठकमा पार्टीको प्रदेश कमिटी अध्यक्ष नारायण दाहालले १३ बुँदे एजेन्डा पेश गरेका थिए।
अध्यक्षले पेश गरेका एजेन्डालाई प्रदेश कमिटी सदस्यबाट लखित सुझाव संकलन गरी सुझाब अनुसार परिमार्जन गर्ने गरी पारित गरिएको छ।
काठमाडौंको मीनभवन क्राउन ब्याङ्क्वैटमा प्रदेश तीनको पहिलो बैठक तथा सपथ समारोह भएको हो। समारोहमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रदेश कमिटीका सदस्यहरुलाई सपथ गराएका थिए।
प्रदेश कमिटीको पहिलो बैठकले प्रदेशका सबै जिल्ला र स्थानीय तहको पार्टी एकता र अभियान वैशाख भित्र टुंग्याउने निर्णय गरेको छ। हालसम्म तीन जिल्लाका सबै जिल्ला र स्थानीय तहमा एकीकरण सम्पन्न भएको भन्दै बाँकी जिल्लामा वैशाख मसान्त भित्र टुंग्याउने प्रदेश अध्यक्ष दाहालले जानकारी दिए।
बैठकमा असार मसान्तसम्मको चार महिले कार्ययोजनालाई ताली ठोकेर प्रदेश सदस्यहरुले पारित गरेका हुन्।
पारित प्रमुख एजेन्डामा प्रदेश सदस्यको कार्य विभाजन, सचिवालय गठन जेठ १५ गतेभित्र टुंग्याउने, काठमाडौंको बबरमहलमा कार्यालय कर्मचारी भवन खडा गर्ने, वैशाख १५ गतेसम्म प्रदेश सल्लाहकार समिति गठन गर्ने उल्लेख छ।
केन्द्रले जिल्ला नेतृत्वको टुंगो लगाएमा वैशाख मसान्तभित्र एकताको प्रकृया पूरा गर्ने एजेन्डामा उल्लेख छ। त्यस्तै प्रदेश ३ का सबै जिल्लामा जेठभित्र प्रशिक्षण चलाउने तय भएको छ।
प्रदेश कमिटी र प्रदेश सरकारको संयुक्त बैठक चार/चार महिनामा बस्ने पनि तय गरिएको छ। पार्टी कमिटी, प्रदेश सांसद बीचको अन्तरक्रिया जेठ मसान्तसम्म गरिसक्ने योजना ल्याइएको छ।
स्थानीय तह र प्रदेशस्तरीय प्रशिक्षण वैशाखभित्र गर्ने तय भएको छ। त्यसैगरी जनप्रतिनिधिको कार्य सम्पादन मूल्यांकन गर्ने अनुगमन टिम बनाउने एजेन्डा पनि पारित भएको छ।
सबै जनवर्गीय संगठनको प्रदेश स्तरीय प्रशिक्षण असार मसान्तसम्म गर्ने पनि तय गरिएको छ।
वैशाख ९ गते रामेछापको भंगेरीमा पुष्पलालको जन्म गाउँमा भेला भइ पुष्पलाल स्मृति दिवस मनाउने लगायतका एजेन्डासमेत तय भएका छन्। साथै रोपाई गरेर धान दिवश मनाउने समय योजना अघि सारिएको छ।