PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

टी २० वर्ल्ड कप : युएई ग्लोबल क्वालिफायरमा छनोट, नेपालले यी चार राष्ट्रसँग खेल्नुपर्ने



पहिलोपोस्ट

टी २० वर्ल्ड कप : युएई ग्लोबल क्वालिफायरमा छनोट, नेपालले यी चार राष्ट्रसँग खेल्नुपर्ने

काठमाडौँ : सन् २०२० मा अष्ट्रेलियामा हुने आइसीसी टी २० वर्ल्डकप का लागि रिजनल छनोट जारी छ।

अहिलेसम्म प्रारम्भिक चरणका छनोट भइसकेका छन्। अब रिजनको दोस्रो चरण र ग्लोबल क्वालिफायर हुन बाँकी छ।

नेपालले पनि एसियाको पहिलो चरणको छनोट पार गरिसकेको छ र वर्ल्डकप पुग्न अझै दुई चरणको छनोट खेल्नुपर्नेछ।

ग्लोबल क्वालिफायर युएईमा हुँदैछ र त्यसमा सबै रिजनबाट उत्कृष्ट भएका टोलीहरु छनोट भएर आउनेछन्।

यस बाहेक सन् २०१६ को टी २० वर्ल्डकप खेलेका र आइसीसीको वरीयतामा शीर्ष १० मा पर्न नसकेका हङकङ, आयरल्यान्ड, नेदरल्यान्डस्, स्कटल्यान्ड, जिम्बावे र ओमानले ग्लोबल क्वालिफायर खेल्नेछन्।

यस्तै एसियन रिजनमा पहिलो चरणको छनोट पार गरेर दोस्रो चरणमा पुगेका युएई पनि ग्लोबल क्वालिफायरको आयोजकको नाताले सिधै ग्लोबल क्वालिफायरमा छनोट भएको छ। युएईले अब दोस्रो चरण खेल्नुपर्ने छैन।

नेपाल लगायत एसियाका पाँच राष्ट्रले भने एसियन रिजनको छनोट खेल्नु पर्नेछ।

यसैगरी इस्ट एसिया प्यासिफिक रिजनबाट पपुवा न्यूगिनी पनि शीर्ष स्थानमा रहँदै ग्लोबल क्वालिफायरमा छनोट भएको छ।

ग्लोबल क्वालिफायरका लागि अहिलेसम्म ८ टोलीको टुङ्गो लागिसकेको छ। अब अफ्रिका र अमेरिकन रिजनबाट २-२ तथा एसिया र युरोपबाट १-१ टोली छनोट हुन बाँकी छन्।

एसियाबाट २ टोली ग्लोबल क्वालिफायरमा छानिने भएपनि युएई सिधै छानिसकेकोले अब १ टोली मात्र छानिनेछ। त्यसैका लागि नेपालले मलेसिया, सिंगापुर, कुवेत र कतारसँग आगामी जुलाईमा प्रतिस्पर्धा गर्नेछ।

पाँच राष्ट्रबीचको उक्त छनोट चरणका खेलहरु जुलाई २२ देखि २८ सम्म सिंगापुरमा हुनेछन्।

नेपाल २०१८ अक्टोबरमा मलेसियामा भएको एसिया रिजनलको पहिलो चरणको छनोटमा समूह बी को विजेता बनेको थियो।

अर्को वर्ष अष्ट्रेलियामा हुने टी २० वर्ल्डकपमा आयोजकसहित अन्य ९ राष्ट्र भने सिधै छनोट भइसकेका छन्। तर २०१९ जनवरी १ को वरीयता अनुसार नवौँ स्थानमा रहेको श्रीलंका र दशौँ स्थानमा रहेको बंगलादेशले भने वर्ल्डकपमा समूह चरणमा प्रतिस्पर्धा गर्नुपर्नेछ। बाँकी ८ टिमले भने सिधै अन्तिम चरणमा खेल्नेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell