PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

कसरी दुत्कारियो डङ्गोटेको ५५ अर्बको लगानी? : एफडिआइमा नेपालको यस्तो छ नजिर



मधुकर दाहाल

कसरी दुत्कारियो डङ्गोटेको ५५ अर्बको लगानी? : एफडिआइमा नेपालको यस्तो छ नजिर

काठमाडौं : दुई दिनपछि सुरु हुन लागेको लगानी सम्मेलनमा सम्भाव्य अन्तर्राष्ट्रिय लगानीकर्ता बोलाउन सरकारले उनीहरुका मध्यस्थकर्ताको दैलो चहारिरहँदा अफ्रिकी अर्बपति एलिको डाङ्गोटे भने पाँच वर्षदेखि चुनढुङ्गा खानीका लागि नेपाल सरकारको सहयोगको पर्खाइमा छन् ।

एलिकोको नाइजेरियाली कम्पनी डाङ्गोटे ग्रुपले नेपालमा सिमेन्ट उद्योग स्थापनाका लागि ५५ करोड अमेरिकी डलर लगानी भित्र्याउने अनुमति १५ कात्तिक २०७० मा नै पाएको थियो ।डाङ्गोटे ग्रुपले अहिले पनि आफ्नो वार्षिक प्रतिवेदनमा पाइपलाइनका सिमेन्ट प्लान्टहरुमा नेपाल परियोजना समेत उल्लेख गर्ने गरेको छ। सन् २०१७ मा प्रकाशित वार्षिक प्रतिवेदनमा डाङ्गोटेले लेखेको छ – ‘विदेशी लगानीका लागि केही असहजता कारण नेपालको योजना केही वर्ष ढिलो भएको छ। यद्यपि, उत्साहजनक बढ्दो बजार सम्भावना रहेको नेपालमा सिमेन्ट प्लान्ट स्थापनाका लागि हामी प्रतिवद्ध छौं ।’

अफ्रिकी सिमेन्ट जाइन्ट डाङ्गोटेले उक्त प्रतिवेदनमा यो लेख्नुभन्दा तीन वर्षअघि नै नेपालमा सिमेन्ट प्लान्ट स्थापनाका लागि विदेशी लगानी अनुमति पाएको थियो ।

यो भन्दा २१ महिनापछि लगानी अनुमति पाएको चिनियाँ लगानीको होङ्सीले उत्पादन नै शुरु गरिसकेको छ भने डाङ्गोटेभन्दा दुई वर्षपछि अनुमति पाएको ह्वासिनले पनि अबको एक वर्षभित्र उत्पादन बजारमा ल्याउने गरी प्लान्ट निर्माण थालेको छ। तर, डाङ्गोटे ग्रूप अफ इन्डष्ट्रिज भने पछिल्लो पाँच वर्षदेखि चुनढुङ्गा खानीमै अल्झिरहेको छ। यसबीच ‘नेपाली निजीक्षेत्रका सिमेन्ट उद्योगीले खानी पाउने बाटो छेक्न सबै उपाय अपनाएकाले आजित भएर डाङ्गोटे नेपालबाट फिर्ता गइसकेको’ भन्ने पनि चर्चा चल्यो।

तर, यसलाई नकार्दै डाङ्गोटे सिमेन्टका नेपाल प्रतिनिधि रुपबहादुर रावल भन्छन्, ‘लगानीको प्रतिवद्धता मात्र जाहेर गरेर भाग्न खोजेको होइन डाङ्गोटे। शतप्रतिशत काम गर्न चाहन्छ। त्यसैले २०१४ मा कम्पनी दर्ता गरेयता हरेक वर्ष अडिट गराउँदै अद्यावधिक राखेर बसेका छौं। खानी पाए अहिले पनि डाङ्गोटे आजको भोलि काम थाल्ने मनस्थितिमा छ।’

डाङ्गोटेले ठीक दुई वर्षअघि चैतमै खानी विभागले बोलपत्र आह्वान गरेका १५ स्थानकामध्ये पाल्पा, धादिङ र मकवानपुर गरी तीन ठाउँको खानीका लागि प्रस्ताव हालेको थियो। जसको प्राविधिक मूल्यांकनमा भने डाङ्गोटेलाई अयोग्य ठहर्‍याइयो। जबकि, सिमेन्ट उत्पादनको प्राविधिक क्षमता डाङ्गोटेको सबैभन्दा बलियो पक्ष हो।

करिब ७ महिनाअघि पनि यसले धादिङको ‘एक’ खानी उपलब्ध गराइदिन लगानी बोर्डमार्फत् सरकारलाई आग्रह गरेको थियो। त्यसबाहेक पनि प्रस्तावित उत्पादन क्षमता (दैनिक ६ हजार टन) धान्ने धादिङ, मकवानपुर आसपास राम्रो गुणस्तरको चुनढुङ्गा भएको कुनै पनि भए हुने भनेको थियो।

‘यो क्षेत्रमा खानी विभागसँग प्रसस्तै खानी छन्। तर, हामीले पछिल्लोपटक गरेको प्रस्तावको सम्बन्धमा पनि सरकार तथा खानी विभागबाट अहिलेसम्म कुनै सिग्नल पाएका छैनौं,’ रावलले भने।

शतप्रतिशत विदेशी लगानीमा आउन खोजेको डाङ्गोटेको स्थानीय एजेन्ट कमजोर भएकाले पनि यसले अहिलेसम्म खानी पाउन नसकेको लगानी बोर्ड स्रोत बताउँछ। चिनियाँ कम्पनी होङ्सीले शिवमलाई स्थानीय साझेदार नबनाएको भए नेपालमा उद्योग स्थापना गर्न सायदै सक्थ्यो। अर्को चिनियाँ कम्पनी हुवासिनले पनि उद्योगी सुरज वैद्यलाई स्थानीय साझेदार बनाएपछि लगानी सम्झौता गरेर प्लान्ट स्थापनासम्म पुग्ने बाटो तय गर्न सक्यो।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भने डङ्गोटेलाई खानी दिलाउन बोर्डको सक्रियता जारी रहेको छन्। ‘अहिले पनि डाङ्गोटेसँग दुईवटा खानी छ। उसले एउटा सानो भयो अर्को क्वालिटी छैन भन्यो,’ अधिकारीले भने, ‘उसले मागेको धादिङको खानी दिलाउन हामीले पहल गरेका हौं। तर, यसका पनि नियम र प्रक्रिया भएकाले मिलेन।’ अहिले पनि अन्य प्रदेशहरुसँग पनि डाङ्गोटेका लागि उपयुक्त खानी दिलाउन पहल गरिरहेको उनको जिकिर छ।

पाँच वर्षअघि नेपालको सिमेन्ट बजार अध्ययन गरेर लगानीका लागि उत्साहित हुँदै छिरेको सब–साहरा अफ्रिकाको सबैभन्दा ठूलो सिमेन्ट उत्पादक डाङ्गोटेले २०७१ जेठ १३ मा कम्पनी रजिस्ट्रारको कार्यालयमा ‘डाङ्गोटे सिमेन्ट नेपाल प्रालि’ नामको कम्पनी दर्ता गरेको थियो।

डाङ्गोटेको प्रस्तावित उत्पादन क्षमता सम्बोधन गर्ने गुणस्तरीय चुनढुङ्गा खानी सरकारले जुटाइदिए प्लान्ट स्थापना गर्ने शतप्रतिशत निश्चित रहेको रावलले बताए। नेपालमा सिमेन्ट प्लान्ट लगाउनकै लागि भनेर अहिले पनि डाङ्गोटेले ताजा बजार अध्ययन गर्न लागेको छ।

पाँच वर्षअघिको अध्ययनबाट देखिएको नेपालको सिमेन्ट बजारको माग, आपूर्ति र सम्भावनाको दृष्य अहिले बदलिइसकेकाले यसको पुनः अध्ययनका लागि एक रिसर्च एजेन्सीसँग सम्झौता हुने क्रममा रहेको रावलले जानकारी दिए। डाङ्गोटे सिमेन्टमै विशेषज्ञताका लागि संसारभर चिनिएको कम्पनी हो। डाङ्गोटेले अर्बौं रुपैयाँ लगानी मात्र ल्याउने होइन, सँगै विश्वस्तरको प्रविधि पनि भित्र्याउनेछ।

प्रविधि र आर्थिक क्षमतामा कुनै समस्या नभएकाले सरकारले खानीको प्रबन्ध गरिदिए प्लान्ट स्थापनाको काम तत्काल थाल्न सक्ने रावलको भनाइ छ। डाङ्गोटे खानीका लागि सरकारलाई सोझै र स्थानीय एजेन्टमार्फत पनि पहल गरिरहेका छ। तर, विदेशीलाई सिमेन्ट उद्योगमा लगानीको अनुमति दिइन्छ भने खानीको पनि प्रबन्ध सरकारले गरिदिनुपर्ने डाङ्गोटेका नेपाल प्रतिनिधि रावलको भनाइ छ।

‘हामी खानीकै लागि कुरेको धेरै वर्ष भइसक्यो तर अहिलेसम्म टुङ्गो लागेको छैन। त्यति ठूलो वैदेशिक लगानी स्वीकृत मात्रै गरिदिएर खानी आफैं खोज भन्नु विदेशी लगानीलाई प्रवर्द्धन गर्न खोजेको कसरी हुन्छ?,’ उनी प्रश्न गर्छन्, ‘सिमेन्ट उद्योगमा लगानी गर्न अनुमति दिने तर उत्पादनका लागि चाहिने खानी भने नदिने, यो कस्तो नीति हो?’

फाइल तस्विर: यही कम्पनीको गैरमुनाफामुखी संस्था डाङ्गोटे फाउण्डेसनले  भूकम्प  गएका बेला १० करोड रुपैयाँ सहयोग  हस्तान्तरण गरेको थियो

पाँच वर्षदेखि के गर्दैछ डाङ्गोटे ?

नेपालमा सिमेन्ट उद्योग खोल्न डाङ्गोटेले सन् २०१३ मै यसको प्रक्रिया थालेको थियो। दैनिक ६ हजार टन क्लिंकराइजेसन क्षमतासहितको सिमेन्ट उद्योगका लागि ५५ करोड अमेरिकी डलर लगानी गर्ने प्रस्ताव लगानी बोर्डमा पेश गर्‍यो।

डाङ्गोटेले २०७० कात्तिक १५ मा लगानी बोर्डबाट सो लगानीको स्विकृति पायो। उद्योग खोल्ने प्रक्रियामा जान ०७१ जेठ १३ मा ‘डाङ्गोटे सिमेन्ट नेपाल प्रालि’ नामको कम्पनी दर्ता गर्‍यो। यसपछि चुनढुङ्गा खानी र प्लान्ट निर्माणका लागि जग्गाको जोहो गर्नु थियो। सोही क्रममा बिराट सिमेन्टका संचालक पर्शुराम उप्रेतीमार्फत् आफ्नो कम्पनीको नाममा रहेको मकवानपुरस्थित खानी खरीदका लागि डाङ्गोटेलाई प्रस्ताव आयो। खानी विभागको परीक्षण नतिजामा विराटको खानी सिमेन्टका लागि गुणस्तर पुग्ने देखिएकाले यसमा डाङ्गोटे सकारात्मक भयो। खानी मात्र किनेर उपभोग गर्न नमिल्ने भएकाले डाङ्गोटेले २०७२ वैसाख ३ गते बिराट सिमेन्ट कम्पनीलाई नै ‘टेकओभर’ गर्‍यो।

बिराटबाट खानी लिएपछि त्यसको १२ देखि १६ किमीको दूरीमा पर्ने केही स्थानमा फ्याक्ट्री स्थापनाका लागि डाङ्गोटेले जग्गा पनि हेरेको थियो। मकवानपुरमै करीब २ सय ५० विघा जग्गा लिने प्रक्रिया धेरै अघि बढिसकेको कम्पनीका नेपाल प्रतिनिधि रुप रावलको भनाइ छ। तर, बिराटसँग लिएको खानी कमसल देखिएपछि डाङ्गोटेको मकवानपुर योजना स्थगित भयो। ‘मकवानपुरको खानी उपयुक्त हुन्थ्यो भने डाङ्गोटे होङ्सीभन्दा धेरै अगाडि संचालनमा आइसक्ने थियो,’ रावलको भनाइ छ।

अहिले होङ्सीको प्लान्ट निर्माण गरेको चिनियाँ कम्पनी सिनोमा इन्जिनियरिङसँग नै होङ्सीभन्दा धेरै अगाडि (मकवानपुरको खानी किनेलगत्तै) डाङ्गोटेले उद्योग निर्माणको सम्झौता गरिसकेको थियो। डाङ्गोटेले मकवानपुर खानीको चुनढुङ्गाको गुणस्तर, परिमाण आदिको थप जाँचका लागि नाइजेरियाबाटै भूगर्भविद्हरु ल्याएर ५ वर्ग किलोमिटर क्षेत्रको ८ ठाउँमा १५० मिटर गहिराइसम्म गएर कुल १२०० मिटर ड्रिलिङ गरेर नमुना निकाल्यो। उक्त नमुना डाङ्गोटेले नाइजेरियास्थित आफ्नै अत्याधुनिक ल्याबमा लगेर परीक्षण गर्न खोज्यो। तर, एक वर्षसम्म डाङ्गोटेले नमुना नाइजेरिया लैजान पाएन। सोपछि नमुना नाइजेरिया लगेर परीक्षण गर्दा दैनिक ६ हजार टन उत्पादनका लागि राम्रो गुणस्तर देखिएन।

मकवानपुरको खानीबाट करिब १२ किमीको दूरीमा डाङ्गोटेले अत्याधुनिक प्लान्ट निर्माणको योजना बनाएको थियो। भीमफेदीस्थित खानीको डाँडादेखि करिब १२ किमीको दूरीको उक्त प्लान्ट स्थलसम्म सोझै क्लिंकर ल्याउनका लागि रोपवे जस्तै प्रविधिको ढुवानी पूर्वाधार निर्माण गर्ने योजना थियो। त्यसले खानीदेखि क्लिंकर ल्याउनका लागि सवारीसाधन वा सडक प्रयोग गर्नै नपर्ने हुन्थ्यो।

व्यक्तिगत प्रयासमा लिएको खानी उपयुक्त नभेटेपछि अन्य खानीको प्रबन्धका लागि डाङ्गोटेले सरकार, लगानी बोर्ड, खानी विभाग, राजनीतिक दलका नेता लगायतसँग अनुरोधका लागि चक्कर लगायो। खानी उपलब्ध हुन नसके लामो समयसम्म ठूलो विदेशी लगानीकर्ता अल्झिएर बस्न नसक्ने भन्दै डाङ्गोटेले लगानी बोर्डमार्फत सरकारलाई दबाब दियो।

अन्ततः लगानी बोर्डको सक्रियतामा खानी विभाग चिनियाँ लगानीको ह्वासिन र डाङ्गोटेलाई एउटा/एउटा खानी दिन सकारात्मक भयो । खानी विभागले मुख्यगरी यिनै दुई विदेशी लगानीका कम्पनीका लागि मिलाएर विभिन्न स्थानका १५ खानीको २०७३ चैत १ मा बोलपत्र सूचना निकाल्यो। डाङ्गोटेले पाल्पा, धादिङ र मकवारपुर गरी तीन ठाउँको खानीमा प्रस्ताव हाल्यो।

‘तर हामीलाई बाइपास गर्न सुनियोजित तरिकाले उक्त बोलपत्रका शर्तलाई आफू अनुकुल व्याख्या गरेर वित्तीय प्रस्तावसम्म पुग्ने बाटो छेकियो,’ रावल भन्छन्।

बोलपत्र प्रस्ताव हालेको साढे ७ महिनापछि प्राविधिक मूल्यांकनको प्रस्ताव खोलियो, जसमा सिमेन्टमै विख्यात डाङ्गोटेलाई विभागले ‘प्राविधिक हैसियत नपुगेको’ व्यहोराको चिठ्ठी २०७४ कात्तिक १७ मा थमायो। डाङ्गोटेले प्रतिस्पर्धा गरेको धादिङ तथा मकवानपुर जिल्लामा पर्ने पानीखर्कको चुनढुंगा खानी चिनियाँ लगानीको हुवासिनले पायो भने उसले चासो देखाएको पाल्पाको जाल्पास्थित सिलकेश चुनढुंगा खानी ‘स्वर्गद्वारी मल्टिपर्पोज प्रालि’ नामको कम्पनीलाई दिइयो, जसको सिमेन्ट उत्पादनसँग आजको मितिसम्म पनि कुनै सरोकार देखिँदैन।

सोही लटमा पाल्पाको ज्यामिरे र बैतडीको दियारीगढस्थित दुई खानी आइएमइ समूहलाई र सुर्खेतको पोखरीकाँडा स्थित चुनढुंगा खानी नेपाल स्वाभिमान प्रालिलाई दिइएको थियो। तीमध्ये चीनको हुवासिनले प्लान्ट स्थापनाको काम अघि बढाएको छ भने आइएमई सिमेन्ट पनि लगानी सम्मेलनको परियोजना सूचीमा परेको छ। त्यसबेला मारुती र युनाइटेड सिमेन्टले पनि थप खानी पाएका थिए।

त्यसयता पनि खानीकै उल्झनमा रहेको डाङ्गोटेले करिब ७ महिनाअघि पुन धादिङमा रहेको अर्को खानी मिलाइदिन सरकारलाई आग्रह गरेको छ।

नेपालमा गुमनाम अफ्रिकी मार्केट लिडर 
२ करोड ३५ लाख टन सिमेन्ट। नाइजेरियाली सिमेन्ट जाइन्ट डङ्गोटे एक्लैले २०१८ को एक वर्षभित्र बिक्री गरेको सिमेन्ट परिमाण हो यो, जुन पूरै नेपालको वार्षिक सिमेन्ट मागभन्दा झन्डै चार गुणाले धेरै हो।

सिमेन्ट उद्योगीहरुकै भनाइमा अहिले नेपालमा वर्षमा ७० लाख मेट्रिक टन छ सिमेन्ट खपत हुन्छ।

नाइजेरिया, साउथ अफ्रिका, सेनेगल, घाना, इथियोपिया, सिएरालिओन, क्यामरुन, जाम्बिया, तान्जानिया, कङ्गो लगायतका अफ्रिकी मुलुकमा डाङ्गोटेले सिमेन्ट उत्पादन गरिरहेको छ। यसको नाइजेरियामा रहेका प्लान्टले मात्र २ करोड ९३ लाख टन उत्पादन क्षमता राख्छ। अन्य अफ्रिकी मुलुकहरुमा रहेका प्लान्ट समेत गरी डङ्गोटे ग्रुपको सिमेन्ट उत्पादन क्षमता ४ करोड ६० लाख टन छ। जुन यस क्षेत्रको समग्र सिमेन्ट बजार (८ करोड ४० लाख टन)को आधाभन्दा बढी हो।

डङ्गोटेको नाइजेरियाको कोगी राज्यमा रहेको ओबाजना प्लान्ट र ओगन राज्यको इबिसे प्लान्टको क्षमता क्रमशः १ करोड ३३ लाख टन र १ करोड २० लाख टन छ। नाइजेरियाको सबैभन्दा ठूलो पब्लिक कम्पनी समेत रहेको डाङ्गोटेको सिमेन्ट उत्पादनमा दख्खल र प्राविधिक क्षमतालाई यी तथ्यले प्रष्ट्याउँछ।

सूचना प्रविधि, बन्दरगाह संचालन, पेट्रो केमिकल रिफाइनरी, ग्यास पाइपलाइन, रियल इस्टेट, पूर्वाधार निर्माण, फर्टिलाइजर, कृषि, नुन तथा चिनी रिफाइनरी, अटोमेटिभ, ट्रोन्सपोर्टेशन इत्यादि क्षेत्रमा विशाल लगानी विस्तार गरेको डाङ्गोटेको आर्थिक सामर्थ्यको आकारको तुलनामा नेपालमा जनाएको लगानी प्रतिवद्धता (५५ अर्ब रुपैयाँ) असाध्यै सानो हो।

विद्युतीय ग्रीडसँगको सम्पर्क कमजोर भएका स्थानमा पनि सिमेन्ट उत्पादन प्लान्ट राखेको डङ्गोटेले ती कारखानामा विद्युत आपूर्तिमा आत्मनिर्भर हुन प्लान्ट साइटमै आफ्नै ‘पावर प्लान्ट’ राख्ने गरेको यसको २०१८ को इन्भेष्टर प्रिजेन्टेशनमा उल्लेख छ। नाइजेरिया, सेनेगल, तान्जानिया, जाम्बिया लगायतका देशका त्यस्ता प्लान्ट साइटमा यसले त्यसरी ‘अन–साइट पावर प्लान्ट’ खडा गरेको छ। यसबाट डङ्गोटे सिमेन्ट उत्पादनमा प्रतिवद्ध छ भन्ने बुझ्न कठिन हुन्न।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell