काठमाडौं: फिल्म 'ए मेरो हजुर ३' चैत २९ गतेदेखि प्रदर्शनमा आउने फिल्म हो। उक्त मितिमा नै अर्को फिल्म 'यात्रा : अ म्यूजिकल भ्लग' प्रदर्शनमा आउँदैछ।
फिल्मलाई विकास बोर्ड अध्यक्ष केशव भट्टराईले निर्माण गरेका हुन्। 'ए मेरो हजुर'को दोश्रो सँस्करणबाट फिल्ममा डेब्यू गरेका सलिनमान बनियाँ 'यात्रा : अ म्यूजिकल भ्लग'को मुख्य भूमिकामा देखिँदैछन्।
उता 'ए मेरो हजुर ३'मा भने झरना थापाकी छोरी सुहाना थापा र अनमोल केसीको अभिनय छ। फिल्मलाई झरनाको श्रीमान् सुनिल कुमार थापाले निर्माण गरेका हुन्। असोजमा प्रदर्शन गर्ने भनिएको 'यात्रा : अ म्यूजिकल भ्लग' सरेर चैत २९ मा आएको हो।
एकसाथ दुई फिल्म प्रदर्शनमा आउँदा दुवै फिल्मलाई असर पर्ने पक्का हो। अब दुई फिल्ममा कसले बाजी मार्ला त्यो त चैत २९ पछि नै थाह हुनेछ।
हालै, एक कार्यक्रमा भने निर्माता सुनिलले दुई फिल्म नजुधाउन धेरै सल्लाह गरेको बताए। उनले आफ्नो पीडा सुनाए 'मैले अनमोललाई फिल्ममा अनुबन्धित गर्दा १ वर्षअघि नै चैत २९ मा फिल्म ल्याउने भनेको थिएँ। मलाई कतिले फिल्म किन जुधाउनु भएको भनेर प्रश्नसमेत गर्नुभयो। उहाँहरुले असोजमा ल्याउने भनेको फिल्म सारेर चैतमा ल्यानुभयो। उहाँहरुलाई पनि घाटा छ मलाई पनि घाटा छ, सकेसम्म नजुधाउँ भनेर धेरैं विन्ती गरें। उहाँहरुले मलाई नै सार्न आग्रह गर्नुभयो।'
त्यसपछि उनले पनि आफ्नो फिल्मको मिति नसार्ने निर्णयमा पुगे। 'आफूले लिएको डेरामा कोठा छोडेर तपाईं बस्नुस्, म सर्छु भनेर कसरी जाउँ' भन्दै उनले उक्त मितिमा नै फिल्म भिडाउन तयार भए।