PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

भारतमा नेपाली युवा क्रिकेट टोलीको चौथो जित, आसिफ शेखको अर्धशतक



पहिलोपोस्ट

भारतमा नेपाली युवा क्रिकेट टोलीको चौथो जित, आसिफ शेखको अर्धशतक

काठमाडौँ : आसिफ शेखले अर्धशतक प्रहार गरेपछि भारत भ्रमणमा रहेको नेपालको यू-१९ क्रिकेट टिमले पाँचौ अभ्यास खेलमा जित हात पारेको छ।

चौथो खेल जित्ने क्रममा नेपाल यू-१९ ले आन्द्रा यू-१९ लाई ५ विकेटले पराजित गरेको छ। नेपालले यसअघि खेलेका चारमध्ये ३ खेल जितेको थियो भने एक खेल हारेको थियो।

आसिफसँगै कप्तान रोहित पौडेल र भिम शार्कीले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले २२१ रनको लक्ष्य ४८.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो। आसिफले ९७ बल खेल्दै ४ चौका  र १ छक्काको मद्दतमा सर्वाधिक ६७ रन बनाए। रोहितले ४५ र रवि कुमार शाहले ३७ रन जोडे। यस्तै आक्रमक ब्याटिङ गर्दै भिमले ३३ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै नटआउट ४५ रन बनाए।

ओपनर अभिषेक बस्नेत ७ र पवन सर्राफ ३ मा आउट भएपछि १२-२ को अवस्थामा रहेको नेपाली इनिङ्स रवि र आसिफले सम्हाले। यो जोडीले तेस्रो विकेटका लागि ८३ रनको साझेदारी गरे।

त्यसअघि पहिले ब्याटिङ गरेको आन्द्र प्रदेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२० रन बनाएको थियो।

उसका लागि एम रवि कुमारले ४५, पि सुब्रमन्यमले ३८ र बि धनी कुमारले ३७ रन जोडे। नेपालको लागि सूर्य तामाङ र पवन सर्राफले २-२ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell