
काठमाडौँः अन्तर्राष्ट्रिय लगानीकर्ता आकर्षित गर्न आजदेखि काठमाडौंमा लगानी सम्मेलन सुरु हुँदैछ। दुई दिने सम्मेलनमा सहभागी हुन विभिन्न देशका लगानीकर्ता काठमाडौं आइसकेका छन्।
भारत, चीन, इजरायल, भियतनाम, दक्षिण कोरिया, स्पेन लगायतका विभिन्न देशका झण्डै साढे चार सय लगानीकर्ता काठमाडौं आइसकेको लगानी बोर्डले जनाएको छ। ४० देशका ६ सयभन्दा बढी लगानीकर्ता सहभागी हुने सरकारले बताउँदै आएको छ।
अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालभित्र लगानी गर्न उपयुक्त वातावरण भएको सन्देश दिने उदेश्य सम्मेलनको मुख्य रहेको छ। तीन तहको निर्वाचनपछि गठित स्थिर सरकारले केही औद्योगिक व्यवसायिक क्षेत्रका ऐन नियमलाई समेत संशोधन गरेर लगानीमैत्री बनाउन खोजेको छ।
बोर्डका अनुसार सम्मेलनमा एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसञ्चालनसम्बन्धी उपाध्यक्ष होङ ली तथा माइक्रोसफ्ट, अमेजन, पावर चाइना लगायतका कम्पनीका प्रतिनिधि समेत सहभागी हुनेछन्। सम्मेलनका लागि भारतबाट निर्माण सामाग्री, लिड लाइट, हाइड्रोपावर, सडक पूर्वाधार लगायत विभिन्न क्षेत्रमा लगानीकर्ता सहभागिताका लागि आएका छन्।
इण्डियन इन्स्टिच्युट अफ पब्लिक पोलिसीका निर्देशक केसी सुन्दरम, इवाइका साझेदार आर वालाचन्दर, किङ्गर इलेक्ट्रोनिक्सका सञ्चालक विनोद किङ्गर, इन्भारो हाइलाइट प्राइभेट लिमिटेडका निर्देशक देवेन्द्र कुमार सिंह, टेरेफिर्मा इन्टरनेश्नलका अध्यक्ष काजेम सामन्दरी, सिनर्जी इनभारोनिक्सका प्रवन्ध निर्देशक अजे पोद्दार लगायतका लगानीकर्ताको सहभागिता रहेको छ। स्पेनको राजदूतावासबाट चिफ इकोनोमी एण्ड कमर्सियल काउन्सिलर रेजिना सान्चा र मार्केट एनालाइस्ट’बजार विश्लेषक’ सौरवी अरोराको सहभागिता सम्मेलनमा रहनेछ।
सम्मेलनका लागि ७७ वटा आयोजना शोकेश गरिँदैछ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ४० देशका ६ सय बढी लगानीकर्ता आउने जानकारी दिएका थिए। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडा, म्यानमारका लागि लगानी तथा विदेश आर्थिकसम्बन्धी मन्त्री यू थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टविग स्याफर, एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेनले संबोधन गर्नेछन्। बुधबार नै आएका कतिपय लगानीकर्ताले भने बिहीबार बिहानैदेखि व्यवसायिक संस्थासँग छलफल समेत गरेका छन्। नेपाल चेम्बर अफ कमर्शले बिहीबार नै ती देशबाट आएका लगानीकर्तासँग चेम्बर भवनमा छलफल गरेको छ।