
काठमाडौँ : नेपाली खेलाडी रोहित चन्द रहेको क्लब पर्सिजा जाकार्ता इन्डोनेसियन प्रेसिडेन्ट कपबाट बाहिरिएको छ।
बिहीबार भएको क्वाटरफाइनलमा साविक विजेता टिम पर्सिजा खाल्टेङ पुत्रसँग पेनाल्टीसुटआउटमा पराजित भएको हो।
निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो। जसमा रोहितको क्लब पर्सिजा ४-३ ले पराजित भयो। रोहितले पेनाल्टीमा गोल गरेपनि उनका दुई सहकर्मी खेलाडी फित्रा सलाम र ब्रुनो मातोस पेनाल्टीमा गोल गर्न चुके।
गत सिजन रोहितले पर्सिजाबाट यस प्रतियोगिताको उपाधि जितेका थिए।
सन् २०१५ बाट सुरु भएको यस प्रतियोगिता पर्सिब बाङगदुन, अरेमा र पर्सिजाले एक-एक पटक जितेका छन्। २०१६ मा भने प्रतियोगिता भएन।
इन्डोनेसियन लिग वानको च्याम्पियन टिम पर्सिजाले प्रेसिडेन्ट कपमा हारपछि अब एएफसी कपमा ध्यान दिने जनाएको छ।