
बिना मगर, मन्त्री,
खानेपानी मन्त्रालय। नेपाल सरकार।
मन्त्रीज्यू,
जग जाहेर नै छ कि संघर्ष सबैको कठोर नै हुन्छ। त्यसमाथि जनयुद्ध जस्तो पृष्ठभूमि भएकी तपाईँको संघर्षको अवमूल्यन गरिनु दु:खद् कुरा नै हो। त्यसभन्दा बाहेक पनि तपाईँका संघर्षहरु थोरै छैनन्। तपाईँ त घर भित्रै पनि यौटा छुट्टै पारिवारिक युद्ध लडेकी महिला। हुन् त विना मगरको “कठोर संघर्ष” भनेको कमरेड प्रकाशकी श्रीमती बन्नु र प्रचण्डकी बुहारी बन्नुमात्र हो भनेर आलोचना गर्नेहरु पनि भेटिएलान्। तसर्थ बिना मगरको कठोर संघर्षको अवमूल्यन नगरियोस् भन्ने हामी पनि चाहन्छौं।
जनताहरु वाहियात प्रश्न उठाउँछन् मन्त्रीज्यू! तपाईँ नजन्मँदै सुरु भएर दर्जनौं मन्त्री र सचिवहरुले चुसिसकेको परियोजनाको असफलताको जवाफ तपाईँसँग माग्छन्। जनता मुर्ख हुन् मन्त्रीज्यू, त्यतातिर ध्यान कत्ति नदिनुहोला।
बरु, मलाई अलिकती बाटो देखाइदिने कष्ट तपाईँका कारिन्दाले गरिदिए म आभारी हुने थिएँ। जुनसुकै पनि कामको सफलता या असफलताका बारेमा जनताले प्रश्न बहालवाला मन्त्रीसँग नगरे कोसँग गर्ने? त्यो परियोजनाको असफलताको भागीदार वहालवाला मन्त्रीमात्र नहोला तर जनताले अहिले आएर उजुरी गर्नुपर्दा मुद्दा बहालवाला मन्त्रीलाई नहालेर कस्लाई हाल्ने?
असफलताको आरोप मन्त्रालयलाई नलगाए कस्लाई लगाउने? परीयोजना सफल हुँदा फूलमाला तपाईँको भागमा पर्थ्यो, त्यो सफलताको श्रेय तपाईँलाई जान्थ्यो। ठुलै रिसोर्टमा सक्सेस पार्टी गरिने थियो। विदेश भ्रमण तपाईँकै टिमको हुने थियो। अहिले त्यही परियोजना बीचैमा अड्किँदा तपाईँलाई प्रश्न सोध्नसमेत नपाइने? यो त गज्जपै भएन र मन्त्रीज्यू।
जनताले मन्त्रालयमात्र चिन्छन्, त्यहाँको कुर्ची मात्र चिन्छन्। जो त्यहाँ विराजमान हुन्छ देशको सफलता या असफलतामा उही जिम्मेवार हुन्छ भनेर बुझ्छन्। अब भन्नुस् जनताले मेलम्चीको विजोग हुनुमा कस्लाई दोष लगाउने?
रञ्जु दर्शनाको नाममा मन्त्रीस्तरीय विज्ञप्ति आउनु दु:खद् हो मन्त्रीज्यू। आफ्नो असफलता ढाक्नैका लागि जनता तर्साउने काम बन्द गर्नुस्। कि हामीलाई प्रश्न सोध्ने या उजुरी गर्ने ब्यक्ति या कुर्सी देखाइदिनुस्। त्यतै सोधौंला तर प्रश्न उठ्यो भन्दैमा यसरी अत्तालिनु भएन।
आफूले आफैँलाई “दूधले नुहाएको” भनेर स्वघोषणा गर्न सजिलो छ। जिम्मेवारीपूर्वक जवाफदेही हुन धेरै गाह्रो। तालुकवाला मन्त्री भएको नाताले यो परियोजना सुरु भएदेखिकै हरेक कुराको जवाफ तपाईँको मन्त्रालयले दिनै पर्छ। तपाईँ जवाफदेही हुनैपर्छ। विगतका मन्त्रीले भ्रष्टाचार गरेका छन् भने कारवाही सिफारीस गर्ने जिम्मेवारी समेत बोकेको तपाईँको वहालवाला कुर्सी यति कमजोर किन? यौटै मुद्दा र यौटै प्रश्नले तिलमिलाउने किन बनायो तपाईँलाई?
अर्को कुरा, जनतालाई छुट छ मन्त्रीज्यू, चित्त नबुझेको कुरामा फरक मत राख्न। बिरोध या आलोचना गर्न अथवा तपाईँ बिरुद्द मुद्दा दायर गर्न जनता पूर्ण रुपमा स्वतन्त्र छन्। त्यसरी गरिएको विरोध र आलोचनाको काम गरेर जवाफ दिनुपर्नेमा तपाईँ लामो बिज्ञप्ति मार्फत् इतिहास सम्झाउँदै हुनुहुन्छ, रन्जु दर्शनालाई। त्यो इतिहास जुन तपाइकै पार्टीले तपाईँकै ससुरा कमरेड प्रचण्डको अगुवाइमा विर्सने निर्णय गरिसक्यो। त्यो कहाली लाग्दो इतिहास जनताले चाहिँ किन सम्झिराख्नु पर्ने? यो प्रश्न पनि तपाईँ माथि थपिएको छ अब।
भाषणबाजी या पारिवारिक तिकडम अझ जनयुद्ध ताकाको तपाईँहरुको भाषामा भन्ने हो भने त ‘यौन बिचलन’ जस्ता कुराहरुलाई पर राख्ने हो भने ‘रन्जु दर्शना’ पनि तपाईँले भन्दा राम्रोसँग मन्त्रालय चलाउन सक्ने युवती हुन्। तपाईँको जस्तो पारिवारिक पृष्ठभूमि नहोला। त्यसैले उनी त्यति माथिल्लो पदमा चाँडै पुग्न नसक्लिन। तर, मौका पाएको खण्डमा तपाईँको कार्य सम्पादनलाई चुनौती दिन सक्ने खुबी उनमा पनि छ। किनकि संघर्षबाट खारिएको व्यक्ति भन्दैमा तपाईँ सर्वगुण सम्पन्न र असाधारण मान्छे पक्कै हुनुहुन्न र रन्जु दर्शना तपाईँ भन्दा कमजोर पनि नहुन सक्छिन्। तसर्थ, विर्सँदै जानुपर्ने काहालीलाग्दो युद्धकालीन इतिहासको दुहाई दिँदै तपाईँ जवाफदेहिताबाट भाग्न पाउनुहुन्न। मुद्दा दर्ता भएको छ भने त्यसको सामना गर्ने तपाईँको पदीय दायित्व हो।
जनताको दिमाग डाइभर्ट गरेर मुद्दालाई अन्यत्र मोड्नलाई प्रयोग गरिने विज्ञप्तिका भाषा ‘चरित्र हत्या, संघर्षको सम्झना या इतिहासका सम्झना’ इत्यादि अब पुराना भए! समयमा मेलम्चीको पानी काठमाडौंका धारामा किन आइपुगेन? यसको जावाफमा दुई पाना लेखेको भए बरु तपाईँमाथि जनताले विश्वास गर्ने थिए कि। तपाईँका विज्ञप्ति लेख्ने सल्लाहकारहरुसँग गम्भीर छलफल गरेर निष्कर्ष निकाल्नुस्। अब जनतालाई इतिहास सम्झाएर, धम्क्याएर,थर्काएर चुप बनाउन सकिँदैन। जनतालाई सही जवाफ दिएरमात्र शान्त बनाउन सकिन्छ। र, त्यो सही जवाफ बहालवाला पदाधिकारीले मात्र दिन सक्छन्। – धन्यबाद।
तपाईँको शुभचिन्तक
-दुर्गा पंगेनी