PahiloPost

Dec 23, 2024 | ८ पुष २०८१

कबड्डीको पेटेन्ट जोगाउँदै 'साइँली' को अवतरण : दर्शनीय फिल्म (समीक्षा)



ऋषिकेश दाहाल

कबड्डीको पेटेन्ट जोगाउँदै 'साइँली' को अवतरण : दर्शनीय फिल्म (समीक्षा)

मौलिक कथालाई आफ्नै शैलीमा बुनेर रामबाबु गुरुङले कबड्डी बनाए। त्यसले रामबाबुमात्र चिनाएन, मौलिक कथा नेपाली सिनेमाका पर्दामा हेर्न सकिने रहेछ भन्ने स्थापित भयो। 'साइँली' रामबाबु शैलीको नयाँ भर्सनका रुपमा आएको छ। कबड्डीले कायम राखेको 'पेटेन्ट'लाई जोगाउँदै थप अब्बल फिल्मका रुपमा उतार्न सफल भएका छन् साइँलीलाई।

पछिल्लो समय मौलिक फिल्मको सिर्जना जुन रुपमा भइरहेको छ, त्यसले नेपाली फिल्मको गुणात्मक पक्षलाई बलियो बनाउँदै लगेको छ। नेपाल भित्रका विषयवस्तुलाई पस्किनेक्रममा त्यसका बहुआयामिक पाटो पनि खोतलिन थालेको छ। कथा नयाँमात्र चाहिन्छ भन्ने अवधारणाबाट पनि मुक्त हुँदै गएका छन् फिल्म निर्देशक र निर्माता। देखे सुनेकै कथाका फरक दृष्टिकोणलाई प्रस्तुत गर्दा अब्बल फिल्म बन्न सक्छ भन्ने अवधारणा स्थापित गराउने आधार पनि यही हो। साइँली यसकारण पनि बलियो कथा बोल्ने फिल्म बनेको छ।

साइँलीको कथा कुनै नयाँ विषयवस्तुमा आधारित होइन। 'सुन साइली… ४० कटेसी रमाउँला…' बाट प्रेरित हुनुको ‌ओपन सेक्रेट हो – फिल्मले वैदेशिक रोजगारीमा आधारित कथा बोल्छ। वैदेशिक रोजगारीकै विषयलाई लिएर धेरै फिल्म बनिसकेको छ – तीमध्ये कतिले दर्शकको स्मृतिमा छाप छाडे, कति त स्मरणमै रहन योग्य रहेनन्।

रेमिट्यान्स अर्थतन्त्रले नेपाली समाजका अवयवहरुलाई गज्जबले हल्लाएको छ। आर्थिक अभाव, संकट, आम्दानीका सम्भावना नदेखेपछि पुरुषहरुको वाध्यात्मक विदेश पलायनका कथा नेपाली समाजमा 'घर घरकी कहानी…' झै बनिसकेको छ। विदेशको रोजगारीमा पुरुषको साटो महिलाहरु पनि पुग्नेक्रम जारी छ, भलै संख्यात्मक हिसाबले त्यसको आँकडा कम होस्। साइँलीले त्यस्तै युवतीको कथा उतारेको छ।

प्रेमसँग गाँजिएर आएको ऋणको भारी बिसाउने क्रममा उत्पन्न भएका द्वन्द्व नै फिल्मको केन्द्रीय कथा हो। ऋणको भारी र त्यसले उठाउने द्वन्द्वले स्वभाविक रुपमा निराशाजनक भाव प्रकट गर्छ। तर, फिल्ममा सेन्स अफ ह्युमर पर्याप्त छ जसले दर्शकहरुलाई हँसाइरहन्छ। निर्देशक गुरुङले त्यसका लागि सस्तो शैली र द्वीअर्थी शब्द कतै पनि घुसाएका छैनन्। मास अडियन्स सस्तो शैली र द्वीअर्थी शब्दमै रोमाञ्चित हुने भए पनि निर्देशकले त्यसमा लोभ नदेखाएर आफ्नो कन्फिडेन्स प्रस्तुत गरेका छन्।

भाषिक हिसाबले गण्डकीको आञ्चलिकता झल्काउने साइँलीले कथा भने सिंगो देशकै बोल्छ। साइँलीको भूमिकामा रहेकी मेनका प्रधानले भूमिकालाई न्याय गरेकी छिन्। केमिता सिंह र गौरव पहाडी पनि दर्शनीय छन्। दयाहाङ राईको अभिनयमा कुनै खोट छैन। तर, उनको पुरानै ब्रान्ड छाउँछ फिल्ममा। नेपाली सिनेमामा हिरोको परिभाषा फेर्ने उनी सबै फिल्ममा एकैखाले भूमिकामा देखिनु उनकै लागि लामो समयसम्म हितकर नहुनसक्छ।

फिल्म उत्कृष्ट बन्दाबन्दै पनि कमजोरी नभएको भने होइन, जुन गौण नै लाग्छ। पहिलो हाफ लामो हुँदा अन्तिममा फिल्म टुङ्ग्याउने हतारो नेपाली फिल्मका कमजोरी नै हुन्। त्यस्तो रोग यसमा पनि देखिएको छ। शिक्षिकालाई आत्महत्यालाई स्थापित गर्न मेहनत अपुग देखिन्छ। म्यानपावरवालाले माफी मागेको दृश्य अनावश्यक लाग्छ, फिल्मलाई लम्ब्याएको मात्र छ त्यसले। सस्पेन्स र मानवीय समवेदनालाई अझै सशक्त बनाउने सम्भावना रहँदा रहँदै मिस हुन पुगेको छ। स्क्रिप्टमा थोरैमात्र मेहनत भएको भए फिल्म अझै जिवन्त बन्न सक्थ्यो। ऋणका लागि विदेशिन हिम्मतिली बन्ने साइँलीमा देश फर्केर आउँदा 'सशक्तिकरण'को पाटोमा फितलो देखिन्छिन्। ससुराको ऋण सकारेपछि साइँलीले लोग्नेको घरमाथि दावी गर्थिन् भने – महिलालाई हेर्ने पुरुषवादी दृष्टिकोणभन्दा केही फरक आउँथ्यो। रामबाबुको निर्देशकीय शिल्पी यस्तैयस्तै परखका कारण पनि स्थापित भएकाले यसखाले अपेक्षा हुने गर्छ।

मौलिक कथा, स्वभाविक अभिनयको बहाव, मधुर संगीत र अनावश्यक ट्विस्ट नहुनुले फिल्मलाई अविराम गति दिएको छ। कबड्डी हेरेर रमाउने दर्शकले मिस गर्न नहुने फिल्म बनेको छ, साइँली। अझ भन्नुपर्दा कबड्डीभन्दा बलियो बनेको छ फिल्म। नेपाली फिल्मको स्तरवृद्धिका लागि यस्ता फिल्मको अपेक्षा सधैं रहन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell