'विदेश गएर बिर्सेको र पैसा मागेर ल्याङल्याङ गर्नेहरुलाई यो गीत पठाइदिन्छु,' एकजनाले बिदेशबाट रुँदैरुँदै खुसी साटे 'मिस्टर डी'सँग।
'खाडी' शीर्षकको गीतले विदेशिएका युवाको मन छोएकोमा खुशी भए मिस्टर डी।
त्यसपछि देखाए युट्युब कमेन्ट।
'आँशु आयो यार ... साला एस्तै भो लाइफ़ ...। तर चाँडै फर्किन्छु घर .. सही छ ब्रो... किप इट अप... लभ फ्रम एबोर्ड,' प्रेम थापाले लेखेका रहेछन्।
प्रेम सुब्बाको कमेन्ट त्यस्तै, 'एकदम दामी दिनको दश पटक त हेर्छु। तैपनि चित्तै। र्याप भनेको यस्तो पो। 'हारे आमा हारे मैले जित्नै सकिनँ, रुख थियो पैसाको मैले टिप्नै सकिनँ।'
सुम्निमा पोखरेले पनि हौस्यायो मिस्टर डीलाई। लेखेकी रहेछिन्, 'जन्मेको ठाउँ हुर्केको ठाउँ र आफन्त वरिपरि बसेको मान्छेलाई गाह्रो हुन्छ नि सबै छोडेर विदेशिनलाई। तर, बाध्यता नै आइपर्छ। विदेशिनुभन्दा अर्को उपाय पनि हुन्न। पुरै इमोसनल पारिदियो गीतले।'
'खाडी' मा यस्तै प्रतिक्रिया दिने गरेका छन् दर्शकले। १५ मार्चमा अप्लोड गरेको गीत यो स्टोरी तयार पार्दासम्म करिब १० लाख पटक हेरिसकेका छन्।
गीतमा खाडीको दु:खको कथा छ।
खाडीबाट फर्केका एक जनालाई भेटेका रहेछन्। गफिँदै जाँदा उनले विदेशका दु:खबारे बताएका थिए। उनी ती कुरालाई नलेखी बस्न सकेनन्। अनि बन्यो 'खाडी'।
एकान्त कोठा। मनमा विभिन्न भावनाहरु। त्यही भावनालाई मिस्टर डी कापीमा कोर्थे। अनि त्यही रचनालाई र्यापमा ढाले र गीत गाउन थाले। त्यसपछि बने उनी र्यापर 'मिस्टर डी'।
हुन त मिस्टर डीलाई चिनाएको र्याप गीत भने 'गोबर ल्याँठ' हो।
उक्त गीतमा उनको वास्तविकता झल्किन्छ। उनी र्यापमा आफूले जे भोगे त्यही विषयलाई प्रस्तुत गर्न रुचाउँछन्।
'म त मान्छे परे एकदम गोबरल्याँठ
भाग्यले पनि हान्यो मलाई ओभरट्याक
कोही साथी जापान त कोही साथी खाडीमा
कोही साथी अमेरिकामा भाँडा माझिरा'
म चाहि बाउसँगै दिनदिनै बाझिरा'
भोड्काको फोटो हेर्दै लोकलले मातिरा'
गीतका कतिपय घटना आफ्नै जीवनसँग मिल्छ।
सन् २०१२ तिर गायनमा भविष्य खोज्ने समुहको 'सोल्टाज' ब्यान्ड थियो। उनी पनि ब्यान्डका एक सदस्य थिए। ब्यान्डमा उनका साथीहरु कोही बिट बक्स बनाउँथे त कोही बिबोइङ गर्थे। सोल्टाजको युट्युब च्यानल पनि थियो। उनीहरुले कति गीत रेकर्ड पनि गराएका थिए। निकै दु:ख गरेर। तर गीत चर्चामा आएन। अन्तत: युट्युबबाट ती गीतहरु हटाए।
ब्यान्ड मेम्बरहरु भविष्यको खोजीमा विदेशिए।
वीरगंजबाट उनीहरुले र्याप गाउन सुरु गरेका थिए। सुनाए, 'मेरो आमाको सरुवा त्यतै भयो। त्यहाँ हुँदा र्याप हान्न शुरु गरेँ।'
र्याप प्रति उनको मोह बढ्दै थियो। उनले आफै गीत लेखेर करिब १५० 'अण्डर ग्राउन्ड' गीत रेकर्ड गरे मोबाइलमा। तर, ती गीतहरु सबै डिलेट भएको सुनाउँछन् उनी।
अहिले उनीसँग रेकर्ड नभएका २५ थान गीत छन्।
विदेशमा रहेका उनका ब्यान्डका साथीहरु निकै सहयोगी छन् अहिले पनि।
सुरुमा साथीहरु विदेशमा गएपछि उनी दोधारमा परेका थिए। तर, उनलाई र्यापको नशा नै लागिसकेको थियो।
र्याप एडिक्ट भए पनि चुरोट, गाँजा केही खाँदैनन्। त्यसैलाई दर्शाउन उनले हामीलाई र्याप शैलीमै सुनाए, 'मलाई र्यापैले हानिसकेको थियो टाउकोमा। र्याप हानेर एकदिन राम्रो मान्छे बन्छु भन्ने भयो।'
उनलाई अहिले पनि विदेशमा रहेका साथीहरुले सम्झिन्छन्। बिर्सुन पनि कसरी? र्यापामा स्थापित हुन उनीहरुले वीरगंजमा धेरै दु:ख जो गरेका थिए।
'वीरगंजमा गीत रेकर्डिङ गराउने ठाउँ भेट्नै गाह्रो। स्टूडियोको नाममा फोटो स्टूडियो मात्र। बल्लतल्ल भोजपुरी गीत रेकर्डिङ हुने ठाउँ भेट्यौं। टेक्निसयन पनि उता बिहारबाट आएको हुने,' सुनाए, 'हामी फुच्चेहरुलाई चान्स कसले देओस्? चिसो भूँइमा सुतेर पालो कुर्थ्यौं। अनि राति १२/१ बजे अरुको रेकर्डिङ सकेर हाम्रो पालो आउँथ्यो।'
गीत रेकर्ड भएपछि उनीहरुको खुशीको सीमा हुँदैन थियो। र्याप गाएरै दुई - तीन किलोमिटर हिँडेर घर पुग्थे।
केहीदिन पछि गीत तयार भयो। तर, गीत बनेर आउँदा त गीतमा त अटो ट्युन 'क्याउँ क्यूँ' आयो। ती ट्युनहरु भोजपुरी गीतमा हुने एउटा ट्युन रहेछ।
फेरि निराश भए उनी। तर पहिलो गीत रेकर्ड भएको खुशी आफ्नै ठाउँमा थियो।
वास्तविक नाम सन्दीप विष्ट।
र्याप गायनमा वास्तविक नामलाई पछाडि राखेर स्टेज नाम दिने प्रचलन छ। उनलाई पनि मानस सुब्बाले स्टेजको नाम 'मिस्टर डीपीपी' राखिदिएका थिए। पछि युट्युब च्यानल खोल्दा उनले 'डीपीपी'लाई 'मिस्टर डी' बनाए।
अहिले 'मिस्टर डी'को नामले नै उनी चिनिएका छन्।
नाम परिवर्तन गर्नु पछाडि 'र्याप कल्चर' मात्र कारण थिएन। आमिर खानको फिल्म 'सेक्रेट सुपरस्टार'मा झै परिवारको डर पनि थियो। उनले युट्युबमा आफुनो नाम बद्लेका थिए। अहिले उनलाई यही नाम नै प्यारो लाग्न थालेको छ।
शुरुमा उनले 'संघर्ष' बोलको गीतलाई मिस्टर डीको युट्यबु च्यानलबाट अपलोड गरे। तर, गीतलाई दर्शकले त्यति सुनेनन्। आफैले अपलोड गरेको गीत सुन्ने आफू मात्रै भएको आभाष हुन्थ्यो उनलाई।
भ्यूज पनि दुई तीन सयमात्र हुन्थ्यो। अहिले त उनको हरेक गीतमा लाख बढीको भ्यूज हुने गर्छ।
उनको 'नाच वसन्ती', 'शनिबार', 'बन्दै छ नेपाल' लगायतका र्यापलाई दर्शकले धेरै रुचाएका छन्।
'नाच वसन्ती डान्सिङ गीत हो। डान्सिङ नम्बर गाउँदै आएका उनले लेखेको 'खाडी' मा भने विदेशीका मानिसको पीडा छ। यो गीत सुनेर विदेशमा रहेकालाई नेपालका मानिसले बारम्बार पैसा नमागोस् भन्ने उनको इच्छा छ। मिस्टर डी विदेशीएका दाजुभाइहरुको दु:खलाई सबैले बुझोस् भन्ने अपेक्षा राख्छन्।
'बुढापाकाले पनि र्याप सुनिदिओस्'
चर्चित भइसकेका उनलाई चर्चामा आउने रहर छैन।
अरु जस्तै दुई छाक खान दौडिरहेको भन्दै उनी भन्छन्, 'मलाई चर्चा चाहिँदैन। जो जति नै सेलेब्रेटी भए पनि त्यही हात मुख जोड्नको लागि त हो। जे सिक्ने समाजबाट सिक्ने। अनि जिन्दगीबाट सिक्ने। त्यही कुरालाई र्यापमा राख्छु।'
उनी जति सक्दो धेरै वृद्धवृद्धालाई आफ्नो र्याप सुनाउन चाहन्छन्। उनको र्यापमा 'पश्चिमी र्यापमा' प्राय प्रयोग हुने भद्दा र अश्लील शब्दहरुको प्रयोग हुँदैन। उनी आफैँ पनि र्यापमा अश्लील शब्दको प्रयोग मन पराउँदैनन्। सुनाए, 'मेरो सोच भनेको चाहिँ बुढापाकाले पनि सुनोस् भन्ने हो। कन्सर्टमा जाँदा बुढापाकाहरु आएको देख्दा खुशी लाग्छ।'
र्यापमा नेपालीपन हुनुपर्ने तर्क गर्छन् मिस्टर डी। भने, 'मलाई र्यापमा छाडा शब्दको प्रयोग मनपर्दैन, म चाहिँ राख्दिन।'
'बन्दै छ नेपाल'बाट उनलाई स्टेज कार्यक्रमको अफर आउन थाल्यो। त्यसपछि उनले आफूले गर्दै आएको काम छाडे।
'बन्दै छ नेपालमा नेपालीले खेपिरहेको कहानी हो भन्छन् उनी। उनका अधिकांश र्यापहरुमा सुमन तामाङको संगीत संयोजन हुन्छ।
एक समय परिवारको डरले आफ्नो पहिचान लुकाएर 'मिस्टर डी' बनेका सन्दिपलाई घरका सबैको साथ छ। अहिले उनका तीन दिदी र आमाले उनका र्याप सुन्न थालेका छन्।
बुबाले सानैमा छोडेर गएदेखि आमा र उनको काँधमा परिवारको जिम्मेवारी आयो। उनका बुबाले अर्की श्रीमती लिएर जाँदा उनी कक्षा ४ पढ्थे।
'कोही थिएन। आश लाग्थ्यो बाउ आउँछ भनेर। कति ठाउँमा बुबा आउनुहुन्छ भनेर कुरेर बस्थेँ,' भावुक हुँदै सुनाए उनले।
तर, त्यो दिन कहिल्यै आएन।
वीरगंजमा एसएलसी सकाएका उनले प्लस टु चाहिँ हेटौंडामा सकाए। त्यसपछि उनले पढाइलाई निरन्तरता दिन सकेनन्। उनलाई त्यतीखेरसम्म पनि बुबाको पर्खाइ थियो। भन्छन्, 'पछि त बानी पर्दै गयो।'
सानैदेखि आमाको साथ पाएका उनलाई आमा शब्द नै सर्वश्रेष्ठ लाग्यो। पछि उनले बुबा चाहिने आधार देखेनन्।
र्यापको लागि दु:ख
उनले र्याप गाउन थालेको ८ वर्ष मात्र भयो। २ वर्ष यता उनी चर्चामा छन्।
सबैभन्दा धेरै दु:ख नै र्यापको लागि गर्नुपर्यो उनले। 'म काम गर्थें। कामको पैसा घरमा दिनुपर्थ्यो। घरमा पैसा दिएर पनि हल्काफुल्का पैसा बचाएर र्याप निकाल्थेँ। म्यूजिक भिडियो बनाउन त झनै धेरै खर्च,' उनले भने।
गोबर ल्याँठका लागि नै ७० हजार खर्च भएको उनी सुनाउँछन्। 'र्यापका लागि घरबाट माग्नु कसरी? त्यसको लागि ओभर टाइम गर्थें, गाडी लोड गरेँ। तीन महिना मेहेनत गरेर युट्युबले दिने भनेको लाइक र डिसलाइक हो,' हाँस्दै सुनाए।
मोफसलबाट चर्चामा मिस्टर डी
उनी मोफसलबाटै लोकप्रिय बनेका र्यापर हुन्। भविष्य बनाउन राजधानी नै आउनुपर्छ भन्ने उनलाई लाग्दैन। 'मुठ्ठी बनाउन समय लाग्छ। मुठ्ठी कहाँ प्रयोग गर्ने त्यसमा पनि अक्कल लगाउनुपर्छ। म र्यापकै लागि भनेर अहिले पनि मरी मेटिरहेको छु,' उनले भने।
उनको 'गोबर ल्याँठ'देखि छ वटा गीत लगातार चर्चामा आए।
'हुनुपर्छ इच्छा, आँखा अघि नै छ विध्या' भन्ने यम बुद्धको गीतको लाइनलाई उनी सँधै सम्झिरहन्छन्। र्याप क्षेत्रमा यम बुद्धको ठूलो योगदान रहेको बताउँछन्। यमबाट प्रभावित उनी 'नेप्साइडेज'का गीतहरु पनि सुन्न रुचाउँछन्।
अहिले उनको लागि र्याप नशा नै भएको छ। उनी आफ्नो कन्सेप्टको भिडियोलाई न्याय दिन र्यापमा आफै फिचर्ड हुने गर्छन्।
अहिलेका र्यापरहरुको र्याप सन्न भने उनी छुटाउँदैनन्। र्यापको धेरै प्रकारको स्रोता हुने भन्दै उनी 'च्यातेको कपडा लगाउने मात्रै र्याप इन्स्ट्रीका नहुने उनले तर्क गर्छन्। अहिले र्याप इन्डस्ट्री भन्नाले ट्याटू खोप्ने, कपाल पाल्ने युवाको जमात भन्नेहरु सोच्नेहरु धेरै रहेको उनको बुझाइ छ।
अभाव नै अभावकाबीचमा पनि उनले र्यापमा आफूलाई अगाडि ल्याएका छन्। विगत सम्झँदै सुनाए, 'कुनै बेला युट्युबमा गीत अप्लोड गर्न आउँथेन। घरमा कम्यूटर थिएन। त्यतिखेर याहु आइडी बनाउन पनि नआउने। सानो घरमा कम्यूटर के टिभी त हुन्थेन। त्यसरी नै बित्यो समय।'
युट्युब राम्रो प्लेटफर्म
उनको लागि राम्रो प्लेटफर्म बन्यो युट्युब। भन्छन्, 'कलाको कदर नभएको देश हो मेरो। चाकडी गर्नेको गीत बज्छ। नेपाली मिडियामा गीत बजाउन पैसा हुनुपर्छ।' त्यसैले टिभीलाई थप्पड हान्न युट्युब आएको बताउँछन् उनी।
र्यापहरु चल्न छोड्यो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा उनको जवाफ यस्तो रह्यो : 'मलाई काम गर्न लाज लाग्दैन। सर्टिफिकेटको घमण्ड छैन। फर्केर सिमेन्टी बोकेर पनि अथवा लेबर काम गरेर पनि जिन्दगी बिताउन सक्छु। अझै जिन्दगी बुझ्ने क्रममा छु।'