PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मुद्दा र भूकम्पले थला परेको एभरेष्ट होटेल जेठबाट सञ्चालनमा, धमाधम हुँदैछ पुनर्निर्माण



सुदर्शन सापकोटा

मुद्दा र भूकम्पले थला परेको एभरेष्ट होटेल जेठबाट सञ्चालनमा, धमाधम हुँदैछ पुनर्निर्माण

काठमाडौँः २०७२ को भूकम्पपछि बन्द भएको नयाँ बानेश्वरस्थित एभरेष्ट होटल आगामी जुन १ (जेठ १८ गते) बाट सञ्चालनमा आउने भएको छ। ७५ करोड रुपैयाँ बैंक ऋण लिएर होटलले धमाधम पुनर्निर्माण, डिजाइनलगायतको काम गरिरहेको छ।

पारिवारिक मुद्दा मामिला अदालतमा प्रवेश गरेपछि सञ्चालनमा अप्ठेरो परिरहेका बेला भूकम्प गएपछि होटल बन्द भएको थियो। गत असोज २४ मा सर्वोच्चले मुद्दा टुङ्गो लगाइदिएपछि होटेल पुनः सञ्चालन गर्न निर्माण थालिएको हो।

भूकम्पका कारण होटलको पाँच वटा पिलरमा समस्या देखिएको थियो। जापानी विशेषज्ञ लगाएर मर्मत काम सकिएको छ। जापानको प्रख्यात विशेषज्ञ 'मियामोटो'ले होटलको सम्पूर्ण संरचनागत काम गरेको थियो। होटलका पाँच वटा पिलर 'रेट्रोफिटिङ' गरिएको छ। सरकारी निकायले भौतिक संरचना पुनर्निर्माणपछि त्यसलाई स्वीकृत गरिसकेको छ।

'अहिले आन्तरिक सजावटको काम भइरहेको छ। अझै केही संरचना निर्माण गर्न बाँकी छु होटलका व्यवस्थापक तथा लगानीकर्तामध्येका एक मिखाइल लारीले भने, 'हामी जुन १ बाट होटेल सञ्चालन गर्ने तयारीमा छौँ।'

होटेल छिर्ने मुख्य गेट सारिएको छ। होटलको छतमा हरियाली पार्न धेरै मात्रामा माटोको प्रयोग गरिएको थियो, अहिले त्यसलाई हटाइएको छ। संरचनालाई हलुका बनाइएको छ। कोठाको फर्निसिङ भइसकेको छ। होटेलमा कुल १६६ वटा कोठा छन्।

'पाँचतारे होटलको एउटा कोटा पूर्ण रूपमा तयार पार्न डेढ करोड रुपैयाँसम्म लाग्छ। पुरानै संरचना भएकाले फर्निसिङका लागि कम खर्च भयो' होटेल स्रोतले भन्यो, 'नयाँ बनाउने हो भने कुल साढे दुई अर्ब खर्च लाग्छ तर पुरानो संरचनामा नै काम भएकाले ८० करोड रुपैयाँमा होटेल पूर्ण रूपमा तयार हुँदैछ।'

८० करोडमध्ये पाँच करोड चालू पूँजी हुनेछ।

होटेल पुर्निर्माण तथा सञ्चालनका लागि जनता बैंकले ऋण लगानी गरेको छ। बैंकले ७५ करोड रुपैयाँ ऋण दिएको छ, यसमध्ये ५२ करोड रुपैयाँ प्रयोग भइसकेकोछ। होटेल स्रोतका अनुसार, १२ करोड रुपैयाँ निर्माणका लागि प्रयोग भएको छ भने ८ करोड रुपैयाँ ब्याज पूँजीकरण भएको छ। ५० करोड रुपैयाँ पुराना ऋणहरू भुक्तानीका लागि प्रयोग हुने छ।

निर्माणका सबै काम सकिएपछि होटललाई पाँच करोड चालु पुँजी आवश्यक पर्छ। होटलले लिएको ऋण प्रति कोठा ५२ डलरमा मात्रै बिक्री गर्न सके पनि भुक्तानी हुन्छ। अहिले पाँचतारे होटलको न्यूनतम कोठको दर १०० डलर छ।

होटेलमा सञ्चालकहरूको जनता बैङ्कमा ७५ करोडबाहेक लुम्बिनी विकास बैंकलगायत केही वित्तीय संस्थाहरूमा अरू पाँच करोड गरी कुल ८० करोड रुपैयाँ ऋण छ। होटेल पुनर्निर्माण गर्न लगानीकर्तालै आफ्नो केही स्वपूँजी पनि प्रयोग गरेका छन्। 

भारतीय नागरिक नज्मा लारी र मस्कुर लारीको प्रमुख लगानी रहेको होटलको बानेश्वरबाहेक अन्य ठाउँमा पनि स्थिर सम्पत्ति छ। बानेश्वरको सम्पत्ति धितो राखेर जनता बैंकले ऋण प्रवाह गरेको छ।

होटेलमा यसअघि कर्मचारी तथा मजदुरको पनि समस्या थियो। सरकारी पहलमा कर्मचारी समस्या समाधान भइसकेको व्यवस्थापन स्रोतले जानकारी दियो।

लामो समयदेखि लारी परिवारले नै व्यवस्थापन सञ्चालन गरेकाले यसपालि पनि आफैँले व्यवस्थापन नेतृत्व गर्ने स्रोतले जानकारी दियो।

होटेल ३२ रोपनीमा फैलिएको छ। २०३७ सालमा उद्योग विभागबाट सञ्चालन स्वीकृति लिएको होटललमा सुरुको लगानी मकबुल अहमद लारीको थियो। अहिले भने मकबुलका भतिजा मस्कुर र भतिजी बुहारी नज्माको लगानी छ। यसबाहेक छोरा मुजब्फर अहमद लारीको पनि थोरै शेयर हिस्सा छ।

२०६१ जेठ ४ मा होटलका मुली मकबुलको निधन भएपछि उनका छोरा मुजब्फरले बुबाको शेयर आफ्नो नाममा हस्तान्तरण गर्न मस्कुर र नज्मालाई भनेका थिए। उनीहरूले काकाले पहिले नै त्यो शेयर आफूलाई बेचेको भन्दै नामसारी गरिदिएनन्। त्यसपछि मुद्दा अदालतमा प्रवेश गरेको थियो।

इन्भेष्टमेन्ट बैंकमार्फत बुबाले बेचेको शेयरको पैसा भुक्तानी भएको देखिएपछि अदालतले नज्मा र मस्कुरकै हक लाग्ने फैसला गरिदिएको थियो। अदालतबाट मुद्दा टुङ्गो लागेपछि बल्ल मस्कुर र नज्माले भूकम्पले भत्काएको पूर्वाधार पुनर्निर्माण गरेर पुनः सञ्चालन गर्न लागेका हुन्। मस्कुर भने लागुऔषध काण्डमा मुछिएकाले फरार छन्।

होटेलमा अहिले रङरोगनको काम पनि चलिरहेको छ। साजसज्जाका लागि इन्टेरियर डिजाइनर खटाइएको छ भने किचनको पूर्वाधार बनाउन धमाधम काम भइरहेको छ। साथै पार्किङलाई व्यवस्थित गर्ने काम पनि भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell