PahiloPost

May 15, 2024 | २ जेठ २०८१

'झारपात'हरुले अमेरिकामा मुद्दा हालेछन्, यस्ता झारपातहरु उम्रिरहन्छन्, बेलाबेलामा टिपेर फाल्नुपर्छ : प्रचण्ड



विधुर ढकाल

'झारपात'हरुले अमेरिकामा मुद्दा हालेछन्, यस्ता झारपातहरु उम्रिरहन्छन्, बेलाबेलामा टिपेर फाल्नुपर्छ : प्रचण्ड
फाइल फोटो

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले 'झारपातहरु' परिवर्तनलाई उल्ट्याउन लागि परेको बताएका छन्।

रिपोर्टर्स नेपालको वार्षिकोत्सव कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफूलाई पटक-पटक हत्यारा भन्दै प्रश्न गरिरहेको दुःखेसो व्यक्त गरे।

'यस्तो नरमाइलो हालै म अमेरिका जाँदा पनि व्यहोरे। प्रचण्ड हत्यारा हो पक्राउ गर्नुपरो भन्दै उजुरी हालिएछ,' उनले अगाडि भने, 'धन्न अमेरिकी सरकारले नो इन्भेष्टिगेसन भनेको थियो नत्र जे पनि हुने रैछ। अमेरिकी जनताले मलाई सहयोग गरे। तर नेपालीहरुले नै मलाई अपराधी हो हत्यारा हो भन्दै पक्राउ गर्नुपर्छ भन्दै उजुरी हाले।'

उनले आफूविरुद्ध उजुरी परेकै ठाउँको संसदमा छलफल गर्न पाएकोसमेत उनले बताए।

'संयोग कस्तो भने जहाँ उजुरी हालिएको थियो म त्यही शहरमा पुगेको थिएँ। त्यहाँका संसदका प्रतिनिधिहरुसँग पनि छलफल भयो,' प्रचण्डले भने, 'देशभित्र छलफल हुन आलोचना हुनु एउटा कुरा थियो तर विदेशमा नै नेपालको शान्ति प्रक्रियालाई खराब रुपमा प्रस्तु गर्न खोजियो। एउटा विदेशी राष्ट्रमा बसेर शान्ति प्रक्रियाको नेतृत्वकर्तालाई अपराधीको रुपमा व्याख्या किन गरिँदै छ?'

त्यहाँको नेपाली कांग्रेसको कमिटीले 'प्रचण्ड'लाई हत्याराको रुपमा प्रस्तुत गरेकोमा उनले कांग्रेसप्रति प्रश्न गरे।

'वासिङ्टन डिसीमा बस्दै गर्दा त्यहाँको कांग्रेसको कमिटीले निर्णय गरेर प्रचण्डलाई हत्यारा हो। पक्राउ गर्नु पर्छ भन्ने निर्णय गरेको रहेछ,' उनले अगाडि भने, 'यदि त्यो निर्णय गर्ने कांग्रेसकै कमिटी हो भने त्यो शान्ति प्रक्रिया र प्रचण्डविरुद्ध मात्र होइन। शान्ति प्रक्रियाको हस्ताक्षर कर्ताको नाताले गिरिजा प्रसादलाई पनि हत्यारा भनिएको हो।'

उनले आफू यस्ता कुराबाट नडराउनेसमेत बताए। 'मलाई यी कुराबाट डर छैन। मर्ने कुराबाट जेल जाने कुराबाट। मलाई लोभ मोह पनि छैन,' प्रचण्डले अगाडि भने, 'प्रचण्ड आत्तियो डरायो भन्ने होला त्यो होइन। यो एउटा प्रवृति हो। यसलाई रोक्नुपर्छ। शान्ति प्रक्रियाको नेतृत्व गर्ने नेता कार्यकर्तालाई अपमानित गरे यो सम्पूर्ण प्रक्रियामा नै असर गर्छ।'

उनले शान्ति प्रक्रियालाई नै अपराधको रुपमा ब्याख्या गरिएको भन्दै प्रश्न गरे, 'के शान्ति सम्झौता गर्नु मेरो अपराध थियो?'

सत्ताबाट निकालिएकाहरु इतिहासको मञ्चबाट ओझेल परेकाहरु परिवर्तनलाई उल्ट्याउन सक्रिय हुन थालेको बताए। 'मलाई आफ्नो लागि डर होइन चिन्ता हो यस्ता झारपातहरु बेलाबेलामा उम्रिन्छन्। एकपटक उखेलर मात्र हुँदैन' उनले अगाडि भने, 'बालीमा झारपातहरु उम्रिन्छन्। बेलाबेलामा टिपेर फाल्नुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell