PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

नेपालको सबैभन्दा ठूलो बास्केटबल लिग एनबीएल बैशाख दोस्रो साताबाट, ८ टिमले डबल राउण्ड रोविन लिगमा खेल्ने



पहिलोपोस्ट

नेपालको सबैभन्दा ठूलो बास्केटबल लिग एनबीएल बैशाख दोस्रो साताबाट, ८ टिमले डबल राउण्ड रोविन लिगमा खेल्ने

काठमाडौं : नेपाली बास्केटबल इतिहासकै सबैभन्दा ठुलो प्रतियोगिता नेपाल बास्केटबल लिग एनबीएल २०७६ बैशाख दोस्रो साताबाट सुरु हुने भएको छ।

आयोजक प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले सोमवार पत्रकार सम्मेलन गर्दै दोस्रो संस्करणको लिग बैशाख ७ गतेदिख सुरु गर्ने जनाएको हो। यस्तै आयोजकले डबल राउण्डको खेल तालिका समेत सार्वजनिक गरेको छ।

आयोजकले प्लेअफ राउण्ड र महिला लिगको तालिका पनि चाँडै सार्वजनिक गर्ने जनाएको छ।

गत वर्ष क्वीक्स बास्केटबल लिगको रुपमा आयोजना भएको यस लिगलाई दोस्रो संस्करणमा नेपाल बास्केटबल लिगको रुपमा सञ्चालन गर्न लागिएको पिडिसिएनका अध्यक्ष अरुण कार्कीले जानकारी दिए।

८ टोलीको सहभागिता रहने एनबीएल होम एण्ड अवेका आधारमा खेलाइनेछ। यस्तै खेलहरु डबल राउण्ड रोविन लिगको आधारमा सञ्चालन हुनेछ।

५५ दिनसम्म चल्ने लिगमा कूल ६८ खेल हुनेछ। लिग बैशाख ७ गतेबाट आयोजना हुने जनाएको छ ।

डबल लिगपछि अंकतालिकामा शीर्ष चार स्थानमा रहने चार टोलीले प्लेअफमा स्थान बनाउनेछन्।

प्ले अफमा पहिलो र दोस्रो हुने टोलीले पहिलो क्वालिफायर खेल्नेछ र विजेता फाइनलमा पुग्नेछ भने उपविजेताले दोस्रो क्वालिफायर खेल्न पाउनेछन। लिगमा तेस्रो र चौथो हुने टोलीले एलिमिनेटर खेल्ने छ र त्यसको विजेताले फाइनल प्रवेशको लागि दोस्रो क्वालिफायर खेल्नेछ।

प्रतियोगिताको विजेताले २ लाख  र उपविजेताले १ लाख पुरस्कार पाउने छन्। यस्तै मोस्ट भ्यालुएबल खेलाडी र सर्वाधिक स्कोर गर्ने खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।

लिगको महत्वपूर्ण पक्षको रुपमा यस पटक खेलाडी लगायत सबैको इन्सुरेन्स रहेको पिडिसिएनका अध्यक्ष कार्कीले बताए। 'प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक, रेफ्री, भोलेन्टियर गरी १ सय ६८ जनाको प्रतिव्यक्ति ५ लखको दरले १९ करोंड बराबरको विमा गरिएको छ। यसमा सानिमा जनरल इन्सोरेन्सले सहयोग गरेको छ।' कार्कीले भने।

पहिलो संस्करण गरेपछि उत्साहित बनेका कार्कीले यस प्रकारको लिगले घरेलु बास्केटबलको विकासमा सहयोग गर्ने बताए। 'पहिलो सिजनमा यसले राम्रो प्रभाव पारेको छ। यस पटक अझै राम्रो छाप छाड्ने गरी लिग गर्दैछौँ।' कार्कीले भने।

यस्तै लिगको समयमा थप रोमाञ्चकता प्रदान गर्न अलस्टार  गेम र सेलेब्रेटी गेम गर्ने समेत उनले जानकारी दिए।

लिगलाई कंगारु फाउण्डेसनले मुख्य प्रायोजन गरेको छ।

 

३ टोली नयाँ

यस संस्करणमा साविक विजेता गोल्डेन गेट इन्टरनेशनल कलेजसहित ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमा तीन टोली नयाँ छन्। विभागीय टोली नेपाल पुलिस क्लब, टाइम्स इन्टरनेशनल कलेज र रोएल बास्केटबल क्लब नयाँ टिम रहेको कार्कीले बताए। यस्तै अन्य टिममा गत वर्षको उपविजेता त्रिभुवन आर्मी क्लब, बुढानिलकण्ठ नगरपालिका बास्केटबल क्लब, कीर्तिपुर बास्केटबल क्लब, र साउथ साइडर्स बास्केटबल क्लब छन्।

प्रतियोगिताको पहिलो दिन गोल्डेन गेट इन्टरनेशनल कलेज र त्रिभुवन आर्मी तथा नेपाल पुलिस र टाइम्स इन्टरनेशनल क्लबबीच खेल हुनेछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell