PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

एएफसी कपका लागि अभिषेक रिजाल र देवेन्द्र तामाङ मनाङमा



पहिलोपोस्ट

एएफसी कपका लागि अभिषेक रिजाल र देवेन्द्र तामाङ मनाङमा

काठमाडौँ : एएसी कपका लागि मनाङ मर्स्याङ्दी क्लबले अभिषेक रिजाल र देवेन्द्र तामाङलाई अनुबन्ध गरेको छ।

एसियाली फुटबल महासंघले एसियाको विकासशिल राष्ट्रहरुको क्लबको लागि आयोजना गर्ने दोस्रो श्रेणीको प्रतियोगिता एएफसी कप अन्तर्गत समूहको पहिलो खेल मनाङले बंगलादेशी क्लब अबहानी लिमिटेडसँग यही बुधवार घरेलु मैदानमा खेल्दैछ।

मनाङले उक्त खेलको लागि २१ खेलाडीको नाम सार्वजनिक गरेको छ। जसमा यसअघि घरेलु लिगमा पुलिसबाट खेलेका मिडफिल्डर रिजाल र डिफेण्डर तामाङलाई समावेश गरिएको छ।

मनाङले सोमवार पत्रकार सम्मेलन गर्दै एएफसीको कपको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

यसबाहेक अधिकांश खेलाडीहरु भने ए डिभिजन लिग खेलेकै खेलाडी छन्। मनाङले ए डिभिजन लिगको च्याम्पियन हैसियतमा एएफसी कप खेल्न लागेको हो।

मनाङको कप्तानमा विराज महर्जन छन् भने राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरु पनि छन्। जसमा विशाल राई, सुजल श्रेष्ठ, कोमल श्रेष्ठ, देवेन्द्र तामाङ, अन्जन विष्ट, हेमन गुरुङ, शिव श्रेष्ठ छन्। कुनै समय मनाङकै लागि खेलेका र राष्ट्रिय टिमको समेत प्रतिनिधितव गरिसकेका शिवले चार वर्षपछि फुटबलमा पुनरागमन गर्दैछन्। उनी बीचमा वैदेशिक रोजगारीका लागि गएका थिए।

यस्तै मनाङले लिग जित्दा टिममा रहेको आसिफ ओलावाले, एडेलेजा, अजिद साइद र मुहम्मद असिफलाई पनि टिममा राखेको छ।

मनाङ र अबहानी लिमिटेडबीचको खेल बुधवार दिउँसो ३ बजे एन्फा कम्प्लेक्स मैदानमा सुरु हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell