PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

आइपीएल : साम कुरानको ह्याट्रिकमा पञ्जावको शानदार जित, दिल्लीले ८ रनको लागि ७ विकेट गुमायो



पहिलोपोस्ट

आइपीएल : साम कुरानको ह्याट्रिकमा पञ्जावको शानदार जित, दिल्लीले ८ रनको लागि ७ विकेट गुमायो

साम कुरान इन्डियन प्रिमियर लिग आइपीएल २०१९ मा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी बन्दा किंग्स एलेभेन पञ्जावले दिल्ली क्यापिल्समाथि शान्दार जित हात पारेको छ।

नेपाली खेलाडी सन्दीप लामिछानेसहित क्रिस मोरिस र कगिसो रवाडाले उत्कृष्ट बलिङमा दिल्लीले पञ्जावलाई १६६ रनमा रोकेपनि ब्याटिङ खराब हुँदा दिल्ली १४ रनले पराजित भयो। पञ्जावका बलरले उत्कृष्ट बलिङ गरेपछि दिल्ली४ बल बाँकी छँदै १५२ रनमा अलआउट भयो।

पञ्जावलाई जित दिलाउन १९ वर्षीय साम कुरानले ह्याट्रिकसहित ४ विकेट लिए। कुरानले १८औँ ओभरको अन्तिम बल र २०औँ ओभरको सुरुको दुई बलमा विकेट लिए।

पञ्जावले दिएको १६७ रनको लक्ष्य पछ्याएको दिल्ली १६औँ ओभरको समाप्तीमा १३७-३ को बलियो स्थितीमा थियो र जितका लागि २४ बलमा ३० रन आवश्यक थियो। तर मोहम्मद शामी र साम कुरानले त्यसपछि उत्कृष्ट बलिङ गर्दा दिल्लीले थप १५ रन जोड्दा बाँकी ७ विकेट गुमायो। दिल्लीले ८ रनका लागि ७ विकेट गुमाएको थियो।

दिल्लीका लागि रिसभ पन्तले ३९, कोलिन इनग्रामले ३८, शिखर धवनले ३० तथा कप्तान श्रेयास अयेरले २८ रन बनाए। बाँकी खेलाडीले दोहोरो रन जोड्न सकेनन् भने अघिल्लो खेलमा कोलकता विरुद्ध ९९ रन बनाएका पृथ्वी श, उत्कृष्ट बलिङ गरेका सन्दीप लामिछाने, क्रिस मोरिस र कगिसो रवाडा अनी हर्सल पटेल शुन्यमा आउट भए।

पञ्जावका लागि साम कुरानले २-२ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए। यस्तै कप्तान रवि आश्विन र मोहम्मद शामीले २-२ विकेट लिए।

त्यसअघि घरेलु मैदान मोहालीमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६६ रन बनाएको थियो। युनिभर्स बोसको रुपमा चर्चित क्रिस गेल विनै ब्याटिङ गरेको पञ्जावका लागि डेविड मिलरले ३० बल खेल्दै ४ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ४३ रन बनाए। यस्तै सफ्राज खानले ३९, मन्दिप सिंहले नटआउट ३९ र साम कुरानले २० रन जोडे।

बलिङमा दिल्लीका क्रिस मवरिसले ३ तथा सन्दीप र रवाडाले २-२ विकेट लिए। किफायती बलिङ गरेका सन्दीपले २७ रन खर्चे।

तेस्रो जितपछि पञ्जाव ४ खेलबाट ६ अंक जो८दै अंकतालिकामा दोस्रो स्थानमा छ। समान ६ अंक रहेको चेन्नाई रनरेटको आधारमा शीर्ष स्थानमा छ। ३ खेल खेलेको चेन्नाई यस सिजन अपराजित रहने एक्लो टिम समेत हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell