PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

एसइइ दिएका विद्यार्थीलाई झापाका एसपी मैनालीको पत्रः फेसनको रूपमा लागू औषध प्रयोग नगरौं



पहिलोपोस्ट

एसइइ दिएका विद्यार्थीलाई झापाका एसपी मैनालीको पत्रः फेसनको रूपमा लागू औषध प्रयोग नगरौं

झापाः सोमवार बिहान प्रहरीको एउटा समूह झापाका प्रत्येक माध्यमिक शिक्षा परीक्षा (एसइइ) भइरहेको परीक्षा केन्द्रमा पुग्यो। प्रहरी त्यहाँ परीक्षाको सुरक्षा दिन भने पुगेको होइन। प्रहरीको उपस्थितिको उद्देश्य भने यो पटक अलिक फरक थियो।

प्रहरीका हात हातमा एउटा पत्र थियो। पत्रमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख एसपी दिनेश मैनालीले हस्ताक्षर गरेका थिए। एसइइ दिएर निस्कने विद्यार्थीको हातमा प्रहरीले पत्र थमाएको थियो। 'प्रिय भाइबहिनीहरू मीठो सम्झना अनि धेरै माया' बाट सम्बोधन गरिएको पत्रमा लागू औषधदुर्व्यसनीमा नपर्न र फेसबुक तथा सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान दिन अनुरोध गरिएको थियो।

झापा जिल्लामा एसइइ दिएका १५ हजार ५ सय ८७ जना विद्यार्थीहरूलाई जिल्लाका ५३ वटै परीक्षा केन्द्रमा पुगेर ‘लागू औषध तथा साइबर क्राइम’ विरुद्धको अपराधबारे सन्देश मूलक पत्र वितरण गरेको एसपी मैनालीले बताए।' यो उनीहरूको जीवनको महत्त्वपूर्ण समय हो। उनीहरूलाई राम्रो मार्ग दर्शन गर्न सकियो भने उज्वल भविष्य हुन्छ भनेर हो।'

शिक्षकहरू, अभिभावकहरू, स्थानीय निकायका प्रतिनिधिहरू, समाजसेवी, लगायतको उपस्थिति रहेको थियो। 'मैले झापामा लागू औषध सेवनको समस्या रहेको देखे। त्यसलाई पनि कम गर्नेलाई सचेतना अभियान चलाएको हो,' एसपी मैनालीले भने।

प्रहरीले विद्यार्थीलाई वितरण गरेको पत्रमा लागू औषध सेवन वा कारोबार गर्दा र फेसबुक, ट्युटर लगायत सामाजिक सञ्चालबाट अपराध हुन गए हुने कानुनी कारबाहीको बारेमा समेत उल्लेख गरिएको थियो। प्रहरी र नागरिकको सम्बन्ध विकास गर्ने विद्यार्थी समयमा नै समन्वयको विकास गर्दै लैजाने कामहरू पनि भइरहेको एसपी मैनालीको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell