PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

सर्वोच्च अदालतका न्यायाधीशमा ५ र उच्च अदालतमा १८ जनाको सिफारिस, न्याय परिषद्ले छान्यो कसकसलाई?



पहिलोपोस्ट

सर्वोच्च अदालतका न्यायाधीशमा ५ र उच्च अदालतमा १८ जनाको सिफारिस, न्याय परिषद्ले छान्यो कसकसलाई?

काठमाडौं : न्याय परिषद्को बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा पाँच जनालाई नियुक्तिका लागि सिफारिस गरेको छ।

परिषद्को चैत १९ गते बसेको बैठकले प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डाक्टर मनोजकुमार शर्मालाई न्यायाधीशका लागि सिफारिस गरेको हो।

सिफारिसमा परेका ढुंगाना उच्च अदालत पाटनका मुख्य न्यायाधीश हुन्। त्यस्तै माथेमा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हुन् भने अन्य अधिवक्ताहरु सर्वोच्चमा सिफारिस भएका छन्।

सिफारिस भएका मध्ये कुमार रेग्मी वरिष्ठ अधिवक्ता हुन्। फुयाँल र शर्मा भने अधिवक्ता हुन्।

उच्च अदालतमा १८ जना सिफारिस

यसैगरी परिषद्ले उच्च अदालतमा १७ जनाको नाम न्यायाधीशका लागि सिफारिस गरेको छ। 

न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृतमध्येबाट किरण पौडेल, महेन्द्रनाथ उपाध्याय, रमेश ढकालको नाम सिफारिस भएको छ। पौडेल नायव महान्यायाधीवक्ता हुन्। उनलाई उच्च अदालत पाटनको न्यायाधीशका लागि सिफारिस गरिएको हो।

उपाध्याय सर्वोच्च अदालतका रजिष्ट्रार हुन्। उनलाई उच्च अदालत पाटन, हेटौडा इजलासका लागि सिफारिस गरिएको हो। त्यस्तै ढकाल सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव हुन्। उनलाई उच्च अदालत जनकपुरका लागि सिफारिस गरिएको हो।

पुनरावेदन अदालतका पूर्व अतिरिक्त न्यायाधीशमध्येबाट भने निलम पौडेल सिफारिसमा परेका हुन्। पूर्व अतिरिक्त न्यायाधीश पौडेल उच्च अदालत जनकपुर, राजविराज इजलासका लागि सिफारिसमा परेका हुन्।

त्यस्तै जिल्ला न्यायाधीशहरुमध्येबाट सर्लाही जिल्ला अदालतका न्यायाधीश राजेशकुमार काफ्ले सिफारिसमा परेका छन्। उनलाई उच्च अदालत सुर्खेतका लागि सिफारिस गरिएको हो।

त्यसैगरी रौतहटका जिल्ला न्यायाधीश लेखनाथ ढकाल उच्च अदालत जनकपुर, राजविराज इजालसका लागि सिफारिसमा परेका छन्।

चितवनका जिल्ला न्यायाधीश कुलप्रसाद शर्मा उच्च अदालत पाटनका लागि सिफारिस भएका छन्। ललितपुरका जिल्ला न्यायाधीश बालमुकुन्द दवाडी उच्च अदालत विराटनगरका लागि सिफारिसमा परेका छन्। त्यसैगरी पर्साका जिल्ला न्यायाधीश नागेन्द्रलाल कर्ण सुर्खेत उच्च अदालतका लागि सिफारिस भएका छन्। 

अधिवक्ताहरुबाट ७ जना उच्च अदालतमा सिफारिस भएका छन्। जगतबहादुर थापा र सरलाकुमारी पाण्डे उच्च अदालत पाटनका लागि सिफारिसमा परेका छन्।

विमल सुवेदी उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका लागि सिफारिस भएका छन्। 

रेणुका शाह उच्च अदालत विराटनगरका लागि सिफारिस भएकी छिन्। त्यस्तै डालकुमार खड्का उच्च अदालत पोखराका लागि सिफारिस भएका छन्। उज्वल शुक्ल उच्च अदालत जनकपुर र नवराज थपलिया उच्च अदालत दिपायलका लागि सिफारिस भएका छन्। 

त्यसैगरी विराटनगरमा सेवा वृत्त हुने तयारीमा रहेका न्यायाधीश उमेशराज पौडेलको स्थानमा अधिवक्ता अञ्जु उप्रेती ढकाल सिफारिस भएकी छिन्। उनलाई आगामी वैशाख ३ गतेदेखि नै लागू हुने गरी नियुक्तिको सिफारिस परिषद्ले गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell