PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

त्यो एकैछिनको आँधी जसले १३ वर्षीय साहेबको परिवारका चार जनालाई निल्यो



पहिलोपोस्ट

त्यो एकैछिनको आँधी जसले १३ वर्षीय साहेबको परिवारका चार जनालाई निल्यो

  • सागर बुढाथोकी र बीपी साह -

बारा :  तेह्र वर्षका साहेब अन्सारी आइतबारको आँधीहुरीले तहसनहस बनाएको पुरैनिया गाउँको भग्नावशेष नजिकै टोलाउँदै बसेका छन्। 

सबैभन्दा बढी क्षति पुर्‍याएको फेटा गाउँपालिकाको वडा नम्बर १६ मा आइतबारसम्म अन्सारीको संसार बेग्लै थियो। माया गर्ने बाबु र आमा थिए। हजुरआमा थिइन्। फूपुकी दुई छोरी थिइन्। 

आइतबारको त्यो कालो रात अकस्मात् के भयो- भयो। 

बेस्कन हावा चल्यो। थामिँदासम्म कतिको संसार उजाडिइसकेको थियो। अन्सारीले आफ्नो परिवारका चार जनालाई गुमाए- ६५ वर्षकी हजुरआमा, २७ वर्षकी आमा र १० र ८ वर्षका फूपुकी छोरीहरु। उनीहरु चारै जना घरमै थिए। 

अन्सारी पनि घरमा भएको भए उनी पनि शायदै बच्थे। संयोगले उनको ज्यान जोगियो। 

मुस्लिमहरुको जलसा अर्थात् धार्मिक कार्यक्रमको निम्तो दिन उनलाई परिवारले नानी अर्थात् आमाको आमाको घरमा पठाएको थियो। उनी उतै थिए, त्यसैले यताको आँधीले उनलाई निल्न सकेन। 

यो परिवारमा सबै महिलाको मृत्यु भएको छ भने पुरुषहरु संयोगले बचेका छन्। 

अन्सारीका बुबा हैदर मियाँ वैदेशिक रोजगारबाट फर्किएर घरमै सानोतिनो किरानापसल खोलेर बसेका थिए। आँधी चल्दा उनी घर बाहिर पसलमै थिए। घरभित्र पस्न खोजे तर सकेनन्। 

अहिले उनी घाइते अवस्थामा नारायणी मेडिकल कलेजमा उपचार गराउँदै छन्। 

उनका हजुरबुबा इजहार मियाँ अन्सारी भने जन्नात अर्थात् धर्म प्रचार गर्न चार महिनाका लागि घरबाट निस्केका थिए। यता आँधी चल्दा इजहार गौरमा थिए। 

सितलपुरको मदरसामा चार कक्षमा अध्ययनरत साहेब अन्सारी अहिले विक्षिप्त छन्। उनले सहन सकेका छैनन् अकल्पनीय पीडा।
नानीको घरबाट फर्किएर आफ्नो घर आउँदा घर भग्नावशेष भइसकेको थियो। भोलिपल्ट बल्ल सुरक्षाकर्मीले एक एक गर्दै चार वटा लाश निकाले। 

गौरबाट हजुरबुबा पनि आइपुगे। सोमबार साँझ एकै परिवारका चार जनालाई दफनाइयो। 

प्रकृतिले दिएको पीडा भने साहेबले दफनाउन सकिरहेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell