PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

कर्णालीका कारागारमा पुस्तकालय, आउँदै साहित्यकार



पी बी खड्का

कर्णालीका कारागारमा पुस्तकालय, आउँदै साहित्यकार

सुर्खेत : कर्णाली प्रदेशका कारागारमा पुस्तकालय स्थापना गरिँदैछ। प्रदेश प्रहरी कार्यालयले दश जिल्लाका कैदीबन्दीका लागि पुस्तकालय स्थापना गर्न लागेको हो। करिब पाँच महिनाको ‘कारागारलाई किताव’ अभियानपछि यही २३ गते एक साथ कर्णालीका दश जिल्लामा एक साथ औपचारिक रुपमा पुस्तकालय उद्घाटन हुने डिआइजी महेशविक्रम शाहले बताए।

डिआइजीकै संयोजकत्वमा गठित समिति र जिल्लामा गठित उपसमितिहरु मिलेर जम्मा ८ हजार ३ सय ८८ वटा पुस्तकहरु संकलन गरेको छ। उक्त संकलन गरिएको पुस्तकको मूल्य करिब २१ लाख बराबर हुने डिआइजी शाह बताउँछन्। जसमध्ये कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ५ लाख बराबरको पुस्तक उपलब्ध गराएको छ। कर्णालीका दश जिल्लामध्ये ८ वटा जिल्लामा मात्रै कारागार रहेको छ। तर, मुगु र हुम्लामा पनि कारागार स्थापनाको पहल भइरहेको छ। ती जिल्लाहरुमा पनि प्रहरी कार्यालयमै पुस्तकालय स्थापना भइसकेको उनले बताए। पुस्तकालय स्थापनाको औपचारिक कार्यक्रम सकिए लगत्तै लेखकले कैदीसँग साक्षातकार  गर्ने तय गरिएको छ।

संकलित पुस्तकहरु कैदीहरुको संख्याका आधारमा प्रत्येक जिल्ला कारागारहरुमा पठाएर पुस्तकालय समेत स्थापना गरिएको छ। देशका विभिन्न प्रकाशन र लेखकहरुले उपलब्ध गराएका पुस्तकहरु रहेको शाहको भनाई छ। कैदीहरुलाई नयाँ ज्ञान र सकारात्मक सोचको विकास गर्न जीवन उपयोगी पुस्तकहरु पुस्तकालयमा राखिएको छ।

एक दर्जन साहित्यकार कर्णालीमा आउँदै

कारागार किताव अभियानकै सिलसिलामा राष्ट्रिय ख्यातिप्राप्त साहित्यकार कर्णाली आउने भएका छन्। सुर्खेत कारागारमा साहित्यकार सनत रेग्मी, नयनराज पाण्डे र कवि नवराज पराजुली आउने छन्। त्यस्तै, दैलेखमा शेखर खरेल र उमा नगरकोटी, सल्यानमा रामलाल जोशी, रुकुम पश्चिममा कुमारी लामा, जाजरकोटमा अर्चना थापा र सुविन भट्टराई, कालिकोटमा युग पाठक, डोल्पामा अम्मर न्यौपाने लगायत १४ जना लेखक तथा साहित्यकारहरु आउने डिआइजी शाहले जानकारी दिए।

यस्तै पुस्तकालयको निगरानी र संरक्षणको लागि प्रत्येक कारागारमा ‘बुक क्लब’ समेत गठन गरिएको छ। गठित समितिले कारागारमा प्रत्येक शनिबार कैदीसँग र पुस्तकमाथिको समीक्षा गर्नेछ। कैदीले अध्ययन गरेको पुस्तकको समीक्षा र अध्ययनको आधारमा महिनाभरी सबैभन्दा बढी पुस्तक अध्ययन गर्ने कैदीलाई पुरस्कृत समेत गरिने छ।

त्रिपालमुनि पुस्तकालय

कारागार भवन जिर्ण भएकाले त्रिपालमुनि पुस्तकालय स्थापना गरिएको डिआइजी शाहले बताए। कर्णालीका केही जिल्लाका कारागार भवन जिर्ण हुँदा पुस्तकालय त्रिपालमुनि चलाउन बाध्य भएको उनको भनाई छ।

‘केही जिल्ला कारागार भवन अति जिर्ण अवस्थामा छन्,’ उनले भने, ‘त्यसो भएर हामीले जाजरकोट लगायतका जिल्लामा त्रिपालमुनि भए पनि पुस्तकालय राखेका छौँ।’ अधिकांश कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुने समस्याले भवन अपुग भएको उनी बताउँछन्। कतिपय कारागार भवन जिर्णोद्धार भइरहेको भए पनि पर्याप्त नहुने उनको भनाई छ।

अन्य प्रदेशमा पनि अभियान चलाउन आग्रह

कारागारलाई किताव अभियान कर्णाली प्रदेशमा सफल भएको डिआइजी शाह बताउँछन्। ‘अहिले कर्णालीमा कारागारलाई किताव अभियान सफल भइसकेको छ,’ उनले भने, ‘यो हाम्रो अभियानदेखि सबै प्रभावित बनेको पाइएको छ।’

आफ्नो यो अभियानबाट प्रभावित भएर अन्य प्रदेशमा समेत अभियान सञ्चालनका लागि अनुरोध भइरहेको उनले बताए। ‘हामीलाई अहिले विभिन्न प्रदेशका जिल्ला कारागारबाट यो अभियान चलाउनु पर्यो भनेर खबर आएको छ,’ उनले भने, ‘वीरगंजमा त्यत्रो साढे १२ सय कैदी भएको ठाउँबाट पनि खबर आएको छ। पाँच नम्बर प्रदेशबाट, सुदूर पश्चिमबाट अभियान चलाउन अनुरोध गर्नुभएको छ। तर, अहिले नै जाने नजाने हामीले केही निर्णय गरेका छैनौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell