PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

राहतको नाममा एक पोका चाउचाउ, त्यो लिन पनि तानातान : विपत्तिमा परेको बारामा देखिएका सात दृश्य



पहिलोपोस्ट

राहतको नाममा एक पोका चाउचाउ, त्यो लिन पनि तानातान : विपत्तिमा परेको बारामा देखिएका सात दृश्य

  • सागर बुढाथोकी र बीपी साह

बारा : आइतबार रातिको विनाशकारी आँधीबेहरीले आक्रान्त बनेको बाराको फेटा गाउँपालिकाका विभिन्न वडाहरुमा व्यवस्थित किसिमले राहत वितरण हुन सकेको छैन। पूरै गाउँका घरहरु सोत्तर भएकाले ओत लाग्न त्रिपालहरुको अभाव देखिएको छ। 

स्थलगत भ्रमणपछि त्यहाँ देखिएका केही दृश्य यस्ता छन्-

१) चाउचाउका पोका

राहतका लागि विभिन्न संघसंस्थाहरुले सबैभन्दा बढी ल्याएको चिज हो चाउचाउ। उनीहरुले ट्रयाक्टर र अटोमा राखेर चाउचाउको बाकस ल्याउँछन्। गाडी सहज हुने ठाउँमा रोक्ने बित्तिकै बालबालिका र ठूलाहरु पनि हुरुरु दौडिन्छन्। अनि जसको शक्ति उसको भक्ति। तानातान। कसले पायो, कसले पाएन- थाहै हुन्न।  

२) पानीको अभाव

यहाँ सबैभन्दा बढी पानीको अभाव देखिएको छ। राहतका नामममा कसैले चामल र दाल पनि ल्याएका छन्। तर पानी ल्याउनमा धेरैको ध्यान पुगेको छैन। 

३) कमजोर व्यवस्थापन

प्रभावित क्षेत्रमा व्यवस्थापन कमजोर छ। कसले राहत पाएको, कसले नपाएको कुनै लेखाजोखा छैन। स्वस्फूर्त रुपमा ल्याइएका राहतहरु एकै ठाउँतिर वितरण भइरहेका देखिन्छन्। गाडी नपुग्ने कुनाकुनातिर राहत पुग्न पाएको छैन। खानेकुराको पनि मेस लागेको छ तर व्यवस्थित छैन।

४) भारतीय व्यापारीहरुको सहयोग

एकद्वार प्रणालीले राहत वितरण नभएकोले स्वस्फूर्त जसले मन लाग्यो उसले प्रभावित क्षेत्रमा राहत ल्याएका छन्। स्थानीय व्यापारीहरु मात्र हैन सीमा पारीका भारतीय व्यापारीहरुले पनि सहयोगका लागि राहत ल्याएर बाँडिरहेका छन्। 

५) रमितेहरुको भिड

प्रभावित क्षेत्रमा वास्तविक पीडितहरु भन्दा रमितेहरुको भिड बढी लागेको छ। नजिकको गाउँका बासिन्दाहरु मात्र हैन, सहरकाहरु पनि आउने, मोबाइलले खिच्ने र भिडभाड गर्ने गर्दा मेला लागेको जस्तो देखिएको छ।

६) टिटानसको सुईको अभाव

प्रभावित क्षेत्रमा अरु सबै खालका औषधी आए पनि टिटानसको सुई आइपुगेको देखिएन। त्यहाँ आँधीबेरीले फलामको वस्तुले चोटपटक लागेको हुनसक्ने भएकोले टिटानसको सुई पनि आवश्यक देखिएको उद्दारमा खटिएका चिकित्साकर्मीहरुले बताए। 

७)  लामखुट्टेको समस्या

गर्मी बढिसकेकोले प्रभावित क्षेत्रमा खुला ठाउँमा सुत्नुपर्दा लामखुट्टेको एकदम समस्या देखिएको छ। 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell