PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

ओलम्पिक छनोट महिला फुटबल : पहिलो खेलमा म्यानमारसँग खेल्दै नेपाल



पहिलोपोस्ट

ओलम्पिक छनोट महिला फुटबल : पहिलो खेलमा म्यानमारसँग खेल्दै नेपाल

काठमाडौं : सन् २०२० मा जापानमा हुने टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलको एसियाली छनोटको दोस्रो चरणमा नेपालले बुधबार म्यानमारसँग खेल्दैछ।

गत नोभेम्वरमा म्यानमारमै भएको पहिलो चरण छनोटमा अपराजित रहँदै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो।

दोस्रो चरणमा नेपालले घरेलु टोली म्यानमारसँग पहिलो खेल खेल्न लागेको हो। समूह ए मा नेपाल र म्यानमारसँगै भारत र इन्डोनेसिया छ।

पहिलो चरणमा नेपाल, भारत र म्यानमार एउटै समूहमा रहेको थियो। त्यतिबेला यस समूहमा रहेको बंगलादेश भने बाहिरियो। नेपालले तीन वटै टिमसँग बराबरी खेलेको थियो।

पछिल्लो पाँच महिनाको अवधीमा नेपाल र म्यानमारको महिला फुटबल टिमबीच तीन खेल भइसकेको छ। नेपालले भने अहिलेसम्म म्यानमार विरुद्ध जित हात पार्न सकेको छैन। ओलम्पिक छनोटमा अग्रता लिएर पनि १-१ को बराबरी खेलेको नेपाल पछिल्लो दुई भेटमा भने पराजित भएको थियो।

भारतमा २०१९ फेब्रुअरीमा भएको हिरो गोल्डकपमा नेपाल लिग चरण र फाइनलमा म्यानमारसँग पराजित भएको थियो।

नेपाल लिगमा ३-० र फाइनलमा ३-१ ले पराजित भएको थियो।

म्यानमार जानुअघि नेपाली टिमका प्रशिक्षक हरि खड्काले यस पटक म्यानमार विरुद्ध बराबरी वा जितका लागि खेल्ने बताएका थिए।

दुई साताअघि नेपालमै भएको पाँचौ साफ महिला च्याम्पियनसिपमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो। त्यसपछि नेपाल चार दिनको तयारी गर्दै म्यानमार पुगेको हो।

नेपालले दोस्रो खेल शनिवार भारतसँग र तेस्रो खेल मंगलवार इन्डोनेसियासँग खेल्नेछ।

  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell