PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

ला लिगा : ९० मिनेटसम्म ४-२ ले पछि परेको बार्सिलोनालाई मेसी र सुअरेजले हारबाट जोगाए



पहिलोपोस्ट

ला लिगा : ९० मिनेटसम्म ४-२ ले पछि परेको बार्सिलोनालाई मेसी र सुअरेजले हारबाट जोगाए

कप्तान लिओनल मेसी र लुइस सुअरेजले खेलको अन्तिम समयमा गोल गरेपछि स्पानिस ला लिगामा लिग लिडर बार्सिलोनाले भियारियालसँग ४-४ को बराबरी खेल्दै अंक बाँडेको छ।

त्यसअघि दोस्रो स्थानको एट्लेटिको मड्रिडले जिरोनालाई पराजित गर्दै बार्सिलोनासँग अंक दूरी ७ मा झारेको थियो। बराबरीपछि बार्सिलोनाले ८ अंकको अग्रता कायम गरेको छ।

खेलको सुरुमै फिलिप काउटिन्हो र माल्कोमको गोलबाट बार्सिलोनाले २-० को अग्रता लिए पनि भियारियालले शानदार कमबयाक गर्द खेलमा ४-२ को अग्रता बनाएको थियो। तर ९० औँ मिनेटमा मेसी र इन्जुरी टाइममा सुअरेजले गोल गरेपछि बार्सिलोना हार टार्न सफल भएको हो।

काउटिन्होले १२ र माल्कोमले १६औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाएका थिए।

भियारियालका लागि सामुएल चुकवेएजले २३ औँ मिनेटमा पहिलो गोल फर्काए। ५०औँ मिनेटमा कार्ल टोरो एकाम्बीले गोल गरेपछि भियारियालले खेल २-२ को बराबरीमा पुर्‍यायो।

६२औँ मिनेटमा भिसेन्टे इबोरा र ८०औँ मिनेटमा कार्लोस बाक्काले गोल गरेपछि भियारियाल ४-२ को अग्रता बनाउँदै जित नजिक पुगेको थियो। तर ८६औँ मिनेटमा अल्भारो गोन्जालेजले रातो कार्ड खाएपछि भियारियल १० खेलाडीमा झर्‍यो। त्यसैको फाइदा उठाउँदै बार्सिलोनाले दुई गोल फर्कायो। ९०औँ मिनेटमा पेनाल्टी बक्स नजिकै प्राप्त फ्रिकिकमा मेसीले गोल गर्दै गोल अन्तर कम पारे। इन्जुरी टाइमको तेस्रो मिनेटमा सुअरेजले गोल गरेपछि खेल बराबरिमा सकिएको हो।

बराबरीपछि ३० खेलबाट ७० अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ। जिरोनालाई २-० ले पराजित गरेको एट्लेटिको मड्रिड समान खेलबाट ६२ अंकका साथ दोस्रो स्थानमा छ। डिएगो गोडिन र एन्टोनी ग्रीजमनले दोस्रो हाफमा गोल गरेपछि एट्लेटिकोले ३ अंक जोडेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell