PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

नागरिकता वितरणमा लचिलो बन्यो सरकार, जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिन परिपत्र



पहिलोपोस्ट

नागरिकता वितरणमा लचिलो बन्यो सरकार, जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिन परिपत्र

काठमाडौँः गृह मन्त्रालयले जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई आवश्यक प्रक्रिया पु¥याइ वंशजको नागरिकता दिन सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको छ। मन्त्रीस्तरीय निर्णय अनुसार मंगलबार मन्त्रालयले ७७ जिल्लामा नै उक्त परिपत्र पठाएको हो।

नागरिकतासम्बन्धी विधेयक लामो समयदेखि संसदीय समितिमा विचाराधीन रहेको तर, बालिग भइसकेका नागरिकका सन्तानहरू नागरिकताबाट विमुख भएको भन्दै मन्त्रालयले प्रशासनिक निर्णयबाट समस्या सम्बोधन गरेको हो। जन्मका आधारमा नागरिकता पाएका सन्तान बालिग भए पनि नागरिकता नपाएको भन्दै तत्काल नागरिकता दिन माग हुँदै आएको थियो। विशेषगरि प्रदेश २ सरकारले संघीय सरकारलाई यो विषयमा पटक-पटक ध्यानाकर्षण समेत गराएको थियो।

गृह मन्त्रालयले उमेर पुगेका नागरिक नागरिकताबाट वञ्चित हुँदा शैक्षिक तथा अन्य वृत्ति विकासमा समेत समस्या भएको भन्दै प्रशासनिक निर्णय गरेको जनाएको छ। 

सरकारको परिपत्रले नागरिकता अभावमा अध्ययन तथा नोकरीमा प्रतिस्पर्धा गर्न नपाएका नागरिकको  समस्या सम्बोधन हुनेछ।

मन्त्रालयको परिपत्रमा भनिएको छ ‘नेपालको संविधानको धारा ११ को उपधारा ३ को व्यवस्था बमोजिम जन्मको आधारमा नेपाली नागरिकता प्राप्त नागरिकका सन्तानले आफ्नो बाबु र आमाको नेपाली नागरिकताको प्रमाणपत्र संलग्न गरी नेपाली नागरिकता पाउन निवेदन दिएमा नेपाल नागरिकता ऐन २०६३, नेपाल नागरिकता नियमावली २०६३ र नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका २०६३ बमोजिम वंशजको आधारमा नागरिकता प्रदान गर्दा अपनाउनु पर्ने कार्यविधि प्रक्रिया अपनाइ जे जो बुझ्नुपर्छ बुझी उपयुक्त देखिएमा वंशजको आधारमा नागरिकता प्रदान गर्न सकिने भनी यस मन्त्रालयबाट मिति २०७५/१२/१९ मा निर्णय भएकोले निर्णयानुसार गर्न हुन अनुरोध गर्दछु’ उपसचिव गंगाप्रसाद न्यौपानेद्वारा प्रेसित परिपत्रमा उल्लेख छ।

सरकारले ०६३ मा नागरिकता ऐन संशोधन भएपछि जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानको हकमा २०६५ मंसिर १० सम्म निवेदन दिएको अवस्थामा मात्र वंशजको नागरिकता दिएको थियो। यसरी नागरिकता पाउने सङ्ख्या एक लाख ९० हजार ७२६ रहेको गृहको तथ्याङ्क छ।

अन्तरिम संविधान जारी भएको मितिलाई आधार मानेर यस्तो नागरिकता वितरण गरिएको थियो। निवेदन दिने अन्तिम समयसीमा भने नागरिकता नियमावली लागू भएको दुई वर्षपछिसम्मका लागि कायम गरिएको थियो। सो अनुसार ०६५ मंसिर १० सम्मको समय निवेदनका लागि तोकिएको थियो।

त्यसयता जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानले वंशजको नागरिकता पाएका छैनन्।

नेपालको संविधानले संविधान जारी हुनुअघि जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तानलाई पनि वंशजका आधारमा नागरिकता दिने उल्लेख गरेको छ। यस अनुसार ०७२ असोज ३ अघि जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तान बालिग भएपछि वंशजको नागरिकता पाउनेछन्।

संवैधानिक व्यवस्था अनुसारको नागरिकता ऐन संशोधनको चरणमा छ। उक्त संशोधनको विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल जारी छ। विवादमा सहमति भने भएको छैन।

संघीय संसद्को दोस्रो अधिवेशनको सुरुवातमा नै विधेयक दर्ता भए पनि सात महिनादेखि विधेयक दफावार छलफलकै चरणमा छ। विधेयकका प्रावधानमा विवाद भएपछि हालैमात्र राजनीतिक सहमति समेत खोज्ने गरी उपसमिति गठन गरिएको छ। अंगीकृत नागरिकताको व्यवस्था र नागरिकता कसुरमा हुने सजायबारे मुख्य विवाद छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell