PahiloPost

May 14, 2024 | १ जेठ २०८१

ओलीको विकल्प खोज्नुपर्ने बेला कांग्रेस भिजेको बिरालोझैं हिँड्या छ, यो सरकार चार वर्ष रहे देश कहाँ पुग्ला?: गजुरेल



विधुर ढकाल

ओलीको विकल्प खोज्नुपर्ने बेला कांग्रेस भिजेको बिरालोझैं हिँड्या छ, यो सरकार चार वर्ष रहे देश कहाँ पुग्ला?: गजुरेल

काठमाडौं: मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेलले अझै चार वर्षसम्म ओली सरकार रहे देश विकराल स्थितिमा पुग्ने बताएका छन्।

देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) नेपालको पहिलो राष्ट्रिय सम्मेलनको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा देजमोका अध्यक्षसमेत रहेका नेता गजुरेलले यस्तो बताएका हुन्।

'वर्तमान सरकारले आफूलाई कम्युनिस्ट सरकार भन्छ तर कम्युनिस्टले गर्ने सामान्य काम पनि गर्न सकेको छैन,' उनले भने, 'संघीय गणतन्त्र आए पछि बनेको सरकारले यस्तो विकराल स्थित पैदा गर्‍यो। ओली सरकार आएको एक वर्ष भयो। यो एक वर्षमा भ्रष्टाचार लाखदेखि करोड अर्बमा पुग्यो। शिक्षामा निजीकरण मात्र होइन माफियाकरण भयो। अझै ओलीजी भन्दै हुनुहुन्छ यो सुरुवात मात्र हो। अब भन्नुस बाँकी चार वर्षमा देश कहाँ पुग्ला?'

उनले देशमा अपराध बढ्दै गएको भन्दै सरकार अपराध नियन्त्रण गर्न असफल भएको दाबी गरे।

 

'३३ किलो सुन काण्डमा डिआइजीसम्म पक्राउ परे। अझै कति जेलमा छन्। तर, सुन कहाँ पुग्यो भन्ने टुंगो छैन,' उनले अगाडि भने, 'दिनदहाडै बालिका बलात्कारपछि मारिन्छन् सरकारले अपराधी पक्राउ गर्न सक्दैन। भूमिगत भएका विप्लवका नेताहरु कुना काप्चाबाट धमाधम पक्राउ गरिन्छ। तर, दिनदहाडै बलात्कारपछि मारिएकी निर्मलका हत्यारलाई अझै पक्राउ गर्न सक्दैन।'

उनले अब सरकार र राज्य व्यवस्थाको विकल्प खोज्ने बेला आएको बताए। 'ओली जीको एक वर्षको कार्यकालले संघीय गणतन्त्र नेपालका लागि उपयुक्त नभएको कुरा प्रष्ट भइसकेको छ। अब विकल्प खोज्ने बेला आएको छ,' अध्यक्ष गजुरेलले भने, 'हिजो राजतन्त्र हुँदा २०४६ साल चैत २४ गते गणतन्त्रको नारा लागेको थियो। आज संघीय गणतन्त्र हुँदा चैत २४ गते देखि नै जनगणतन्त्रको नारा लाग्ने छ।'

उनले यसबीच सरकारले राष्ट्रघात मात्र गरेको बताए। 'कालापानीमा रहेको भारतीय सैनिक क्याम्प हट्नुपर्छ भनेर युवा हुँदा देखि नारा लगायौँ। अहिले कपाल सेतै फुलिसके,' उनले भने, 'आफूलाई कम्युनिस्ट भन्ने सरकारले नै कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतलाई सुम्पिँदै छ। यही सरकारले नेपालको नयाँ नक्सा बाँडेको छ। जसमा यी भुभागहरु गायव छन्। झण्डै भक्तपुर जिल्ला जति भूभाग गायब छ।'

चैत २४ गते देजमोको पहिलो राष्ट्रिय सम्मेलन

देजमो नेपालले चैत २४ गते देजमोले आफ्नो पहिलो राष्ट्रिय सम्मेलन काठमाडौको प्रदर्शनी मार्गमा गर्ने भएको छ। सम्मेलनको उद्घाटन नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य 'किरण'ले गर्ने छन्।

सम्मेलनको तयारीका लागि देजमोले यही फागुन ७ देखि २१ गते सम्म मेचीमहाकाली जन जागरण अभियान चलाएको थियो।

सम्मेलनको दिन देजमोले शक्ति प्रदर्शन गर्ने जनाएको छ। सम्मेलन उद्घाटन अगाडि देजमोले पाँच स्थानबाट र्‍याली आयोजना गर्ने छन्।

काठमाडौंको माइतीघर, ललितपुरको जावलाखेल, कालिमाटी र लैनचौरबाट एकसाथ र्‍यालीसहित सुरु हुने प्रदर्शन प्रदर्शनीमार्गमा पुगेर सभामा परिणत हुने अध्यक्ष गजुरेलले जानकारी दिए।

कांग्रेस भिजेको बिरालो जस्तै

सरकारले जति सुकै राष्ट्रघात गरे पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गर्न नसकेको उनले बताए। 'सरकार असफल भएको छ। यो सरकार हट्नुपर्छ,' उनले भने, 'यो नेपाली कांग्रेसलाई पनि थाहा छ। तर उसले केही गर्न सक्दैन। भिजेको बिरालो जस्तो भएको छ कांग्रेस।'

कांग्रेसले प्रतिपक्षीको भूमिका निभाउन नसकेको दूई तिहाइको छाँयामा परेको उनको तर्क छ। 'जति ठूलै राष्ट्रघात होस उ बोल्न सक्दैन,' गजुरेलले भने, 'म त संविधान मान्न पार्टी सरकारसँग दुई तिहाई छ हटाउन सकिँदैन भन्दै कांग्रेस चुप छ।'

उनले नेत्रविक्रम चन्द विप्लवमाथि प्रतिवन्ध लगाउँदा पनि कांग्रेस मौन रहेको बताए।

विप्लवमाथिको प्रतिवन्ध संविधान विपरित

नेता गजुरेलले विप्लव नेतृत्वको पार्टीमाथि लगाइएको प्रतिवन्ध संविधान विपरित भएको बताए। 'संविधानले दल खोल्न पाउने स्वतन्त्रतालाई मौलिक अधिकारको रुपमा व्याख्या गरेको छ। ओली सरकारले विप्लव जी नेतृत्वको नेकपा माथि प्रतिबन्ध लगाएको छ,' उनले प्रश्न गरे, 'ओली जी भन्नुहुन्छ विप्लवको पार्टी पार्टी होइन। कुन निकायमा दर्ता छ भन्दै प्रश्न गर्नुहुन्छ। नेपालको संविधानमा दल दर्ता गर्नुपर्छ भन्ने कुन धारामा लेखेको छ?'

निर्वाचन आयोगमा दल दर्ता गर्नु खाली निर्वाचन प्रयोजनका लागि मात्र भएको भन्दै उनले अगाडि प्रश्न गरे, 'त्यसो हो भने त क्रान्तिकारी माओवादी पनि दर्ता छैन। अब हामीलाई पनि प्रतिबन्धित लगाउने?'

उनले विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्धको विरोध मायाले नभएको स्पष्ट पारे।

'विप्लवजीप्रति माया लागेर प्रतिबन्धको विरोध गरेको होइन। जुन संविधानको कुरा ओली जीहरु भन्दै हुनुहुन्छ नी त्यही संविधान विरोधी कदम भएकोले विरोध गरेको हो,' उनले अगाडि भने, 'अरु कुनै दल माथि प्रतिबन्ध लगाएको भए पनि हामीले विरोध गर्थ्यौँ। अपराधिक गतिविधि छन् भने छानबिन गरेर कारवाही गर्नुपर्‍यो। तर प्रतिबन्ध होइन्।'

राजतन्त्र फर्कन सक्दैन

यसैबीच पूर्वा राजा तथा राजावादी शक्तिहरुको सक्रियताको विषयमा सोधिएको प्रश्नमा फेरी राजतन्त्र नफर्किने दाबी गरे।

'राजतन्त्र फाल्ने निर्णय जनताले सोचेर सम्झेर गरेको हो। फेरी राजा नेपालमा आउन सक्दैन्,' उनले अगाडि भने 'राजतन्त्र भन्दा लोकतान्त्रिक गणतन्त्र अग्रगामी हो। तर जनगणतन्त्र भन्दा पश्चगामी हो। हामी जनगणतन्त्रको कुरा गर्दै छौँ। राजतन्त्र फर्किने कुरै आउँदैन।'

सरकारका काम कारवाहीले यस्ता शक्तिलाई हौस्याएको उनको टिप्पणी थियो। 'हो सरकारका काम कारवाहीले उनीहरुलाई केही हौसला मिलेको छ। हिजो लोकतान्त्रिक आन्दोलन सफल भएपछि ओझेलमा परेका ज्ञानेन्द्र सक्रिय हुन थालेका छन्,' नेता गजुरेलले अगाडि भने, 'यो क्षणिक हो। सरकार प्रतिको वितृष्णा हो। अब जनगणतन्त्रको नारा लाग्छ। जनता यसैमा गोलबन्ध हुन्छन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell