PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

कर्णाली नदी दोहन: अनुमतिबिना क्रसर उद्योग र स्काभेटर सञ्चालन



पी बी खड्का

कर्णाली नदी दोहन: अनुमतिबिना क्रसर उद्योग र स्काभेटर सञ्चालन
फोटो: आठबीस नगरपालिका सिस्नेस्थित कर्णाली नदीमा क्रसर उद्योग र स्काभेटर।

सुर्खेत: दैलेखको आठबीस नगरपालिका वडा १ सिस्नेमा धमाधम कर्णाली नदी उत्खनन् भइरहेको थियो। शृंगेश्वर कन्स्ट्रक्सन दोलखाले नदी किनारमै क्रसर उद्योग राखेर नदीजन्य वस्तु उत्खनन् शुरु गरेको हो।

अनुमतिबिनै कर्णाली नदीको किनारमा स्काभेटर र क्रसर उद्योग धमाधम सञ्चालन भइरहेको पाइएको छ ।

उक्त क्षेत्रमा नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन गर्न मिल्ने गरी वातावरणीय प्रभाव मूल्यांकन (ईआईई) गरेको छ। अहिले अनुमतिविनै सिस्नेमा करिव ५ मिटरभन्दा गहिरो खाल्डो पारेर बालुवा, ढुंगा निकाल्ने काम भइरहेको छ। 

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गका लागि आवश्यक पर्ने ढुङ्गा, बालुवा र गिट्टी करिब १५/२० दिनअघिदेखि नदी दोहन भइरहेको त्यहाँका स्थानीय बताउँछन्।

‘करिब १५/२० दिन भयो नदीमा डोजर (स्काभेटर) लागेको। मध्यपहाडी लोकमार्गका लागि बालुवा र ढुङ्गा लगेका छन्,’ नदी छेवैमा बसोवास गर्ने एक स्थानीय व्यापारी भने। उनका अनुसार नदीमा दैनिक ३/४ घण्टा नदी उत्खनन् हुने उनको भनाई छ। नदीमा अहिले एक स्काभेटर र दुई वटा टिप्परले बालुवा, ढुङ्गा निकालेका छन्। सो क्षेत्रको बस्ती समेत जोखिममा पर्ने सम्भावना छ।

यता, कन्ट्रक्सनका प्रतिनिधि गजेन्द्रबहादुर खड्काले मध्यपहाडी लोकमार्गका लागि नदीबाट बालुवा, ढुङ्गा निकालेको बताए। ‘मध्यपहाडी लोकमार्गका लागि आवश्यक सामग्री चाहिएको हुँदा क्रसर उद्योग राखेका छौँ,’ उनले भने, ‘नगरपालिकासँग अनुमति लिने प्रक्रिया थालेका छौँ। अब केही दिनभित्र अनुमति आउँला। अहिलेसम्म मौखिक रुपमा भएपनि सहमति भएर काम गरेका हौँ।’

आफुहरुले त्यस्तो कुनै क्षति हुने गरेर नदी उत्खनन् नगरेको दाबी गरे। नगरप्रमुखसहितको टोलीले अनुगमन गरेको बताए।  ‘हामीले त्यस्तो बिग्रने गरेर बालुवा, ढुंगा निकालेका छैनौँ,’ उनले भने, ‘नगरप्रमुखसहितको टोलीले हेरेर गइसक्नुभएको छ।’

यता, नगरप्रमुख खड्गराज उपाध्यायले भने आफुहरुले कुनै पनि अनुमति नदिएको बताए। कन्ट्रक्सनलाई आवश्यक कारवाहीका लागि आफुले जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरेको र कुनै सुनुवाई नभएको उनको भनाई छ।

‘अहिलेसम्म कम्पनीले हामीसँग कुनै अनुमति मागेको छैन। हामीले अनुमतिनै नमागेकोलाई कसरी काम गर भन्न सक्छौ? यो हुन सक्दैन,’ उनले भने, ‘जिल्ला प्रशासन कार्यालयले र डिभिजन वनबाट सिफारिस ल्याएपछि मात्रै हामीले अनुमति दिने हो। नत्र त्यसै नगरपालिकाले मात्रै दिन मिल्दैन। प्रक्रिया पुरा गरेर आए हामीले अनुमति दिने हो।’

राष्ट्रिय गौरवको आयोजना मध्येकै मध्यपहाडी लोकमार्गको काम धमाधम भइरहेको छ। आवश्यक सामग्री निकाल्ने दाउमा नदी नै कटाउन हुने गरी, खेती योग्य जमिन र बस्तीलाई जोखिम नै पारेर उत्खनन गर्न मिल्दैन की! यसप्रति हामी सबैको ध्यान जान आवश्यक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell