PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

'भीआइपीको आगमनले उद्दार र राहतको काम प्रभावित, सुरक्षा व्यवस्थापनकै झमेला'



पहिलोपोस्ट

'भीआइपीको आगमनले उद्दार र राहतको काम प्रभावित, सुरक्षा व्यवस्थापनकै झमेला'

  • बीपी साह/सागर बुढाथोकी-

पुरैनियाः आइतबार साँझको हावाहुरी र असिनाले बारा र पर्सा जिल्लाका विभिन्न गाउँ प्रभावित भए। २८ जनाको मृत्यु भइसकेको छ भने केही घाइतेको अवस्था गम्भीर छ।

आइतबार साँझ प्रभावित क्षेत्रका पीडित खुला आकाशमुनि भोकै बस्न बाध्य भएका थिए। आइतबार राति नै केही शव निकालिए भने केही घाइतेलाई उपचारका लागि पठाइयो।

सोमबार बिहानदेखि सुरक्षा संयन्त्रको बाक्लो उपस्थिति भयो। घर भत्केर पुरिएका शवहरु निकाल्ने काम सुरक्षाकर्मीले गरेका थिए। सोमबार प्रभावितहरूको व्यवस्थापनमा सक्रिय थिए सुरक्षाकर्मी। आफ्नै ढंगले काममा खटिएका थिए।

तर, सुरक्षाकर्मीको टाउको दुखाईको विषय सोमबार दिउँसोबाट सुरु भयो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका जवानहरूलाई पीडितहरूको सहयोग गर्नमा बाधक बने भीआइपी र भीभीआइपीहरु।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओली पुगे। राहत तथा उद्दारमा खटिएका प्रहरी प्रधानमन्त्रीको सुरक्षा व्यवस्थापनमा खटे।

सुरक्षा निकायको तीनवटै संयन्त्र प्रधानमन्त्री ओलीकै वरिपरि रहे उनी रहुन्जेल।

Photo: Ramsundar Yadav

सोही दिन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहितका मन्त्रीहरू पनि पुगे। जसको सुरक्षा पनि प्रहरीले दिनुपर्‍यो।

पुरैनियामा उद्दारमा सक्रिय एक सुरक्षा अधिकारीले पहिलोपोस्ट टिमसँग भने, ‘भीभीआइपी होस् वा भीआइपी भनेको समयमा आउँदैनन्। त्यस कारण हाम्रा जवानहरूलाई निकै अप्ठेरो पर्छ। उद्दारमा खटेका हामीलाई भीआइपीको सुरक्षा पनि हेर्नुपर्छ। जसले काममा ढिलाइ हुन्छ।’

सोमबार दिउँसो प्रभावित क्षेत्रमा सुरक्षाकर्मी देखिए पनि राति सुनसान थियो।

पहिलोपोस्ट टिम सोमबार राति पुरैनिया पुग्दा सबैभन्दा प्रभावित क्षेत्र सुनसान थियो। कुकुरहरु भुक्दै थिए। हावाहुरीले हाँगा भाँचिएको रुखमुनि साहेब मियाँको परिवार लामखुट्टे धपाउँदै बसेको थियो।

पढ्नुस्ः ‘मन्त्री आए, हेलिकप्टर आयो तर राहत आएन, लामखुट्टे धपाउँदै बित्यो रात’

मंगलबार बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति भयो।

नेपाली सेनाका जवानहरूले भत्केका घरहरुको काठ र माटो, इँटा तथा समान अलग गर्ने काम गर्दै थिए।

तर, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई भीआइपीकै चिन्ताले सताएको थियो।

पीडितको घर तथा राहतमा सक्रिय हुन खोजेको सशस्त्र प्रहरी तथा नेपाल प्रहरी भीभीआइपी आउने भएपछि सुरक्षातिर ध्यान दिन थाले।

सामान्यतः प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले हतियार बोक्दैनन्। तर, बाराको प्रभावित क्षेत्रमा उद्दार गर्न पुगेका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी हतियारसहित पुगेका थिए। हतियार भीआइपीहरुको सुरक्षार्थ राखिएको एक प्रहरी अधिकारीले बताए।

मंगलबार १० बजे पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुगे। उक्त क्षेत्रमा पुनः सुरक्षा व्यवस्थापन गरियो।

देउवाको सुरक्षार्थ नेपाल प्रहरी मात्रै खटिएका थिए। त्यसबेलासम्म सशस्त्र प्रहरी र नेपाली सेनाका जवानहरू अन्य काम गरिरहेका थिए।

तर, ११ बजे पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी पूर्णरुपमा उनको सुरक्षा व्यवस्थापन गर्नतिर लागे।

रोचक के भयो भने, फेटा गाउँपालिकाले पुरैनियाको क्षति भएको मस्जिद अगाडि सामूहिक खाना खाने मेसको तयारी गर्‍यो।

बिहान ८ बजेतिर मेसको टेन्ट तयार भएको थियो। मेस तयार पार्न सशस्त्रका जवानले पनि मद्दत गर्दै थिए। तर, प्रचण्ड आउने भएपछि जवानहरू मेसको काम छोडेर सुरक्षा व्यवस्थापनमा लागे।

बिहानको खाना प्रचण्ड फर्केपछि मात्र तयार भयो।

प्रचण्डको सुरक्षामा सशस्त्र प्रहरीको व्यापक प्रयोग भएको थियो भने प्रचण्डले बाँडेको राहत सामाग्री ल्याउने जिम्मेवारी पनि सशस्त्र प्रहरीकै थियो।

त्यसपछि राप्रपाका केही नेताहरूको टोली पुगेको थियो।

त्यसलगतै जनमत पार्टीका अध्यक्ष डा सीके राउत स्वयम्सेवक दस्तासहित पुगेका थिए। राजपाका नेताहरू पुग्दा पनि सुरक्षाकर्मी साथमा थिए।

बुधबार पनि प्रभावित क्षेत्रमा भीआइपीहरुको भ्रमण जारी रह्यो। जसले गर्दा सहयोगमा खटिएका सुरक्षाकर्मी सुरक्षामा भुलिए।

जिल्ला प्रहरी कार्यालय पर्साका एक अधिकारीले पहिलोपोस्टसँग भने, ‘हामी उद्दार तथा राहतमा खटिनुपर्ने थियो। तर, भीआइपीको सुरक्षा दिँदै अल्झिएका छौँ।’

‘पीडितहरू कुनै बेला पनि आक्रोशित हुन सक्छन्। राहत नपाए, सहयोग नपाएको भन्दै पीडितहरूले आक्रमक भएर कुनै भीआइपीमाथि हातपात वा कुनै घटना भए हामीलाई समस्या हुन्छ’ उनले भने, ‘प्रभावित क्षेत्रमा केही समयका लागि भीभीआइपी तथा भीआइपीहरुको आगमनलाई रोक्नुपर्छ। सुरक्षाकर्मीहरूलाई पूर्णरुपमा उद्दार र राहतमा खटिन दिनुपर्छ। अवस्था सामान्य भएपछि मात्र भीभीआइपी र भीआइपीहरुले भ्रमण गर्नुपर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell