PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

आँधी प्रभावित क्षेत्रमा दुई दिन : हुरीको वितण्डाले उजाड गाउँको उजाडिएको मन

आँधी प्रभावित क्षेत्रमा दुई दिन : हुरीको वितण्डाले उजाड गाउँको उजाडिएको मन

पहिलोपोस्ट /पहिलोपोस्ट


  • सागर बुढाथोकी र बीपी साह -

सोमबार बाराको पुरैनिया टोलमा पुग्दा एक किसिमको सन्नाटा थियो। हुरीले बितण्डा मच्चाएका कारण कतै पनि बिजुली बत्ती बलेको थिएन। बस्तीका पूरै घर भूइँमा पसारिएर मैदान नै लाग्थ्यो, हाँगाबिँगा बिहीन रुख जिंग्रिङ्ग देखिन्थ्यो। बस्ती छेउछाउका बाँसका झ्याङ जरैदेखि ढलेका थिए। राति बस्ती डरलाग्दो देखिएको थियो। अहँ, मानिसको नामोनिसान थिएन यहाँ। 

पुरैनिया बस्ती एक चक्कर मार्दा कोही भेटिएनन्। आइतबार राती विध्वंस भएको गाउँ सोमबार राती पूरै सुनसान। अचम्म मान्दै फर्किनुको विकल्प थिएन। त्यहाँ देखिएको एउटा घरको भग्नावशेषमा चार पाँचवटा कुकुर भने देखिए। हामी त्यहाँ पुगेको देखेपछि कुकुरहरु सतर्क भए तर भुकेनन्। पुच्छर हल्लाउँदै त्यहीँ बसिरहे। त्यही भत्केको घर रुँघिरहे।

त्यहाँबाट निक्कै वर फर्किँदा भने केही मानिसहरु हिँडिरहेको भेटियो। उनीहरु मदरसा गएर आएका रहेछन्। 

सोध्यौँ, 'गाउँ पूरै सुनसान छ त। अरु मानिसहरु त भेटिन्नन् नि?'

उनीहरुले आफूहरु पुरैनियाको नभएको जानकारी दिँदै भने, 'यो टोलका धेरैजसो घाइते भएर अस्पतालमा छन्। अनि कहाँ गाउँमा हुन्छन् त? अलि बाँचेकाहरु पल्लो टोलतिरको सद्दे घरमा सुत्न गएका होलान्।'

उनीहरुको जवाफले त्यहाँको अवस्था झन भयावह लाग्यो। सिंगो बस्ती सुनसान हुने गरी घाइते! सम्झँदा नि आङ सिरिङ्ग भयो। हामी घर ढलेर सखाप भएको बस्ती हेर्दै फर्किँदै थियौं। अलि वर आएपछि रुखको फेदमा तीन चार जना बच्चाहरु सुतेका रहेछन्। उनीहरुसँगै त्यहाँ एक जना अभिभावक पनि थिए। 

उनलाई सोध्यौँ, 'सुनसान वस्तीमा तपाइँहरु मात्रै किन यसरी सुतेको?'

उनले भने, 'मन्त्री आए, हेलिकप्टर आयो, राहत केही आएन। खुल्ला आकासमुनि सुत्नु परेको छ। धेरै त घाइते भएर अस्पतालमा छन्। अरु पल्लो गाउँतिर गए होलान्।'

+++

भोलिपल्ट सबैरै नारायणी अस्पताल पुग्दा घाइतेहरुले अस्पताल भरिभराउ थियो। कसैको टाउको फुटेका थिए भने कसैको हात खुट्टा भाँचिएका। बेडको अभाव। एउटै बेडमा तीनजनासम्म सुतेका थिए। अस्पतालका नर्सहरु सेवामा खटिइरहेका थिए। अवस्था पूरै भद्रगोल।

त्यहाँबाट आँधीहुरीले बितण्डा मच्चाएको पुरैनियामा पुग्यौँ। फेटा गाउँपालिकाको वडा नम्बर १ भरबढिया र  पुरैनिया बढी प्रभावित क्षेत्र रहेछ। राती सुनसान देखिए पनि यतिबेला भने मानिसहरु देखिन्थे। नेपाली सेना तथा सशस्त्र प्रहरी पुगेर तथ्यांक संकलनमा जुट्दै थियो भने त्यहाँका स्थानीय उनीहरुसँग गुनासो गर्दै थिए। आफ्नो पीडा सुनाउँदै थिए।

विभिन्न संघसंस्थाबाट राहत लिएर मानिसहरु पुग्न थालेका थिए भने भोका बालकालिकाहरु एक पाकेट चाउचाउको लागि भागदौड गरिरहेका थिए।

एकै समयमा एकै स्थानमा यस्ता फरक फरक दृश्यहरु देखिन्थ्यो।

आँधीहुरीले छानो उडाएर भत्किएको पक्की घरमाथि एउटा परिवार पुर्परोमा हात लाएर बसिरहेको छ। त्यहीँ नजिकै केही युवाहरुले चाउचाउ बाँडिरहेका छन्, एक हुल बालबालिका एक पाकेट चाउचाउका लागि भागदौड र संघर्ष गरिहेका छन्। भागदौड गरेकामध्ये केहीको हातमा मात्र पर्‍यो चाउचाउ। चाउचाउको प्याकेट हात पार्नेहरु ठूलो युद्ध जितेजस्तै गरी रमाइरहेका छन्। नपाउने भने निराश भएर टुलुटुलु हेरिरहेका छन्।

त्यही नजिकै ईट्टाहरु टिपेर मिलाउँदै गरेको एउटा परिवार उनीहरुको भागदौड टुलुटुलु हेरिरहेको छ। अलिपरतिर सामुहिक खाना पकाउने तयारीमा केही युवाहरु जुटेका छन् भने कतिखेर खाना पाक्ला भन्ने आशामा बसेका उत्तिकै छन्। सेना प्रहरीलाई गुनासो गर्नेहरु पनि उत्तिकै।
वास्तविक पीडित भत्किएका घरमाथि बसेर टोलाइरहेका छन्। राहतमा लुछाचुडी गर्नेहरुको भिडमा मिसिन उनीहरुलाई गाह्रो भएको छ।
 
दिनभर यस्तै दृश्य दोहोरिरह्यो। चाउचाउका लागि हारालुछ भएको ठाउँमा अरु सामान पुग्न त झन् मुस्किल। पुगेको सामान पनि व्यवस्थापन गर्न नसक्दा दौडधुप गर्न सक्नेहरुको मात्रै हात परेको थियो।

+++
हामी वडा नम्बर १ भरबढिया छोडेर पुरैनिया पुग्यौँ। 

मध्य रातमा कुकुरहरु बसिरहेका भग्नावशेषमा मध्य दिउँसोमा हामी पुग्दा अलि खातुङ झोक्राएर बसेका थिए। उनले त्यही घरमा दुई बहिनी थिचिएर मरेको सुनाए। मृतकको घरलाई पहरा दिन रातभर कुकुरहरु त्यसरी बसेका रहेछन्। सुन्दा जसको पनि मन चसक्क नहुने कुरा थिएन।

घर नजिकै राहतको लागि हारालुछ भइरहेको थियो तर  उनको ध्यान त्यतातिर थिएन्। शोक परेको बेला हारालुछ गर्न जाँगर कहाँबाट आओस्? उनी घरमै झोक्राएर बसेका थिए। 'घर लडेको छ। बहिनीहरु चेपिएर मरे। चार बहिनीहरु अस्पतालमा उपचार गरिरहेका छन्। यस्तो बेला हामी राहत खोज्दै जाने कि राहत घरमा ल्याएर दिने?,' दिक्क मान्दै भने, 'बिजोक छ। पानी समेत खाना पाएको छैन। अर्काको लुगा लाएर बसेको छु। तर, हारालुछ गरेर राहत लिन सक्दिन।'

उनका बुबा अब्दुल खातुङ पनि उनको नजिकै थिए। खुट्टामा चोट लागेको थियो,  'अरु चार जनालाई बचाए पनि २ छोरीलाई बचाउन सकिन। छेक्दा छेक्दै उनीहरुलाई चेप्यो। दुई तीन मिनेटमा सबै खत्तम भयो,' उनले भने, 'भर्खरै दफनाएर आएको।'
सबनम खातुङ(१८) र रुबी खातुङ(१०) त्यही घरमा चेपिएर मरेका थिए।

अली बसेको नजिकै तीन जना बालबालिका बिचल्ली अवस्थामा थिए। राति खुल्ला आकाशमुनि सुतेको अवस्थामा भेटिएका यिनै  रहेछन्। उनीहरु साहेव मिया र नसरुतका छोराछोरी। साहेब र नसरुत गम्भीर घाइते भएर वीरगंजस्थित नेशनल मेडिकल कलेजमा उपचाररत थिए भने उनीहरु यहाँ बिचल्ली अवस्थामा। खाना/पानी नहुँदा भोकै थिए। परिवार बिहीन उनीहरुलाई त्यो भद्रगोलमा कसले खाना दिने? पानी कसले दिने? अवस्था नाजुक थियो। उनीहरुको हातमा एक पोका चाउचाउ पनि परेको थिएन। बल्लतल्ल उनका फुफाजु अत्तालिँदै त्यहाँ आए र ती बच्चाहरुको हेरचाहमा लागे।

+++

पुरनिया मुस्लिम र दलित बाहुल्य भएको क्षेत्र। अधिकाशंको आर्थिक अवस्था खराब। घरहरु इट्टाको भएपनि पिल्लर नभएको। अधिकांश भत्किएका घरहरु चाहिँ माटोबाट बनेका। पिल्लर हालेर बनाएका सिमेन्टको घर सग्लै थिए भने माटो र इट्टा मात्र जोडिएका घरहरु मैदानमा परिणत भएका। त्यहाँ भेटिएका फैजल मिया भन्दै थिए, 'यस्तो हुरी कहिले आएको थिएन्। हेलिकप्टर जसरी कराएर नाँच्दै आयो। जता जता नाँच्दै गयो त्यता त्यता सखाप पार्‍यो।'

साहेबको घरबाट अलिपर चिकित्सक डाक्टर गोविन्द केसीको स्वास्थ्य शिविर चलिरहेको थियो। स्वास्थ्य शिविरमा मानिसहरुको भिड बाक्लियो। दुई जनाको टिम र स्थानीय स्वास्थ्य चौकीको सहकार्यमा केसीले पुरैनियाका स्थानीयको उपचार गरे। औषधि र खानेकुरा बोकेर त्यहाँ पुगेका केसीले गाँउ घुमेर राहत पनि वितरण गरे। 

यता केसी उपचार गर्न व्यस्त थिए। त्यहीँ नजिक त्रिपाल वितरणमा तानातान भइरहेको थियो। अल्ली पर पानी खानका लागि मारामार चलिरहेको थियो। नेपाली सेनाका जवानहरु टेन्ट हाल्ने काममा व्यस्त थिए।

त्यही बेला पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवाको आइपुगे। देउवाको अघिपछि मानिसहरु दौडन थाले। बस्तीमा टेन्ट हालिरहेका सुरक्षाकर्मी काम छाडेर देउवाको सुरक्षामा खटिए। देउवाले पुरैनिया बस्ती एक चक्कर लगाए। उनले त्यहाँ कुनै भाषण गरेनन्। अन्य नेताभन्दा उनको यो शैलीले घटनास्थलमा खटिएका प्रहरीलाई केही राहत भयो। राहत वितरणमा नै राहत। रमितेहरुले भिड लगाइरहन पाएनन्।

देउवा फर्किएको केही क्षणमै नेकपाका अध्यक्ष पुष्पकमल दहाल पनि त्यही पुगे। देउवा पुग्दा झै उनी पुग्दा पनि भिडभाड बढ्यो नै, प्रहरीहरु काम छाडेर सुरक्षामा खटिन बाध्य भए।

प्रचण्डले घटनास्थल निरीक्षणमात्र गरेनन्, त्यहाँ गएर भाषण गर्न पनि भ्याए। 

‘हावाहुरीका कारण मृत्यु भएका परिवारका लागि पार्टीको तर्फबाट प्रतिपरिवार पाँच लाख दिन म आवश्यक पहल गर्नेछु। ध्वस्त घर बनाउन र अस्पतालमा उपचाररत घाइतेहरुको निशुल्क उपचार सरकारले गर्नेछ,' प्रचण्डले यसो भन्दै गर्दा त्यहाँ खाना खाने मेसमा प्रतीक्षा गरिरहेका धेरै भोकाहरु कुरिरहेका थिए। किनकि, प्रचण्ड त्यहाँ पुगेपछि खाना पकाउने कार्यक्रम पछि सरेको थियो।

+++

स्थानीय तथा केन्द्रीय स्तरका नेताहरु घटनास्थलमा पुगेपछि त्यहाँ खटिएका सुरक्षाकर्मीहरु हैरान थिए। ईटा पन्छाउने, तथ्यांक संकलन गर्ने र टेन्ट बनाउने काम गर्दा गर्दै नेताका सुरक्षामा खटिनुपर्थ्यो उनीहरुलाई। एकजना प्रहरी अधिकृत भन्दै थिए, 'यी नेताहरु आएर हैरान भइयो। काम गर्दागर्दै सुरक्षामा खटिनु पर्छ। यता काम ढिलो। उता सुरक्षामा नखटिए भोका जनताहरुले रीसले ढुंगाले हान्लान भन्ने डर।'

प्रचण्ड गएपछि राष्ट्रिय जनमत पार्टीका अध्यक्ष सिके राउत पनि त्यहाँ पुगे। समूहमा पुगेका उनका कार्यकर्ताले म पनि सिके राउत लेखेको सेतो टोपी लाएका थिए। राउत पनि घटनास्थलको निरीक्षण गर्दै त्यहाँबाट निस्किए।

देउवा, प्रचण्ड हुन या मधेवादमा आधारित दलका नेता। त्यहाँ स्वार्थको राजनीति प्रष्टै देखिन्थ्यो। पीडीत भएको स्थानमा जाँदा देखिएका ब्यानरको तामझामले पीडितको पीडामा राजनीति गर्न पुगेको जो कोहीले प्रष्टै बुझ्थ्यो। त्यहाँ भेटिएका जाफर अन्सारी भन्दै थिए, 'सब नेता आएर यो गर्छु र त्यो गर्छु भनेर गयो। तर, गर्ला जस्तो लाग्दैन। पहाडका भूकम्प पीडितले अझै राहत नपाएको सुन्छु। अब हामी पहिलेको अवस्थामा फर्किन गाह्रो छ।'

+++

अली अन्सारीको घरबाट अलि परको घरमा हामी पुग्दा साहेब अन्सारी टोलाइरहेका थिए। ११ जना मरेको उक्त गाउँमा चार जना त उनकै परिवारका रहेछन्। परिवारमा बाँच्न सफल तीन जना मात्र। कलिलो उमेर। घर ध्वस्त। १३ वर्षीय साहेब मानशिक रुपले विक्षिप्त देखिएका थिए। टोलाइरहेका उनको मुखबाट कुनै शब्द निस्किएन। भत्किएको घरमा बसेर टोलाइरहेका उनी अन्य बालबालिका जसरी चाउचाउको पोका लुछाचुडी गर्न जान सक्ने अवस्थामा थिएनन्।

केही क्षणको हुरीले उनको संसार पुरैनिया गाउँ जस्तै उजाड बनाइदिएको थियो। अब के हुन्छ उनलाई केही अन्दाज छैन। अहिले न त उनलाई माया गर्ने आमा छिन् त न त हजुरआमा। फुपुको दुई छोरीलाई अब उनले कहिले भेट्ने छैनन्। कतारबाट आएको उनका बुबा घाइते भएर अस्पतालमा छन्। अवस्था नाजुक भएको खबर पाएकाले त्रास झन् बढ्दैछ।

अन्सारीले आफ्नो परिवारका चार जनालाई गुमाए- ६५ वर्षकी हजुरआमा, २७ वर्षकी आमा र १० र ८ वर्षका फूपुकी छोरीहरु। उनीहरु चारै जना घरमै थिए। 

अन्सारी पनि घरमा भएको भए शायदै बच्थे। संयोगले उनको ज्यान जोगियो। 

मुस्लिमहरुको जलसा अर्थात् धार्मिक कार्यक्रमको निम्तो दिन उनलाई परिवारले नानी अर्थात् आमाको आमाको घरमा पठाएको थियो। उनी उतै थिए, त्यसैले यताको आँधीबाट उनी बचे।

साहेबका हजुरबुबा इजहार मियाँ अन्सारी भने जन्नात अर्थात् धर्म प्रचार गर्न चार महिनाका लागि घरबाट निस्केका थिए। यता आँधी चल्दा इजहार गौरमा थिए। सोही कारण उनी पनि भाग्यमानी ठहरिए।

मदरसाको निम्तो दिन नानीको घरबाट आफ्नो घर आउँदा साहेबको घर भग्नावशेषमा रुपान्तरण भइसकेको थियो। भोलिपल्ट बल्ल सुरक्षाकर्मीले एक/एक गर्दै चार वटा लाश निकाले त्यहीँबाट। 

गौरबाट उनका हजुरबुबा पनि आइपुगे। सोमबार साँझ एकै परिवारका चार जनालाई दफनाइयो। त्यसपछि भने उनी विक्षिप्त छन्। पहिलेकै हालतमा फर्किने विषय त उनले सोच्नसम्म सकेका छैनन्।

++++

खाना पकाउने मेसमा केही प्रहरी जवानहरु थकाइ मारिरहेका छन्। त्यहाँ केही स्थानीय युवाहरु पनि भेटिए।
प्रहरीले सोधे,  'तिमीहरुको घर भत्किएको छ कि नही?'

तीमध्ये एकजना अघि सरे र भने, ' छ सर।'

'अनि कहाँ कहाँबाट मान्छे आएर ईट्टा झिकेका छन्। प्रहरीहरुले सहयोग गरेका छन्। तिमीहरुलाई यस्तो हुँदा आफ्नै घरको एक दुईवटा ईट्टा झिकुम् झिकुम् लाग्दैन?'

ती युवा नाजावाफ हुन्छन्।

प्रहरी भन्छन्, 'यस्तो त कहीँ देखिएको थिएन। लक्का जवान केटाहरु हात बाधेर बसेका छन्। अचम्म लाग्छ।'

यसरी नै पुरैनियामा राहत र उद्दारको काम भइरहेको छ। अस्पतालमा उपचाररत घाइतेहरु घर फर्कँदैछन् भने ठीक भएकाहरु राहतका लागि लुछाचुडी गर्दैछन्। राहत वितरणमा जसको शक्ति उसको भक्ति चलेकै छ। 

वास्तविक पीडीत राहतदेखि दूर छन्। पानी र औषधिको अभाव छ। 

नसोचेका विपत् भोगेका यहाँका अधिकांशलाई के भएको भन्ने नै जानकारी छैन। अधिकांश एउटै जवाफ दिन्छन्, 'हेलिकप्टर जसरी कराउँदै आयो र घर ढाल्दै गयो। कति शक्तिशाली भन्ने कुरा भन्न आइरहेको छैन। सम्झिँदा अझै डर लागिरहेको छ। सबै नष्ट पार्‍यो, उडायो।'

प्राय सबैको एउटै जवाफ छ, 'एकैछिनमा सबै नष्ट भयो। मान्छेहरु घरमा थिचिए। के गर्ने हामीले सोच्न सकेनौँ। बत्ती थिएन, एम्बुलेन्स ल्याउन पनि रुख ढलेर बाटो ब्लक भएको थियो। उद्दार गर्न एकदम गाह्रो भयो।'



ट्रेन्डिङ पोस्ट

Ncell