
- सागर बुढाथोकी/बीपी साह-
वीरगंज: 'मेरो बहिनीको जस्तो अरुको अवस्था नआउनको लागि पनि त्यो हत्यारालाई कारबाही गर्नुपर्छ, सर।'
गएको शुक्रबार मोहन यादव जिल्ला प्रहरी कार्यालय पर्साका अपराध महाशाखाका प्रहरी निरीक्षक राजेश दत्तलाई पीडा सुनाउँदै थिए। पीडा उनले आफ्नै घरमा सुनाइरहेका थिए। उनले हत्यारालाई कारवाहीको माग गरिरहँदा सिंगो घरमा सन्नाटा छाएको थियो। भुई तल्लामा बसेर प्रहरी निरीक्षक दत्त सुनिताको बारेमा सोधपुछ गरिरहेका थिए। सुनिताका दाजु यादव भावुक हुँदै घटनाबारे ब्रिफिङ गरिरहेका थिए।
डाक्टर श्रीमानको कुटाइले मृत्यु भएकी वीरगन्ज महानगरपालिका २० कि सुनिता यादवका दाजु हुन् मोहन यादव।
'यहाँका धेरै छोरीको अवस्था सुनिताको जस्तै नाजुक छ। मलाई आफ्नी बहिनी सम्झँदा बाँकी उनीहरुको दया लाग्छ,' यादव भन्दै थिए, 'मेरी बहिनीको हत्यारालाई कारबाही भएन भने उनीजस्तै अरुहरुले उजुरीसमेत गर्ने हिम्मत कसरी गर्लान्?'
अरु धेरै त्यसैगरी मारिने उनले दाबी गरिरहे। 'सर, त्यो डाक्टरलाई त कारबाही भएन भने अरुले झन् धेरै अन्याय गर्छन्,' उनी प्रहरीसामु याचनासहित बोलिरहेका थिए।
मोहनको कुरा 'नोट' गरेपछि प्रहरी निरीक्षक दत्त 'सत्यतथ्य छानविन गर्ने' बाचासहित बाटो लागे।
'पोलिटिकल्ली दबाब छ। घटना मिलाउन करोडसम्मको अफर आएको छ। तर, म बहिनीलाई अन्याय भएको देख्दादेख्दै पैसामा बिक्दिनँ,' मोहनले निराश हुँदै हामीलाई सुनाए।
केही दिनको अन्तरालमा मधेशको एउटा जटिल मुद्दा सामाजिक सञ्जालमा भाइरल भयो। दुई वटा फोटोमार्फत भाइरल भएको थियो, घटना। एउटा फोटोमा जीउभरी नीलडाम देखिएको थियो। अनुहार सुन्निएको चोटले डरलाग्दो थियो तस्विर। अर्को फोटो सिन्दुर, पोते र नयाँ सारीमा सजाएर दाहसंस्कार गर्न ठीक पारिएको शवको थियो।
भाइरल भएका ती दुवै तस्विर सुनिताकै थिए। सन्तान जन्माउन नसकेको आरोपसँगै मागेजति सम्पत्ति माइतीले दिन नसक्दा सुनिताले त्यस्तो हविगत भोग्नु परेको थियो जुन फोटोबाटै सामाजिक सञ्जालमा फैलियो।
सुनिताको हत्या अभियोगमा डाक्टर सचितानन्द यादवलाई गत शुक्रबार नै पर्सा प्रहरीले पक्राउ गरिसकेको छ। यादव गण्डकी उपक्षेत्रीय अस्पतालका मधुमेह तथा थाइराइड रोग विशेषज्ञ हुन्। उनलाई पक्राउ गरेपछि प्रहरी निरीक्षक दत्त सुनिताको माइतीतिरका परिवारसँग कुरा बुझ्न पुगेका थिए। गत शुक्रबार त्रिवि शिक्षण अस्पतामा उपचारकै क्रममा सुनिताको मृत्यु भएको हो। त्यसपछिमात्रै प्रहरीले डाक्टरलाई पक्राउ गर्यो।
मरणासन्न अवस्थामा पुर्याइएकी सुनितालाई वीरगंजबाट चैत १२ गते काठमाडौं उपचारका लागि लगिएको थियो जहाँ पुगेर पनि उनी जीवित रहन सकिनन्।
मोहनका अनुसार चैत ६ गते राति डाक्टर सचितानन्द र परिवार मिलेर कुटेका थिए। चैत ७ गते होलीको दिन सुनिता माइत आएकी थिइन्। जीउ पूरै ढाक्ने गरी गाउन लगाएर आएकी उनी मानसिक रुपमा विक्षिप्त देखिएकी थिइन्, माइती आउँदा। आमासँग के के बोल्थिन् अनि बर्बराउँथिन्। यसअघि पनि पटकपटक झगडा भएकाले सुरुमा त उनीहरुले वास्तै गरेनन्।
साँझपख गाउन खोल्दा उनको हातमा चोट देखियो। बुझ्दै जाँदा त शरीरभर चोट नै चोट पो रहेछ।
होलीको बेलामा मोहन काठमाडौंमा थिए। मामा नागिन्दर यादवले सुनितालाई नारायणी अस्पताल लगे। नारायणी अस्पताल एकदिन राखेपछि अर्को दिन वीरगंजकै गण्डक अस्पतालमा राखियो उनलाई। अवस्था ज्यादै नाजुक थियो। त्यहाँ उपचार सम्भव नभएपछि सुनितालाई अस्पतालले काठमाडौं रिफर गर्यो।
शिक्षण अस्पतालको आइसीयूमा दुई दिन राखियो उनलाई। अर्को दुई दिन मानसिक वार्डमा। त्यसपछि सुनिता रहिनन्।
त्यतिबेला मोहन अस्पतालमै थिए। घटनाको मुचुल्का उठाउने बेलामा उनलाई भनियो - सुनिताको लुगा उठाउनुस्।
'श्रीमानबाट कुटिएर मृत्यु भएकी बहिनीको क्षतविक्षत शरीरको लुगा उठाउनुपर्दा मलाई कस्तो भयो होला? मेरो जस्तो अवस्था अरु कुनै दाइले भोग्नु नपरोस्,' मोहनले सुनाए।
मोहनले यसो भनिरहँदा उनका गला अवरुद्द भयो। आँखामा आँशु टिलपिल गरेको अनुभूति भयो सायद्। उनी सम्हालिए। अनि भने, 'सिधै गोली ठोकेर मारेको भए हुने यसरी कुटेर तड्पाई ... तड्पाई... ।'
२०५९ सालको कुरा हो। सुनिताले भर्खरै आइएस्सी पास गरेको थिइन्। त्यहीबेला घरमा बिहेको कुरा चल्यो। सचितानन्द यादवसँग सुनिताको लगनगाँठो कसियो। सचितानन्द त्यतिबेला डाक्टर भइसकेका थिएनन्।
जग्गा बेचेर २० लाख खर्च गरेका थिए त्यतिखेर। त्यतिखेर २० लाख रुपैयाँ खर्चको बिहे सानो हुन्थेन। बिहे गरी सुनितालाई पठाइदिए। सुनिताले सुख पाएको भ्रममा थिए, माइती पक्ष। तर, बिहे भएको तीन वर्ष नपुग्दै सुनिता पतिबाट पीडित हुन थालिसकेकी थिइन्। २०६२ सालमा त प्रहरीले नै हस्तक्षेप गर्नुपर्ने अवस्था बन्यो। प्रहरी कार्यालयमा पुगेर मिलापत्र भयो सुनिता र सचितानन्दबीच। त्यतिबेला सचितानन्दले, 'अब उप्रान्त नकुट्ने' बाचा गरेका थिए।
सचितानन्द एमबीबीएस पढ्न रुस गएका थिए। आउँदा जाँदाको टिकट सुनिताको माइतीले बेहोर्न पर्थ्यो। उनीहरुको आर्थिक अवस्थाले भ्याएसम्म गरेकै थिए। सुनिताले दु:ख नपाओस् भन्दै ज्वाइँ रिझाउन हर कोसिस गरेकै थिए।
तर, सुनिताले कुटाइ खान छोडिनन्। उनी माइत आएर गुनासो गर्थिन्।
'अड्डा अदालत धाउँदा इज्जत जान्छ मिलेर बस्,' भनेर पठाउँथे।
'यस्तो होला भन्ने त हामीले कल्पना गरेकै थिएनौं। इज्जतको सवाल भनेर चुप बस्यौँ,' मोहनले पछुतो मान्दै सुनाए।
सुनिताबाट बच्चा भएन। बच्चा नहुनुले सुनितामाथि जुलुम बढाउने आधार तयार पार्यो। सधैको किचलो एकातिर थियो, अर्कोतिर डाक्टर बनेका पतिको माग बढ्दो थियो। सचितानन्दले घर र गाडी माग्न थालेका थिए। घर र गाडी सुनिताका माइती पक्षले दिन सकेनन्। त्यसैको झोकमा सचितानन्दले कान्छी श्रीमती भित्र्याए। त्यसपछि सुनितालाई सचितानन्दले सासु ससुराको सेवामा खटाए। डाक्टर सचितानन्द कान्छीसँग वीरगन्जमै बस्न थाले।
सुनिताले सासु ससुराको स्याहारमा कुनै कसर छाडिनन्। तै पनि उनलाई सुख थिएन। नोकरकै व्यवहार गर्थे। यति हुँदासम्म सुनिताले सहेकै रहिछिन्। तर, घर र गाडी दिन नसक्दा उनीमाथि टर्चर दिने क्रम जारी रह्यो। सामान्य आवश्यकता वस्तुसमेत उनले पाउँदिनथिन्। मागिन् भने जवाफ मिल्थ्यो- 'तेरो माइतीसँग माग' भनेर थर्काउथेँ। आफ्नै माइतीले दिएको सामान समेत प्रयोग गर्न पाउँदिन थिइन उनी।
यति हुँदाहुँदै पनि सुनिताले सहनुको विकल्प खोजिनन्।
सुनिताले मोहनलाई बताएअनुसार सचितानन्दको परिवार नै मिलेर कुटेका थिए उनलाई। हात खुट्टा बाधेर आइरनले डामेका थिए। तर, अस्पताल पुर्याउँदा नहरमा लडेको भन्न लगाएका थिए।
'बहिनीले अस्पतालमा हात खुट्टा बाधेर कुटेको सुनाई,' भावुक हुँदै मोहनले सुनाए, 'कुट्दाखेरी इभिडेन्स नदेखियोस् भनेर कुटेको रहेछ। डाक्टर भएको कारण कहाँ कुट्दा इभिडेन्स नदेखिने थाहा रहेछ उसलाई। उहाँहरुको चाहना नफसिकन घर र गाडी आओस् भन्ने रहेछ।'
मोहनले ज्यान मार्ने नियतले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यलय पर्सामा उजुरी दिएका छन्। सचितानन्द प्रहरी हिरासतमा छन् भने उनका परिवारका सदस्य फरार। घटना मिलाउन राजनीतिक दबाब र पैसाको प्रलोभन जारी छ। तर, मोहन लोभिने पक्षमा नरहेको सुनाउँछन्। 'मेरो बहिनीको जस्तो अरुको नहोस् भन्नको लागि म पछि हट्दिन्,' उनी दृढ सुनिए।