भक्तपुरवासी अहिले बिस्का जात्राको चटारोमा छन्।
फागू शुक्ल पूर्णिमाको साँझदेखि भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्लले लेखेका बिस्का गीतहरु जस्तै:
'थथिं जा:गु रसबस तोल-ताव, राम हं जि गन वने' (यस्तो रसबस छोडेर हे राम म कहाँ जाउ..) भक्तपुरका दाफाहरुमा गुञ्जिरहेका छन्।
चैत २७ गते टौमडीमा भैरवनाथ र भद्रकालीको रथ यात्रा शुरु भएपछि विधिवत रुपमा बिस्का शुरु हुन्छ।
वर्षको अन्तिम दिन बेलुकी ल्योसिङखलमा यःसिं (लिङ्गो) उठाइन्छ भने वैशाख १ गते ढालिन्छ।
ल्योसिङखलमा चित्तपोलस्थित य:सिं गुं भन्ने स्थानबाट ल्योसिङखलमा दुई नयाँ यःसिंहरु ल्याएर राखिएको छ। केही कारणले एउटा यःसिं ढलेमा, भाँचिएमा त्यसको व्यवस्थापन गर्न अर्को यःसिं ल्याउने परम्परा रहेको छ।
भक्तपुर बाहिरका मानिसहरुमा भक्तपुरको बिस्का भनेको यःसिं ठ्डयाउने र भैरवनाथ र भद्रकालीको रथ यात्रा मात्रै हो भन्ने बुझाइ रहेको छ।
तर यसबाहेक पनि भक्तपुरभरी बिस्काका अवधिमा अरु विभिन्न महत्वपूर्ण जात्राहरु हुन्छन्।
वर्षको अन्तिम दिन पोटरी स्कवायरस्थित बोलाछैमा बिहानै हालत नभएको यःसिं ठड्याउने गरिन्छ। यो यःसिं भने बिस्काको अन्तिम दिनमात्रै ढालिन्छ।
यस्तै ८ रात ९ दिनसम्म मनाइने ऐतिहासिक तथा प्रसिद्ध बिस्का अवधिभर भक्तपुरमा रहेका अष्टमात्रिका, गणेश र भैरवका मन्दिरहरु रहेको स्थानमा छुट्टा छुट्टै जात्राहरु हुन्छन्। ती सबै जात्राहरु एकआपसमा सम्बन्धित रहेको बताउँछन् ओम धौभडेल। दुमाजुको जात्रा नसकि यःसिं ठड्याउन मिल्दैन। एक जात्रा नसकिएसम्म अर्को जात्रा सुरु नहुने परम्परा रहेको भन्दै उनी बिस्काले भक्तपुरवासीलाई एकतामा बाँध्ने परम्परा रहेको बताए।
ती सबै जात्राहरुको छुट्टाछुटै गुठी रहेको छ। तर तीमध्ये धेरै गुठीहरु अहिले राम्ररी संचालन हुन सकिरहेका छैनन्। त्यसमा सबैभन्दा प्रमुख जिम्मेवार गुठी संस्थान रहेको भक्तपुरवासीहरुको भनाई छ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिका अनुसार संस्थानले गुठीयारहरुलाई २० वर्षअघि दिँदै आएको रकममा केही बढाएर गुठीयारहरुलाई रकम दिँदै आएका छन्।
भन्छन्, 'संस्कार बुझ्ने मान्छेलाई पठाए पो उनीहरुले यहाँको संस्कृतिलाई मनन् गर्न सक्छन्। जनभावनाको कदर गर्दै गुठी संचालन हुनुपर्नेमा यहाँ कर्मचारीशैलीमा काम भइरहेको छ। त्यसले गर्दा जात्रा संचालनमा धेरै समस्याहरु उत्पन्न भइरहेको छ।'
प्रजापति स्थानीय जात्रा बुझ्ने मानिसलाई गुठी संस्थानबाट नियुक्त गर्नुपर्ने तर्क गछन्। यता, गुठी संस्थान भक्तपुरका प्रमुख हरि सुवेदीले विगतका दिनहरुमा देखिएका कमीकमजोरीहरु आफूले सकेसम्म नदोहोर्याउने बताउँछन्।
बिस्का जात्रामै हुने ब्रह्रमायणी जात्रामा देखिएको समस्याबारे आयोजित छलफलमा उनले पहिलादेखि चलि आएको परम्परा संचालनमा सरकारले पुरानै स्तरमा रकम दिँदै आएको स्वीकार्दै उनले केन्द्रसँग कुरा गरेर गुठी संस्थानले व्यवस्थापकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
गत वर्षहरुमा रथ बनाउनेहरुले समयमै भुक्तानी नपाएको गुनासो थियो। यसपटक भने सकेसम्म त्यसो हुन नदिने सरोकारवालाहरुले गुठी संस्थानलाई आग्रह गरेको छ।
यता, भैरवनाथ र भद्रकालीको रथ यात्रा सुरु हुन अब केही दिन मात्रै बाँकी रहेको अवस्थामा हाल भैरवनाथको रथ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। अहिले रथमा फोल: (छानो) राख्ने र रंग लगाउने काम भइरहेको छ।
भद्रकालीको रथ पनि छिट्टै निर्माण सुरु हुने प्रक्रियामा छ। रथ तान्नु एक दिन अगाडि दुवै रथ निर्माण र रंगरोगनको सम्पूर्ण काम सकिने बताइएको छ।
यसैबीच, भक्तपुरको बिस्कालाई शान्तिपूर्ण र मर्यादित रुपमा भव्यताका साथ सम्पन्न गर्न भक्तपुर नगरपालिकाले विभिन्न तयारी गरिरहेको छ।
रथ यात्रा हुने मार्गमा रहेका निर्माण सामाग्रीहरु, बिजुली, केबल, इन्टरनेटका तारहरु हटाउन नगरपालिकाले सार्वजनिक सूचना नै जारी गर्ने भएको छ।
नगरपालिकामा सरोकारवालहरुको वैठकले चैत २७ गते र ०७६ वैशाख ५ गते भैरवनाथको रथ तानेर पूर्वमा बढीमा बुलबुल हिटी, सुकुलढोकासम्म र पश्चिममा बढीमा नासमनासम्म मात्र लाने सीमा निर्धारण गर्ने, ती दिनहरुमा भैरवनाथको रथ दिनको २ बजेबाट तान्न सुरु गरेर साँझ ६ बजेसम्ममा निर्धारित स्थानमा रथ बिसर्जन गर्दै शान्तिपूर्ण रुपमा भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको छ।
जात्राका क्रममा हुने अभद्र व्यवहार र उच्छृंखल गतिविधिहरु रोक्न भक्तपुर नगर क्षेत्रका भट्टी र मदिरा पसलहरुमाथि निगरानी एवम् नियन्त्रण गर्न प्रहरी प्रशासन परिचालन गरिने भएको छ।