PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

धनगढी विमानस्थलमा भीओर/डीएमई जडान गर्न आएको जाइकाको टोली उपकरण जडान नगरेरै फर्कियो



एम बम

धनगढी विमानस्थलमा भीओर/डीएमई जडान गर्न आएको जाइकाको टोली उपकरण जडान नगरेरै फर्कियो

कैलाली: त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलपछि देशकै लामो धावन मार्ग रहेको धनगढी विमानस्थलमा भीओर/डीएमई जडान कार्य रोकिएको छ। जापान अन्तरार्ष्ट्रिय सहयोग नियोग जाईकाले तीन वर्षअघि नै धनगढी विमानस्थलमा भीओर डिएमई र एप्रोच लाइट जडानका लागि सम्झौता गरेको थियो। 

तर जमिनमुनिबाट पानी निस्कन थालेपछि अहिले दिशा निर्देशक भीओर र दुरी सूचक यन्त्र डीएमईको जडान कार्य अनिश्चित बनेको छ। अब जाइकाले नयाँ स्टिमेट तयार पारेर फेरि काम थाल्ने विमानस्थल प्रमुख तेज बहादुर बुड्थापाले बताए।
 
‘रात्रिकालीन र कम भिजिबिलिटीमा पनि उडान भर्न सकिने गरी विमानस्थलमा उक्त उपकरण जडान गर्ने कार्य तीन महिना अघिबाट थालिएको थियो,’ बुड्थापाले भने तर जहाँ उपकरण राख्ने तयारी गरिएको थियो, सिभिलको काम भइरहेको समयमा जमिनमुनिबाट पानी निस्किएपछि जाइकाको टोली उपकरण जडान नगरेरै फर्किएको हो।


 
विमानस्थल स्तरोन्नतिको काम भने वैशाख पहिलो साताबाट

सामान्यतः धावनमार्ग कालोपत्रे भएको १० वर्षभित्र विमानस्थलको रन वे ओभरलेको काम अगाडि बढाउनुपर्ने हुन्छ। तर धनगढी विमानस्थलमा लामो समयदेखि त्यसो हुन सकेको छैन। अब वैशाख पहिलो साताबाट रन वे ओभरले अर्थात् धावनमार्गको स्तर वृद्धि र एप्रोन एक्टेन्सन अर्थात् पार्कीङ्गस्थल निर्माणको काम थालिने बुड्थापाले जानकारी दिए।
 
‘लुम्बिनी एन्ड कोसी–न्यौपाने–खड्का–कोइराला जेभीले १७ करोड ८८ लाख ठेक्का सम्झौता गरिसकेको छ,’ उनले भने ‘अब वैशाख पहिलो साताबाट रन वे ओभरले र एप्रोन एक्टेन्सनको काम सुरु हुने छ।'
 
धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाइ र १८ सय मिटर लम्बाई को धावनमार्ग छ। अब धावन मार्गलाई दुवैतर्फ २/२ मिटर फराकिलो बनाइने छ भने २ वटा मात्र ठुला जहाज पार्किङको क्षमता रहेकोमा अब त्यसलाई ४ वटा पुर्‍याइने छ।
 

चैत ८ गते चार्टर उडान गरेको समिट एयर त्यसपछि फर्केन

गत चैत ८ गते धनगढी विमानस्थलबाट प्रत्येक शुक्रबार उडान गर्ने भनेर चार्टर उडान गरेको समिट एयर दोस्रो पटक फर्केको छैन। ८ गते चार्टर उडान मात्रै गरे पनि त्यसपछि प्रत्येक साताको शुक्रबार उडान गर्ने भनेर प्रचार गरेको समिट एयरको विमान त्यसपछि नफर्केको बुड्थापाको भनाई छ। 

यद्यपि पहाडी जिल्लामा हवाई यात्रा सुरुका लागि सबैले पहल गर्नुपर्ने उनले बताएका छन्। ‘पहाडी जिल्ला अछामको साँफे विमानस्थल पिच भएपछि नेपालगन्जबाट उडानसमेत भइरहेको छ,’ उनले थपे ‘डोटी, बझाङ, बैतडी लगायतका पहाडी जिल्लाका विमानस्थल निर्माणाधीन, कालोपत्रेको तयारीमा छन्। ती जिल्लाहरूका विमानस्थलहरूको निर्माण कार्य सम्पन्न भएसँगै उडान भर्नका लागि जनस्तर, जनप्रतिनिधि र धनगढी विमानस्थलबाट गर्नुपर्ने पहल भइरहेको विमानस्थल प्रमुख बुड्थापाले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell