PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

भेरी बबई सुरुङ मार्ग छिचोलिन २ मिटर बाँकी: प्रधानमन्त्री ओली पुग्नसाथ बबईबाट पसेको टीबीएम भेरी किनारमा निस्कने



पी बी खड्का

भेरी बबई सुरुङ मार्ग छिचोलिन २ मिटर बाँकी: प्रधानमन्त्री ओली पुग्नसाथ बबईबाट पसेको टीबीएम भेरी किनारमा निस्कने

सुर्खेत: राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सनको सुरुङ मार्ग खन्ने काम सकिएको छ। नेपालमा पहिलो पटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टीबीएम) मार्फत तोकिएको समय अगावै सुरुङ मार्ग सकिएको हो। यद्यपि सुरुङ मार्ग निर्माण कार्य सकिएको घोषणा गर्न भने बाँकी नै छ।

आयोजनाको सम्झौताअनुसार २०७६ चैत १५ गते निर्माण कार्य सम्पन्न गर्नुपर्ने थियो। तर, तोकिएको समय सीमा भन्दा करिब एक वर्ष अगावै सुरुङ मार्ग सकिएको हो।

निर्माण कार्यको जिम्मा पाएको चीनको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक) ले २०७१ माघमा ठेक्का सम्झौता भई काम थालेको थियो। १२ हजार २१० मिटर लामो सुरुङ मार्गमध्ये २ मिटर सुरुङ मार्ग बाँकी रहेको छ। उक्त २ मिटर सुरुङ वैशाख ३ मा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा निर्माण कार्य सम्पन्न भएको घोषणा हुने आयोजनाका निर्देशक सञ्जिव बरालले जानकारी दिए।

उक्त सुरुङमार्गबाट भेरी नदीको पानी प्रतिसेकेन्ड ४० क्युबिक मिटर बबईमा खसालिने छ। उक्त पानीबाट करिव ४८ मेगावाट विद्युत उत्पादन गरिने योजना रहेको छ। त्यस्तै, आयोजनाबाटै बाँके र बर्दियाको करिव ५१ हेक्टर जमिन सिंचाई सुविधा पुर्‍याउने लक्ष्य लिईएको छ।

सुरुङ मार्गबाट पानी खसाल्नका लागि भेरीगँगाको चिप्लेमा एक सय १४ मिटर लामो, १४ मिटर अग्लो र ६ गेजसहितको ब्यारेज निर्माण गरिने आयोजनाले जनाएको छ।

आयोजना २०२० सम्म निर्माण कार्य सकाएर सञ्चालनमा ल्याउने योजना रहेको निर्देशक बरालको भनाई छ। आयोजना सकिनु अघिनै केही मात्रामा भेरीको पानी बबईमा झारिने छ।

आयोजनाको सुरुवातमा करिब साढे १६ अर्ब लाग्ने अनुमान गरे पनि आयोजना सम्पन्न हुँदासम्म करिव ३३ अर्ब बढीको लागत पुग्ने अनुमान छ। आयोजनाको सुरुङ मार्गका लागि मात्रै १० अर्ब ५५ करोड बजेट विनियोजन गरिएको थियो।

 

बबईबाट पसेको टीबीएम भेरी किनारमा

सुर्खेत भेरीगंगा नगरपालिकाको हात्तीखालबाट शुरु भएको सुरुङ निर्माण वैशाख ३ गते भेरीगंगाको चिप्लेस्थित भेरी नदीमा गई टुंगिने छ। पहिलो पटक प्रयोग गरिएको मानवरहित टीबीएम मेसिनले करिब १२ किलोमिटर सुरुङ पार गरी चिप्लेस्थित भेरी किनारमा निस्कने छ। टीबीएम मेसिनले २०७४ कार्तिक २० गतेबाट सुरुङ खन्ने काम थालेको थियो। टीबीएम मेसिनले दैनिक २०–२५ मिटरका दरले सुरुङ खन्ने काम गर्दै आएको थियो। सुरुङ मार्गका लागि आयोजनाको हाल सम्म सात अर्ब रुपैयाँ खर्च भइसकेको निर्देशक बरालको भनाई छ।

‘आयोजनाको सुरुङमार्ग निर्माण गर्ने भूगोल हेर्दा दुई वटा स्थान अति रिक्स थियो टीबीएमका लागि,’ उनले भने,‘सो क्षेत्रमा पनि मेसिन सहजै खन्न सफल भयो। जसले गर्दा पनि हामीले तोकिएको समय भन्दा अगावै सुरुङ मार्ग सक्न सफल भयौँ।’

 

वैशाख ३ मा प्रधानमन्त्रीबाट घोषणा

राष्ट्रिय गौरवको आयोजना भेरी–बबईको सुरुङ निर्माण कार्य आगामि वैशाख ३ गते सम्पन्न घोषणा गरिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आयोजनाको सुरुङ मार्ग सम्पन्न भएको घोषणा गर्ने कार्यक्रम तय भएको छ।

‘आयोजनाको सुरुङ मार्ग करिव सकिएको छ,’ आयोजना निर्देशक बरालले भने,‘आगामि वैशाख ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण कार्य सम्पन्न भएको घोषाणा गर्ने कार्यक्रम रहेकाले करिब २ मिटर जति खन्न बाँकी राखिएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell