PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मलाई अनमोल सँग दाँज्न मिल्दैन, टक्कर लिए पो हार्नु : सलिनमान



रीना मोक्तान

मलाई अनमोल सँग दाँज्न मिल्दैन, टक्कर लिए पो हार्नु : सलिनमान

कलाकार सलिनमान बनियाँले फिल्म 'ए मेरो हजुर २'बाट नेपाली रजतपटमा डेब्यू गरेका हुन्। उनको दोस्रो फिल्म 'यात्रा : अ म्यूजिकल भ्लग' प्रदर्शनको तयारीमा छ। संयोग के छ भने उनलाई फिल्ममा डेब्यू गराएकी झरना थापाको फिल्म, या भनौं उनको डेब्यू फिल्मको सिक्वेलसँग उनको नयाँ फिल्म जुध्दै छ। दुबै फिल्म रिलिजको संघारमा पहिलोपोस्टकी रीना मोक्तानले बानियाँसँग कुराकानी गरेकी छिन्: 

कस्तो चल्दैछ त 'यात्रा…'को प्रमोसन?
राम्रो भयो। प्रमोसनका लागि कलेज/ कलेज कार्यक्रमहरुमा गएँ। दर्शकको माया साथ छ। 

यो फिल्ममा कसरी आवद्ध हुनु भयो?
‘ए मेरो हजुर २’को सहायक निर्देशक सुरेश न्यौपाने यात्राको लेखक हो, मुख्य साहयक निर्देशक समेत रहेको उ मेरो मिल्ने साथी पनि हो। उसले मलाई स्क्रिप्ट ल्याएर दियो। तिम्रो क्यारेक्टर अनुसारको छ पढ भनेर। मैले पढें। सुरुमा चित्त बुझेको थिएन। पछि त्यसमा केही परिवर्तनहरु भए। स्क्रिप्ट मन पर्‍यो। त्यसपछि फिल्म गरें।

कस्तो भयो छायाँकन?
फिल्मको छायाँकन सोलुखुम्बूमा भएको थियो। त्यहाँ नेटवर्क थिएन, इन्टरनेट थिएन। मोबाइल नचल्दा गाह्रो भयो। काठमाडौंदेखि सोलु, सोलुदेखि हेटौंडा अनि पोखरामा पनि फिल्मको सुटिङ भयो। फिल्मको नाम नै यात्रा। छायाँकन त यात्रामय नै भयो।

फिल्ममा भ्लगर भूमिका छ। अब त भ्लग पनि बनाउन आयो होला नि?
भ्लग बनाउन त्यति गाह्रो छैन। तर मलाई त्यति भ्लगिङमा इन्स्ट्रेट चाहीँ छैन। छायाँकनमा हामी सेल्फी भिडियो खिच्थ्यौं। त्यसमा सेल्फी लियो अनि बोल्यो, दृश्यहरु देखायो। म चाहीँ यात्रा गर्दै दृश्य देखाउन सक्छु। 

फिल्ममा त बोल्ने प्रयास गर्नु पर्‍यो होला?
फिल्मका लागि त बोल्नु नै पर्‍यो। फिल्ममा हामी भ्लगिङ टिम नै हो। कलेजको प्रोजेक्टका लागि हामी युट्युब भिडियो बनाउने गर्छौं।  

फिल्मबाट कत्तिको आशा छ?
एकदमै आशा छ। यतिका मेहनत गरेका छौं। फरक विषय दिन खोजेका छौं। मैले पनि फिल्म इन्डस्ट्रीमा नयाँ विषयमा काम गर्ने मौका पाएँ। युवा दर्शकका लागि केही फरक दिन खोजेका छौं। 

'ए मेरो हजुर २' र यो फिल्म गर्दा के फरक थियो?
त्यो फिल्मको सुटिङमा मेरो एउटा डिमाण्ड हुन्थ्यो। मलाई भोक लागि राख्थ्यो। सुटिङमा समयमै खाना पाइदैन थियो। अरुले त एडजस्ट गर्थे मलाई साह्रै गाह्रो। यो फिल्ममा त्यस्तो भएन। (लामो हाँसोपछि भने) दुवै टिम आ-आफ्नो ठाउँमा निकै बलियो छ। म खुशी छु राम्रो टिमहरुसँग काम गर्न पाउँदा। 

दर्शकले साम्राज्ञीसँगको केमेस्ट्री रुचाए, यसमा त डेब्यू अभिनेत्री। कस्तो आइरहेको छ प्रतिक्रिया?
दर्शकले मेरो र मलिकाको केमेस्ट्रीलाई पनि रुचाइदिनुहुन्छ। किनकि फिल्ममा हामीले शहर र गाउँको कथा देखाएको छौं। उनी साधारण स्वभावकी छिन् फिल्ममा। फिल्ममा हाम्रो लभ छोटो छ तर राम्रो छ। साम्राज्ञीको त्यो दोस्रो फिल्म थियो। मलिकाले पनि आफ्नो भूमिकालाई न्याय दिएकी छिन्।

नयाँ कलाकारका लागि इन्डस्ट्री कति सहज देख्नु भएको छ?
इन्डस्ट्रीमा आफ्नो कोही नहुँदा गाह्रो अनुभव हुँदो रहेछ। बोल्न नजान्ने झन् ठूलो कमजोरी। कहाँ कता के गर्नुपर्छ थाह हुँदैन। यहाँ अभिनय मात्र नभइ धेरै कुरा हुँदो रहेछ। मलाई गाह्रो भयो। त्यसमाथि मेरो परिवार भिन्नै व्यवसायमा हुनुन्छ।

तपाई आफै पनि बिजिनेस गर्नुहुन्छ होइन र?
बुवाको बिजिनेस पनि सम्हाल्ने गर्थें। मैले आफ्नो पनि कपडाको व्यापार गरेको, केही समयका लागि। अर्को पनि व्यापार गर्छु तर यसबारे नखोलौं होला। फिल्म गरिसकेपछि दर्शकले मेरो लुगाबारे चासो राख्नु भयो। त्यसैले ब्याडमेनिया भन्ने क्लोदिङ ब्र्यान्ड खोलेको थिएँ। सामान ढिलो आउने र यता फिल्ममा समय दिनु परेको कारण मैले निरन्तरता दिन सकिनँ।

लत्ताकपडामा धेरै ध्यान दिनुहुन्छ है?
म विदेशबाट लुगा मगाउँछु। मलाई जाराको ब्राण्ड मनपर्छ। 'ए मेरो हजुर २' गरेपछि धेरैले मेरो लुगा मनपराएको र गेटअप फलो गरेको देखेको छु।

यो हिसाबले त स्टार नै अनुभव हुँदो हो?
स्टार त नभनौं। अब स्टाइल आइकन भनौं न। (हाँस्दै)

तपाईंलाई डेब्यू गराउने झरना थापाको फिल्म यात्रासँगै भिड्दै छ। दुई फिल्ममा कसले बाजी मार्ला?

एक किसिमको प्रेसर पनि छ। ‘ए मेरो हजुर’ पनि मेरो पुरानो टिम हो, जसले मलाई इन्डस्ट्रीमा ल्याउनु भयो। झरना म्यामलाई म इन्डस्ट्रीको आमा पनि भन्छु। उहाँसँग फिल्म जुध्दा एकदमै दु:ख लागेको छ। अब मेरो हातमा केही छैन। फिल्म नजुधेको भएँ हुन्थ्यो। दुवै फिल्मको लगानी ठूलो छ। दुवैलाई घाटा नहोस्। तर मलाई दुवै फिल्मले राम्रो गरोस् भन्ने छ। 

आफू अभिनित फिल्मले बाजी मार्दैन जस्तो लाग्छ?
मैले सोचे अनुसार नहुन सक्ला। दर्शकमा भर पर्ने कुरा हो। 


'ए मेरो हजुर २'पछि बीचमा ब्रेक लिएर आउनु भयो?
दर्शकको मायाले नै हो नयाँ फिल्म गर्न हौसिएको। पहिलो फिल्म सुपरहिट भयो। दर्शकमा भरोसा नघटाउन, वर्षमा एउटा खेले पनि बबालै खेलौं भन्ने भयो। त्यसैले गरें। फिल्ममा युवाले देशको लागि केही गर्नुपर्छ भन्ने संदेश पनि छ। 

झरनाको डेब्यू निर्देशनको फिल्म सफल नै भयो। यो फिल्ममा पनि डेब्यू निर्देशक। दोस्रोमा झन् रिस्क लिनुभएको हो?
 सबै बिजिनेसमा रिस्क हुन्छ। झरना म्यामको लामो अनुभव छ फिल्ममा। सम्राट शाक्यसँग पनि लामो समय काम गर्नु भएको अनुभव थियो। उहाँले राम्रो गर्नुहुन्छ भन्ने विश्वास थियो। 

एउटा कार्यक्रममा अनमोलसँग हार्नु ठुलो कुरा नै हो भन्नु भयो? 
मलाई अनमोलसँग दाँज्न नै मिल्दैन। म नयाँ हुँ, उहाँ भनेको सिनियर कलाकार हो। मानौं उहाँ ७ कक्षामा हुनुहुन्छ म २ कक्षामा छु। ७ र २ कक्षाको भिडन्त मिल्दैन। तर,  कति दर्शकले तिमी हार्छौ भन्ने कमेन्टहरु गरेको मैले देखें। अनमोलसँग टक्कर लियो भने पो हारिन्छ त। तर टक्कर म आफैसँगको हो। म हारे हार्छु। तर भाग्दिनँ। 

तपाईंको कपाल हेर्दा कोरियन कलाकारबाट प्रभावित लाग्छ? 
५० प्रतिशत हो। कति कोरियन कलाकारलाई सुहाउने हेयर स्टाइल मलाई नसुहाउन पनि सक्छ। त्यसैले केही प्रभावित पक्कै हुँ, ५० प्रतिशत चाहिं मेरो आफ्नै।

अब तपाईंको फिल्म क्षेत्रसँगको यात्राबारे चर्चा गरौं न? 
म स्नातक पढ्दै थिएँ। 'ए मेरो हजुर २'को लागि अफर आयो।  झरना म्यामले अडिसन लिनु भयो।  खासमा मैले गर्न सक्दिन भनेको थिएँ। झरना म्यामले प्रयास गर्न हौसला दिनुहुन्थ्यो। जहाँ जेबाट पनि सिक्ने नै हो, इन्डस्ट्रीबाट किन नसिक्ने भनेर फिल्म गरें। अहिले दोस्रो फिल्मको प्रतिक्रिया कुर्दैछु। 

'ए मेरो हजुर २' चल्दा पहिलो अनुभव कस्तो थियो?

त्यतिखेर फिल्म इन्डस्ट्रीकोबारे केही थाह थिएन। दर्शकको त्यो माया देख्दा खुशी लाग्थ्यो। जहाँ गए पनि सलिन भनेर दर्शक मुस्कुराउनु हुन्थ्यो। अब अर्को फिल्म कहिले आउँछ भनेर प्रश्न गर्नुहुँदा भित्र आफूलाई पनि फिल्म गरूँ भन्ने इच्छा जाग्थ्यो। 

तपाईं अब इन्डस्ट्रीमा जम्नु हुन्छ कि बिजिनेसतिर फर्कनुहुन्छ?
हेरौं दर्शकले कत्ति माया गर्नुहुन्छ। मेरो लक्ष्य त बिजिनेस नै हो। फिल्म गर्न पनि छोड्दिन। बच्चादेखि मलाई बिजिनेसम्यान हुने मन थियो। फिल्म त बीचमा आएको विषय हो। 

यात्रा चलेन भने तपाईंको फिल्म यात्रा अघि बढ्ला? 
त्यो त फिल्म चलेपछि नै थाहा हुन्छ। आशा गरौं मिहेनतको फल राम्रै हुन्छ। 


  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell