PahiloPost

Jun 5, 2020 | २३ जेठ २०७७

भोटेकोशीमा हाम्फालेर आफूसहित परिवारै सखाप पार्न खोज्ने विष्णु अहिले यसरी अरुको जीवनमा उज्यालो छर्दैछन्



सागर बुढाथोकी

भोटेकोशीमा हाम्फालेर आफूसहित परिवारै सखाप पार्न खोज्ने विष्णु अहिले यसरी अरुको जीवनमा उज्यालो छर्दैछन्

'गाडीमा परिवारका सबै लिएर जाने र आफूसहितको गाडी भोटेकोशीमा खसाल्ने।’

विष्णु गौतमले यो कठोर निर्णय गरिसकेका थिए। भोटेकोशीको जलसमाधिलाई उनले मुक्तिका रूपमा बुझेका थिए।

जुन दिन उनी परिवारसहित भोटेकोशी जाने तरखरमा थिए, त्यही दिनको एउटा घटनाले परिवर्तन भएको उनको मनका कारण आज उनी जीवित छन् र पुराना कुरा हामीलाई सुनाउँदै छन्।  

***

त्रिभुवन विमानस्थल नजिकैको सडकमा सेतो रङको कार अनियन्त्रित गतिमा आइरहेको थियो। विपरीत दिशाबाट आइरहेको उक्त कार घर जाँदै गरेको कुमारको बाइकतर्फ सोझियो। कुमारले हठात् साइड लगाए। बाइक बिजुलीको पोलमा बजारियो। घर पुग्न पाँच सय मिटरमात्र बाँकी थियो। 

तर, घर हिँडेका कुमारको यात्रा कहिल्यै घर नपुग्नेतर्फ मोडियो।

घटना १० वर्षअघिको हो। कुमार २८ वर्षमा हिँड्दै थिए। 

कुमारका बाबु विष्णु गौतम त्यही दुखद् घटना सम्झिरहेका छन्। अतीतको सम्झनाले भावुक भएका उनका आँखा रसाइरहेका छन्।

२०६६ साल असोज १७ गते। 

कोजाग्रत पूर्णिमाको दिन। कुमारको मृत्यु भएकाले घरमा दशैँ थिएन। विष्णु अमेरिका रहेका माइला छोरा बलरामलाई फोन गर्ने तरखरमा थिए। त्यही बेला उनको ल्यान्डलाइन फोन बज्यो।

'बलरामले सम्झियो'  भन्दै विष्णुले फोन उठाए। तर, फोनबाट बलरामको मृत्युको खबर पो आयो।

कुमार बितेको ९ महिना नपुग्दै बलराम पनि बित्यो। एकै वर्षभित्र २८ र २६ वर्षीय छोराले संसार छाडे। खबर सुन्दा नसुन्दै विष्णुको होस गुम्यो। 

धान्य पूर्णिमामा जन्मेको जुनजस्तो छोरो कोजाग्रत पूर्णिमामा अस्तायो।

‘मैलै सुने अनुसार बलराम कार चलाएर आउँदै रहेछ। बीच बाटोमा मृग आएछ। त्यसलाई छलाउन खोज्दा कार अनियन्त्रित भएर दुर्घटना भयो। मृग बाँच्यो।  छोरो मर्‍यो।’ यति बोल्दा विष्णुका आँखा टिलपिलाए। 

विष्णु भित्तामा राखिएको कुमार-बलरामको तस्बिरमा घोरिए। 

***

गौतम पर्यटन व्यवसायी थिए। छोरा कुमार 'सुवान छि टुर्स'का म्यानेजिङ डाइरेक्टर। अफिसको कामले चीन गएका कुमार नेपाल फर्कनासाथ घर पुगे र बाइक लिएर अफिस निस्के।

‘यसलाई सधैँको हतार हुन्छ’ भन्दै विष्णु काममै लागे।

कुमारको रुचि संगीतमा पनि थियो। गायक दीप श्रेष्ठसँग हिमचिम। अफिसमा गायक श्रेष्ठ पुगेका रहेछन्। श्रेष्ठलाई घर छाडेर फर्कँदा त्यस्तो भएछ।

अर्का छोरा बलराम अमेरिकामा गएको पाँचौँ वर्ष भएको थियो। सन् २००८ मा गणितमा अमेरिकी विश्वविद्यालय टप गरेपछि नामी बनेका थिए।

पढाइ सक्दा नसक्दै वुडवार्ड हस्पिटलमा आइटी सिस्टम म्यानेजरको जागिर पाएका थिए। अमेरिका गएको चौंथो वर्षमा एकपटक मात्र नेपाल आएका थिए। ‘अब कमाइ राम्रो हुन्छ। तपाईँहरूले धेरै दुःख गर्न पर्दैन’ भन्दै उनी अमेरिका फर्किएका थिए।

परिवारमा एकपछि अर्को बज्रपात निम्तिएको थियो। आमा लक्ष्मी छोराहरूको निधनपछि बेहोस हुने र कराउने गर्थिन्। चेत खुलेको बेला आँसु बगाइरहन्थिन्। 

विष्णुका ८४ वर्षका बुबा र ७८ वर्षीया आमा नातिहरूको निधनपछि  ‘हामी बुढाबुढीलाई नलगेर किन नातिलाई लगेको?’ भन्दै दैवसँग प्रश्न गर्थे।

दुई छोराको निधन, श्रीमतीको अवस्था नाजुक बन्दै गएपछि विष्णुले सपरिवार संसार छाड्ने योजना बुन्न थाले। योजना केही दिनमा तयार भयो, ‘गाडीमा सबै लिएर जाने र आफूसहितको गाडी भोटेकोशीमा खसाल्ने।’

उनी परिवारसहित भोटेकोशी जाने तरखरमा थिए। त्यही दिन नै गोरखामा ठूलो दुर्घटना भयो। दुर्घटनाको समाचारले विष्णुको ध्यान तान्ने नै भयो। टिभीमा एक जना व्यक्ति बस दुर्घटनामा परेकाहरूको उद्धारमा लागिरहेको देखे।

रिपोर्टरको प्रश्नमा ती व्यक्ति भन्दै थिए, ‘जसलाई पनि यस्तो दुर्घटना पर्न सक्छ। अरूलाई पर्दा आफूले गर्ने हो, आफूलाई पर्दा अरूले गर्छन्। सेवा नै धर्म हो।’

पर्यटन व्यवसायका कारण उनी देश -विदेश पुगेका थिए। धन दौलत कमाएकै थिए। विश्वविद्यालयमा शिक्षा आर्जन गरेकै थिए। तर, वियोगमा नपरुन्जेल सफलताबाहेक अरू केही देखेनन्। वियोगमा परेपछि अन्धकारबाहेक केही भेटेनन्। उनले आफैंलाई समीक्षा गर्न थाले।

***
‘आफूसहित परिवारलाई मार्नु छोराहरूको आत्मालाई तड्पाउनु हो,’ मनकम्प हुन थाल्यो। ‘सेवा नै धर्म हो', दुर्घटनामा परेकाहरूको उद्धार र उपचारमा सक्रिय ती अपरिचितको बोली कानमा गुञ्जिरह्यो।

यो कुरा लक्ष्मीसँग भने। ‘हामी पनि त्यसै गरौँ न। छोराहरूको आत्मालाई शान्ति मिल्ला’ सही थापिन् लक्ष्मीले पनि।

भोटेकोशीमा हाम फाल्ने योजना तुहियो। गोरखा दुर्घटनाले जीवनको लक्ष्य फेरिदियो। पर्यटन व्यवसाय छाडेर समाजसेवी बन्ने निर्णय गरे।

***

पहिले-पहिले धारो बनाउने, पुस्तकालय बनाउने लगायतका केही काममा सीमित भए। बिस्तारै सेवाको दायरा बढाउँदै लगे। समाजसेवाको क्षेत्र बढ्दै जाँदा उनीसहित परिवारको व्यस्तता पनि बढ्दै गयो। पीडा भुल्ने गतिलो माध्यम बन्यो। असहायको सहारा बन्दा सन्तुष्टि पनि प्राप्त हुँदै गयो।

सोही क्रममा धेरै बेरोजगार युवाहरूलाई काम गरेर जीवन चलाउन सक्ने सीप सिकाए। दुर्गम गाउँमा स्कुल र पुस्तकालय निर्माणसमेत गरे। यस्तै काम गर्दा सन्तुष्टि मिल्थ्यो। गर्दै गए। समाजसेवा नशा बन्यो।

मागेर समाजसेवा गर्ने पक्षमा थिएनन्। सहयोग जुटाउने काइदा पनि थाहा थिएन। समाजसेवामा लाग्दा-लाग्दै बैंक ब्यालेन्स सकाए। पछि जग्गा पनि बेचेँ। कमाउँदा जति मज्जा आउँछ, कमाएको पैसाले सेवा गर्दा सो भन्दा धेरै मज्जा आउने अद्भुत अनुभव गरे। व्यापार -व्यवसाय चौपट भयो। 

'कमाएको खर्च गर्दा मलाई लोभ/पश्चात्ताप हैन सन्तुष्टि मिलेको छ,'  विष्णुले सुनाए।

***

यसरी ससानो समाजसेवा व्यस्त भएकै बेला पत्रिकामा एउटा दर्दनाक समाचार देखे। शीर्षक थियो, 'विषालु च्याउ खाएर एकै परिवारका ८ जनाको मृत्यु, बुढी हजुरआमा र नाति बाँच्न सफल।' 

समाचारले मुटु छियाछिया पार्‍यो। घटनाका बारेमा सोधीखोजी गरे। चितवन जिल्लाको भण्डाराबाट ८ घण्टा हिँडेर जानु पर्ने ‘कान्दा‘ गाउँको घटना रहेछ।

चेपाङ बहुल कान्दामा चेपाङहरूको खान्की भनेको कन्दमूल रहेछ। सुत्केरी र केटाकेटीसमेत कन्दमूलकै भर पर्दा रहेछन्। कन्दमूल कहिलेकाहीँ विषालु पर्दो रहेछ। र, त्यसैले ज्यान लिँदोरहेछ। यो सुनेपछि टिम लिएर उनी कान्दा हानिए। भण्डारबाट टिम उकालो लाग्यो। बाटोमा उनले लगभग ३० वर्षकी महिलालाई आरुको रुखमा देखे। ती महिला कलिलो आरु कपाकप खाइरहेकी थिइन्।

‘ए नानी यस्तो कलिलो आरु खानु हुँदैन, पेट दुख्छ’ उनी सुन्नेवाली थिइनन्। ठूलो स्वरमा फेरि भनेँ ‘ए नानी किन नसुनेको, पाकेपछि खाउन किन नटेरेको।’

त्यतिभन्दा पनि उनले नसुनेको झैँ गरिन्। विष्णुको मनमा चिसो पस्यो। कतै खाने कुरा नभएर यसो गरेको त होइन? उनले फेरि भने, ‘मसँग खानेकुरा छ, आउ खान दिन्छु।’ यति भन्न नपाउँदै उनी आरुको बोटबाट हाम्फालेर आइन्।

बुझ्दै जाँदा ती महिला सुत्केरी रहिछिन्।

खासमा उनी त्यहाँ बाँचेका हजुरआमा र नातिको उद्धार गर्न गएका थिए। तर, गाउँ नै पूरा उद्धार गर्नुपर्ने अवस्थामा रहेछ। सबैका समस्या उस्तै र साझा थिए। त्यहाँ देखिएका अनेक दृश्यले उनको मन मस्तिष्क तरंगित बनायो।

उनी शून्य दिमाग लिएर काठमाडौँ फर्किए। धेरै दिनसम्म मस्तिष्कमा कान्दाका दृश्यहरू आइरहे।

अनेक उपाय लगाएर लगाउन मिल्ने धोएको १०३ बोरा पुराना कपडा जम्मा पारे। ९५ बोरा चामल र प्रत्येक परिवारलाई २ वटा नयाँ ब्लाङ्केट बन्दोबस्त गरे। ८६ जना बच्चालाई एकसरो नयाँ ड्रेस ,जुत्ता र झोला जुटाए। अनि फेरि कान्दा गाउँतर्फ लागे। जहाँसम्म गाडी पुग्थ्यो, त्यहीसम्म लिएर गए।

आठ घण्टा हिँड्नुपर्ने बाटोमा कान्दालीहरु आफैँ आएर सामान ओसारे। सामान वितरण गरेर फर्केपछि उनलाई झन् चैन भएन। एक दुई हप्ताको गुजाराले पुग्दैन भन्ने कुरा मनमा खेलिरह्यो। कुपोषणले करङ हड्डी प्रस्ट देखिने घाउ पाकेर झिँगा भन्किरहेका केटाकेटी आँखामा नाचिरहे।

कन्दमूलका लागि भीरपाखा धाउने सुत्केरीको अवस्था सम्झँदा विरक्त लाग्यो।

सधैँ काठमाडौँबाट सामान लगेर बाँड्न सकिन्नथ्यो। पर्यटन व्यवसायबाट जोडेको सम्पत्ति र जग्गा बेचेको पैसा सक्किसकेको थियो। सहयोग जुटाउन पनि मुस्किल। तर, त्यहाँका मानिसलाई सहयोग नगरी उनलाई चैन भएन।

उनले आइडिया निकाले - आत्मनिर्भर बनाउने।

उनले कान्दामा तत्कालीन र दीर्घकालीन अन्नबाली तथा फलफूलको कार्यक्रम सुरु गरे। आलु तथा सिमी चाँडै फल्ने भएकाले तत्कालका लागि त्यसैमा जोड गरे। दीर्घकालीन हिसाबले फलफूलमा जोड दिए। सुरुमा ३२ वटा घर र बालबालिकाको लागि होस्टेल बनाइदिए।

छोटो समयमा नै ‘कान्दा’ गाउँले काँचुली फेर्‍यो। बेवास्तामा जीवन बिताइरहेका कान्दालीहरुमा केही गर्नुपर्छ भन्ने सपना जागृत भयो। देश विदेशमा रहेका नेपालीहरूको सहयोगले उनको अभियान सफल भयो। कान्दाको कहर धेरै हदसम्म कम भयो। अहिले फलफूल, अन्नबाली तरकारी कान्दामै फल्छ। 

काभ्रेमा व्यावसायिक तरकारी फलफूल लगाएका छन्। त्यहाँबाट आएको आम्दानी र दाताले दिएको सहयोगले होस्टेल चलेको छ। होस्टेलमा १६३ जना बच्चाहरु बस्छन्। 

ती बच्चाहरुको खर्च तरकारी खेतीबाट आएको आम्दानीले मात्र पुग्दैन। विभिन्न सेलिब्रेटीको फाउन्डेसन भएकाले उनीजस्ता समाजसेवीलाई सहयोग जुट्न मुस्किल छ। जसो तसो उनको काम बुझ्नेहरुले सहयोग गरिरहेका छन्।

उनले चेपाङहरुलाई आत्मनिर्भर बन्न सिकाइरहेका छन्। मागेर जिन्दगी चल्दैन भन्दै आफैं कमाउने सपना देखाएका छन्। उनको सपना ‘ओडारदेखि रिर्सोटसम्म' छ। चेपाङ बस्तीमा पर्यटक लैजाने, गिठ्ठा भ्याकुर बेचेर चेपाङ बस्तीकालाई डलर आर्जन गर्ने सक्ने बनाउने लक्ष्य छ। कान्दामा होमस्टेको अवधारणा सुरु गर्दैछन्।

***
बच्चाहरु पाल्न गाह्रो भएकाले चिन्तित छन्, उनी। लिएको जिम्मेवारी पूरा गर्न नसक्ने हो कि भनेर डर लाग्छ। कहिलेकाहीँ सन्न्यासी बनेर हिँडौं कि भन्ने झोक चल्छ। तर, बच्चाहरूको मायाले अप्रिय निर्यण गर्न सक्दैनन्। 'अब केही वर्ष हो त्यसपछि उनीहरू आफैं गर्न सक्ने हुँदैछन्। त्यसपछि सजिलो हुन्छ,' उनी विश्वस्त सुनिन्छन्।

वियोगबाट सुरु भएको उनको कथा सन्तुष्टिमा पुगेर सकियो। आँसु ओभाइसकेको थियो। मुहारमा मुस्कान छाउँदै गरेको प्रस्ट देखिन्थ्यो। हिँड्दै गर्दा भने, 'सन्न्यासी नै बन्नु परे पनि बच्चाहरू ठूलो भएर आफैं गर्न सक्ने भएपछि मात्रै बन्छु होला। अहिले नै उनीहरूलाई बिचल्ली पार्दिनँ।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell