
काठमाडौँ : सन् २०२० मा जापानमा हुने टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलको दोस्रो चरणको एसियाली छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ।
म्यानमारमा भइरहेको समूह ए को छनोट अन्तर्गत नेपाल शनिबार भारतसँग ३-१ ले पराजित भएको हो। यसअघि घरेलु टोली म्यानमारसँग पनि नेपाल ३-१ ले नै पराजित भएको थयो।
लगातार दुई हारपछि अर्को चरण पुग्ने नेपालको सम्भावना लगभग सकिएको छ।
ओलम्पिक छनोटको पहिलो सहभागितामै नेपालले पहिलो चरण पार गरेको थियो। तर दोस्रो चरणमा भने नेपालको प्रदर्शन राम्रो हुन सकेन।
शनिबार भएको खेलमा भारतसंग ३-१ ले पराजित हुँदै नेपालले लगातार दोस्रो हार बेहोरेको हो ।
मन्डालेमा भएको खेलको छैटौँ मिनेटमै नेपालकी पसनम जर्घा मगरले आत्मघाती गोल गरेपछि भारतले अग्रता लिएंको थियो। तर त्यसको अर्को मिनेटमै नेपालको लागि कप्तान निरु थापाले बराबरी गोल फर्काइन्।
पहिलो हाफमा नेपालले भारतलाई बराबरीमा रोक्न सफल भएपनि भारतले दोस्रो हाफमा दुई गोल थप्दै जित हात पारेको हो। भारतका लागि दोस्रो हाफमा सन्धिया र असलतादेवीले गोल गरिन्।