
काठमाडौँ : महिला फुटबलमा नेपाल र भारत चिरपरिचित प्रतिद्वन्दीको रुपमा रहेका छन्। ९ वर्षको अवधीमा नेपाल र भारतले अहिलेसम्म १२ पटक प्रतिस्पर्धा गर्दा भारतले ९ पटक नेपाललाई हराएको छ भने नेपालले एक पटक मात्र जित हात पार्न सकेको छ।
अहिले म्यानमारमा भइरहेको २०२० ओलम्पिक महिला फुटबलको दोस्रो चरणको एसियाली छनोटमा शनिवार नेपाल भारतसँग ३-१ ले पराजित भयो। यस हारले नेपालको अर्धको चरण पुग्न सम्भावना सकिएको छ। लगातार दुई खेल जितेर समूह ए मा ६ अंक जोडेको भारत भने तेस्रो चरण पुग्ने योजनामा छ।
पहिलो खेलमा इन्डोनेसियालाई पराजित गरेको भारतले अन्तिम खेलमा घरेलु टोली म्यानमारसँग खेल्नेछ।
यही चैतको पहिलो साता विराटनगरमा सम्पन्न पाँचौ साफ महिला च्याम्पियनसिपको फाइनलमा पनि नेपाल भारतसँग ३-१ ले पराजित भएको थियो।
दक्षिण एसियाली स्तरमा हुने दुई ठूला महिला फुटबल प्रतियोगितामा नेपालले भारतलाई हराउन सकेको छैन। साफ च्याम्पियनसिप र साग मा नेपालको लागि जहिल्यै बाधक बन्दै आएको छ। नेपालले अहिलेसम्म एक पटक मात्र भारतलाई हराएको छ। भारतमै दुई महिना अघि भएको हिरो वुमन्स गोल्डकपमा नेपालले भारतलाई हराएको थियो।
भारतविरुद्ध नेपाल
कूल खेल : १२
भारत जित : ९
नेपाल जित : १
बराबरी : २
दक्षिण एसियाली खेलकुद २०१०
समूह चरण ५-० ले पराजित
फाइनल ३-१ ले पराजित
साफ च्याम्पियनसिप २०१०
फाइनल १-० ले पराजित
साफ च्याम्पियनसिप २०१२
फाइनल ३-१ ले पराजित
साफ च्याम्पियनसिप २०१४
फाइनल ६-० ले पराजित
दक्षिण एसियाली खेलकुद २०१६
समूह चरण ०-० को बराबरी
फाइनल ४-० ले पराजित
साफ च्याम्पियनसिप २०१६
सेमिफाइनल ३-१ ले पराजित
२०२० टोकियो ओलम्पिक क्वालिफायर एसिया रिजन २०१८
समूह चरण नेपाल १-१ भारत
हिरो गोल्डकप २०१९
नेपाल २-१ भारत
साफ च्याम्पियनसिप २०१९
नेपाल १-३ भारत
२०२० टोकियो ओलम्पिक क्वालिफायर एसिया रिजन २०१९
दोस्रो चरण, नेपाल १-३ भारत