PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

राजपाको महाधिवेशन पुनः स्थगित, नयाँ मिति तयका लागि अध्यक्ष मण्डल र पदाधिकारी बैठक बस्दै



बीपी साह

राजपाको महाधिवेशन पुनः स्थगित, नयाँ मिति तयका लागि अध्यक्ष मण्डल र पदाधिकारी बैठक बस्दै
फाइल फोटो

काठमाडौं: राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको महाधिवेशन दोस्रो पटक स्थगित भएको छ।

२०७४ वैशाख ७ मा स्थापना भएको राजपाले एक वर्षभित्र महाधिवशेन गर्ने तय गरेको थियो। तर, निर्वाचनका कारण महाधिवेशन स्थगित भएको थियो।

त्यसपछि २०७६ वैशाख ७,८ र ९ गतेका लागि तय भएको महाधिवेशन पुनः स्थगित भएको छ। अर्थात् स्थापना भएको दोस्रो वर्ष पुरा हुँदासमेत राजपाको महाधिवेशन नुहने निश्चित भएको छ।

राजपाको अध्यक्ष मण्डलको बैठकले स्थान तय नगरेपछि बीरगंजमै महाधिवेशन गर्ने तयारी गरेको थियो। तर, महाधिवेशन नजिकिएपछि पछिल्लो समय राजपा अध्यक्ष मण्डल चक्रीय प्रणालीमा गएको थियो।

अध्यक्ष मण्डल चक्रीय प्रणालीमा गएपछि राजपा अध्यक्ष मण्डलका सदस्यहरुबीच विवाद जारी रह्यो। जसकारण पार्टीको एकता महाधिवेशनमा ढिलाई भएको हो।

तर, राजपा अध्यक्ष मण्डलका संयोजक शरत्सिंह भण्डारीले पहिलोपोस्टसँग भने,‘अन्य दलको जस्तो हाम्रो समान्य महाधिवेशन होइन, हाम्रो एकता महाधिवेशन हो। यसमा पार्टीको मूल विधानसहित अन्य संगठनहरुको विधान तथा योजना मिलाउनु पर्ने हुन्छ। त्यसकारण महाधिवेशनमा ढिलाई भएको हो।’

भण्डारीले तोकिएको समयमा हुन नसके पनि केही दिनभित्रै महाधिवेशन हुनेमा निश्चिन्त रहन आग्रह गरे।

राजपाका महासचिव केशव झाका अनुसार जनमुक्ति पार्टीसँग हालै एकीकरण भएकोले महाधिवेशनमा ढिलाई भएको बताए। उनले चैत १५ गतेसम्मको समय जनमुक्ति पार्टीको कार्यकर्ता नेता व्यवस्थापनमा लागेको बताउँदै महाधिवेशनको अर्को मिति तय गर्न सोमबार एक बजे अध्यक्ष मण्डलको बैठक बोलाइएको जनाए।

तर, अध्यक्ष मण्डलका अधिकांश नेताहरु आइतबारसम्म काठमाडौंमा छैनन्।

‘अध्यक्ष ज्यूहरु सोमबारसम्म फर्केको खण्डमा बैठक हुन सक्छ।’ झाले भने,‘नभए मंगलबार बैठक बोलाएर महाधिवेशन सम्बन्धमा निर्णय लिइनेछ।’

यसैबीच राजपाका पदाधिकारी समितिको बैठक बोलाउनेसमेत तयारी भएको छ। अध्यक्ष मण्डलको बैठकलगतै पदाधिकारी समितिको बैठक बोलाएर महाधिवेशनको निर्णय हुने झाले बताए।

यसअघि विधानमा तोकिएको समयमा महाधिवेशन नहुँदा निर्वाचन आयोगले राजपालाई सचेत गराएको थियो। त्यसपछि राजपाले विधान संशोधन गराएर समय परिवर्तन गरेको थियो।

संशोधित विधान बमोजिम २०७६ असार मसान्तसम्म महाधिवेशन गर्न सक्ने समय रहेको झाले बताए। असार मसान्तसम्मै गर्ने गरी नयाँ मिति आउने झाले जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell