
काठमाडौं : फिटनेस फस्ट क्लबको आयोजनामा हुने पाँचौ मिस्टर फिटनेस फस्ट तथा मेन्स बडिबिल्डिङ एण्ड स्पोर्ट्स फिजीक च्याम्पियनसिप चैत ३० गते हुने भएको छ।
आयोजकले आइतवार पत्रकार सम्मेलन गर्दै एक दिने प्रतियोगिता आगामी शनिवार सतुंगल पार्टी प्यालेसमा हुने जानकारी दिएको हो।
च्याम्पियनसिपमा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७० केजी माथिको तौल समूह गरी विभिन्न पाँच तौल समूहमा प्रतिस्पर्धा हुनेछ।
प्रत्येक समूहका विजेताले पदकसहित १० हजार, उपविजेताले ५ हजार र तेस्रोले ३ हजार नगद प्राप्त गर्ने छन्।
त्यसपछि प्रत्येक समूहको विजेताबीच ओभरअलमा प्रतिस्पर्धा गराइनेछ। त्यसमा विजेता हुने ओभरअल च्याम्पियन बन्नेछ।
च्याम्पियनले उपाधि र ब्यानेटसँगै नगद ५० हजार हात पार्नेछन्। यस्तै वेष्ट पोजर उपाधिसहित ५ हजार पाउने छन्।
मेन्स फिजीकमा १६५ सेमी मुनि र १६५ सेमी माथिको स्पर्धामा प्रतिस्पर्धा हुनेछ। दुवै उचाई समूहका विजेताले १५ हजार, उपविजेताले ५ हजार र तेस्रोले ३ हजार पुरस्कार पाउने छन्।
यस्तै च्याम्पियनसिपको अवसरमा थाइल्याण्डमामा भएको वर्ल्ड बडिबिल्डिङ च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण जितेका महेश्वर महर्जनलाई सम्मान गरिने आयोजकमले जनाएको छ।
फिटनेस फस्टका सञ्चालक बुद्धविर कार्कीले महर्जनलाई १५ हजार नगदबाट सम्मान गर्ने जानकारी दिए।